काठमाडौं– प्रहरीले लमजुङमा घर भएकी एक ३९ वर्षीया महिलालाई ठगी धन्दा चलाएको अभियोगमा पक्राउ गरेको छ । मधुमाया थापा नाम गरेकी उनलाई माघ २५ गते दिउँसो प्रहरीले काठमाडौंमा पक्राउ गरेको जनाएको छ ।
प्रहरीले विज्ञप्तिमार्फत थापालाई पक्राउ गरेको जनाएको हो । थापाले वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाईदिन्छु भन्दै नगद ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोग लागेको प्रहरीले जनाएको छ ।
उनको स्थायी घर लमजुङको मर्स्याङ्दी गाउँपालिका– ९ सिम्पानीमा रहेको पनि प्रहरीले खुलाएको छ । हाल उनी काठमाडौं महानगरपालिका– ४ स्थित सुकेधारा बस्दै आएकी थिइन् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ । सो कार्यालयका अनुसार उनले वैदेशिक रोजगारीको लागि स्लोभाकियाको प्रतिष्ठित कम्पनीमा पठाइदिन्छु भन्दै पीडितहरूबाट पटक– पटक गरी ८ लाखभन्दा धेरै नगद ठगी गरेको खुल्न आएपछि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले थापालाई सुकेधाराबाट पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा थापालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको उल्लेख छ ।
प्रकाशित मिति २०७९ माघ २६, बिहीबार ०७:२७ गते