विवेकशील साझाको महाधिवेशनको तयारी पुरा, भोलि उदघाटन

विवेकशील साझाको महाधिवेशनको तयारी पुरा, भोलि उदघाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २६ गते बिहिबार ०५:५४

अध्यक्ष पदमा अहिलेकी वर्तमान अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे, अर्का नेता प्रकाशचन्द्र परियार तथा महिला नेतृ रञ्जु दर्शनाको पनि अध्यक्षका दाबेबार रहेको सो दलको उच्चस्तरीय स्रोतले जनकारी दिएको छ ।

अध्यक्ष पदमा चारजनाको दावी

काठमाडौँ– विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पुरा भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भोलि माघ २७ गते बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने गरी महाधिवेशनको तयारी भएको हो ।
पार्टीका केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेसन दुई दिनसम्म चल्ने र त्यसले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिनु भयो । उहाँका अनुसार महाधिवेशनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने कार्यक्रम छ । महाधिवेसन पछि विवेकशील बहुपदीय प्रणालीमा जाने भएको उनको भनाई छ । उहाँले भन्नुभयो, ‘महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।’ उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।
महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टीका नेताहरूलाई पनि निम्तो दिइएको सो पार्टीले जानकारी दिएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतलाई महाधिवेशनमा निम्तो दिइएको सो दलको भनाई छ ।
तर विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई महाधिवेशनमा निम्त्याएको छैन । मिश्र अहिले राप्रपाका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । विवेकशील साझाले राप्रपालाई पनि महाधिवेशनका लागि निम्तो नदिइएको बुझिएको छ । महाधिवेशनका लागि तयारी पूरा भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिनु भयो । उहाँका अनुसार महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र वैकल्पिक राजनीतिक अभियान अब नयाँ चरणमा पु¥याउने तयारी छ । उहाँले भन्नुभयो, ‘पार्टीले २०७२ को संविधानलाई आत्मसाथ गर्दै समाधानमुखी र ’पब्लिक सर्भिस डेलिभरी’ केन्द्रित मुद्दाको जगमा अझ सशक्त रूपमा अघि बढ्ने छ ।’
अध्यक्ष पदका प्रत्यासीहरू
विवेकशील साझा पार्टीको अधिवेशनमा सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ । तर अध्यक्ष पदका लागि तीन जना नेताहरूले दाबी गरेको खुल्न आएको छ ।
अहिलेकी वर्तमान अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे, अर्का नेता प्रकाशचन्द्र परियार तथा महिला नेतृ रञ्जु दर्शनाको पनि अध्यक्षका दाबेबार रहेको सो दलको उच्चस्तरीय स्रोतले जनकारी दिएको छ ।
पाण्डेलाई तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रका पालामा कारबाहीसमेत गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको थियो ।
तर मिश्रले अध्यक्षबाट राजीनामा दिँदै कारबाही गरिएका नेताहरूको कारबाही फुकुवा गर्न केन्द्रीय समितिलाई आग्रहसमेत गरेका थिए ।
पाण्डे पछिल्लो समय पुनः विवेकशील साझासँग जोडिँदै महाधिवेशन तयारीमा जुट्नु भएको छ ।

प्रकाशित मिति २०७९ माघ २६, बिहीबार १७:५४ गते
हजुरको प्रतिक्रिया