पत्रकारहरूबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रजिअ पुरीको प्रतिवद्धता

पत्रकारहरूबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रजिअ पुरीको प्रतिवद्धता

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २५ गते बुधबार ०७:३९

पत्रकारहरूका सुझाव सुनिसकेपछि प्रजिअ पुरीले प्राप्त सुझावलाई कार्यान्वयनका लागि पहल गर्ने बताउँदै यी सुझाव कार्यान्वयन गर्न सकेमा लमजुङमा रामराज्य नै स्थापना हुने स्थिति रहेछ, म पहल गर्छु, केही गर्नका लागि नै भनेर आएको छु उहाँले बताउनु भयो ।

प्रजिअबाट सुझाव माग भएपछि पत्रकारहरूले खुलेर सुझाव दिएका थिए ।

बेसीशहर– लमजुङका लागि प्रमुख जिल्ला अधिकारीको पदमा सरुवा भई आउनु भएका वसन्तराज पुरीले पत्रकारहरूले दिएका सुझावहरू कार्यान्वयन गरी सेवालाई सहज बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले जिल्लामा आएको साता दिन पछि जिल्लामा कार्यरत पत्रकारहरूका बीच आफ्नै कार्यकक्षमा परिचयात्मक कार्यक्रम गरी माघ २४ गते उहाँले त्यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
संघीय सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको प्रत्यक्ष प्रतिनिधिको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुखको रुपमा यस जिल्लामा आउनु भएका प्रजिअ पुरीले आफ्नो परिचय दिदै यो छोटो अवधिमा पनि आफूले जिल्लाका सात स्थानीय तहमा पुगेर वस्तुस्थितिको अध्ययन गरेको र सुशासन प्रवद्र्धनमा विशेष जोड दिने जानकारी दिनुभएको थियो । जनजीवनका चासो, चिन्ता एवम् अप्ठेरोसँग प्रत्यक्षसम्बन्ध राख्ने राज्यको चौथो अंगसँग आफू समन्वय र सहकार्य गर्न सदैव तयार रहेको बताउनु भयो । उहाँले तपाईले जाने, सुने र भोगेका सुधार गर्नु पर्ने विषयवस्तुका बारेमा सुझाव पत्रकारहरूसँग माग गर्नु भएपछि पत्रकारहरूले खुलेर उहाँलाई सुझाव दिएका थिए ।
पत्रकारहरूले दिएका सुझावमा लमजुङको बजार ७७ जिल्लामै महंगो रहेको हुँदा त्यसको नियन्त्रण गर्न अनुगमनलाई विशेष प्राथमिकता र प्रभावकारी बनाउनु पर्ने, बजार अनुगमनमा स्थानीय तह भोटको लोभमा फस्ने गरेको हुँदा उनीहरूको भर पर्न नहुने, उदीपुरको जंगल क्षेत्रको सडकमा गएको पहिरोको नियन्त्रण, निर्माण र तत्काल विकल्पका लागि पहल गर्नु पर्ने, पेट्रोलियम पदार्थको सर्वसुलभताका लागि पम्पका सञ्चालकहरूलाई सचेत गरी र खुद्रा विक्रीलाई सरल दरको प्रवन्ध गर्नु पर्ने, पेट्रोल पम्पका लागि आएको तेल पम्पबाट भन्दा खुद्रा विक्री गर्न, गराउन उद्दत रहने गरेको हुँदा त्यसको नियन्त्रणका लागि सञ्चालकहरूलाई सचेत गर्दै कारबाहीको दायरामा ल्याउनु पर्ने आदि थिए ।
यसैगरी, बजार मूल्यजस्तै सवारी साधनको भाडामा पनि उत्तिकै मनपरी चल्ने गरेको, हरेक बसमा भाडादर टाँस गर्ने भनिए पनि सो कार्य गर्ने नगरेको, सिउँडीबार– बेसीशहरको बसभाडा ८० रुपैयाँ भए तापनि एक सय यात्रुबाट असुल्दै आएको स्थिति, गाउँगाउँमा सेवा दिने नाउँमा चलाइएको खासगरी जिपहरू विहान लस्कर लगाएर सदरमुकाम आउने र दिन ढल्कन थालेपछि फेरि लस्कर गाउँ फर्कने गरेको, बिहान सदरमुकामबाट गाउँ जानु पर्यो भने सेवा नपाउने स्थिति रहेको, जिल्लाको विज्ञापन कमिसनकै लागि काठमाडौंको बजारमा समेत नदेखिने श्यामश्वेत पत्रिकामा मिलेमतोमा छाप्दै चलखेल गर्ने गरेकोतर्फ पनि पत्रकारहरूले प्रजिअ पुरीको विशेष ध्यानाकर्षण गरेका थिए ।
यसैगरी, कुनै पनि सरकारी तथा गैरसरकारी निकायले विज्ञापन दिदा सम्बन्धित सञ्चारमाध्यमको करचुक्ताको प्रमाणपत्र अनिवार्य माग्नु पर्ने र त्यसका लागि नेपाल सरकारले निर्दिष्ट गरेको नीति, निर्णय लागू हुनुपर्ने, जिल्ला प्रशासन सहितका कार्यालयमा हुने गरेको ढिलासुस्ती, सहकारीका सञ्चालकहरूको शेयर सदस्यलाई गर्ने गरेको शोषण तथा मनपरीतन्त्रलाई नियन्त्रण गर्नु पर्ने लगायतका सुझाव पत्रकारहरूले राखेका थिए ।
त्यस्तो सुझाव दिने पत्रकारहरूमा पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, शाखाका संस्थापक अध्यक्ष नवराज पहाडी, निवर्तमान केन्द्रीय सदस्य नवीन कुइँकेल, महासंघका प्रदेश सदस्य रामजी राना, पूर्वकेन्द्रीय सदस्य किसान संगीत, वासुदेव थापा आदि हुनुहुन्थ्यो ।
पत्रकारहरूका सुझाव सुनिसकेपछि प्रजिअ पुरीले प्राप्त सुझावलाई कार्यान्वयनका लागि पहल गर्ने बताउँदै यी सुझाव कार्यान्वयन गर्न सकेमा लमजुङमा रामराज्य नै स्थापना हुने स्थिति रहेछ, म पहल गर्छु, केही गर्नका लागि नै भनेर आएको छु उहाँले बताउनु भयो ।

यसअघि पनि प्रजिअको अनुभव सँगाल्नु भएका धनुषा निवासी प्रजिअ पुरी काठमाडौं कारागार शाखाबाट लमजुङ आउनु भएको हो ।

प्रकाशित मिति २०७९ माघ २५, बुधबार ०७:३९ गते
हजुरको प्रतिक्रिया