
तीनपिप्ले(लमजुङ)– यस वर्षको राइनासको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता– २०७९ को उपाधि वीरभक्ति माविले माघ २३ गते जीत हासिल गरेको छ । यो वर्ष शिशु विद्याश्रम माविले ह्याट्रिक गर्ने पालो थियो तर त्यो स्थान हासिल गर्न सकेन ।
राइनास नगरपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वीर भक्ति मावि तार्कुघाटले ११ स्वर्ण, ९ रजत र एक कास्य पदक प्राप्त गरी प्रथम स्थान हासिल गर्दै रनिङ शिल्ड प्राप्त गर्न सफल भएको हो ।
शिशु विद्याश्रम माविले ११ स्वर्ण ५ रजत र ६ कास्य पदक सहित दोस्रो स्थान हासिल गर्न सफल भएको छ । उसले एक स्वर्ण वा पाँच रजत पदक थप गर्न सकेको भए पहिलो स्थान हासिल गर्न सक्दथ्यो ।
सो प्रतियोगितामा चार स्वर्ण सहित १९ पटकका साथ सौभाग्योदय मावि तेस्रो भएको छ । त्यस्तै, शैलपुत्री मावि तीन स्वर्णसहित कुल १७ पदक प्राप्त गर्दै चौथो स्थान हासिल गर्न सफल भएको छ ।
कुल ३८ विधाका खेल खेलाइएकोमा बुद्धमिलन मावि तीन स्वर्ण सहित छ पदक, शारदा माविले दुई स्वर्ण सहित सात पदक प्राप्त गरेको छ । त्यस्तै, भैरव मावि र ज्ञानोदय माविले एक एक स्वर्ण पदक पाएको छन् भने रजत पदक क्रमशः २ र १ का साथ कुल पटक संख्या ८ र ४ जितेका छन् ।
कुल ११ माविले भाग लिएको उक्त प्रतियोगितामा यौटै पनि स्वर्ण पदक जित्न नसक्ने तीन मावि रहेको छन् । तीन हुन् रुद्र मावि, महेन्द्रबाल मावि र जनता मावि । ती माविमध्ये रुद्र माविले तीन रजत पदक सहित छ पदक तथा अन्य दुई माविले क्रमशः दुई र एक कास्य पदक हत्याएको राइनास नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
विजेता खेलाडी तथा विद्यार्थीलाई सोही नगरपालिकाका उपमेयर पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, सामाजिक विकास शाखाका संयोजक एवम् वडानं ४ का अध्यक्ष बलराम पराजुली, शिक्षा शाखाका प्रमुख पूर्ण नेपाल, स्रोत व्यक्ति अमरनाथ न्यौपाने सहितले शिल्ड, मेडलसहितको पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रकाशित मिति २०७९ माघ २४, मंगलवार ०९:५५ गते