राष्ट्रपतिको सवारीमा प्रहरीको ज्यादति : अस्पताल बाहिर हिँडिरहेका चिकित्सक लाठी चार्जबाट घाइते

राष्ट्रपतिको सवारीमा प्रहरीको ज्यादति : अस्पताल बाहिर हिँडिरहेका चिकित्सक लाठी चार्जबाट घाइते

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २७ गते शुक्रबार ०९:०९

डाक्टरको कार्ड देखाएर ड्युटीमा हिँड्न समेत नदिइएको उनीहरूले बताएका छन् । विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले घटनामा संलग्न प्रहरीले डाक्टरसँग माफी माग्नुपर्ने माग राखेको बताएका छन् ।

उक्त घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रदर्शन गरेका छन्

काठमाडौं– प्रहरीले गरेको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह गम्भीर घाइते हुनु भएको छ । आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनलाई सम्बोधन गरेर फर्कदै गर्दा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका माघ २७ गते उहाँ गम्भीर घाइते हुनु भएको हो । बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटपिट गरेका हुन् । डाक्टरको कार्ड देखाएर ड्युटीमा हिँड्न समेत नदिइएको उनीहरूले बताएका छन् । विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले घटनामा संलग्न प्रहरीले डाक्टरसँग माफी माग्नुपर्ने माग राखेको बताएका छन् । उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मी भन्दैमा जे पनि गर्न पनि पाउने हो र ? ड्युटीमा रहेको चिकित्सकमाथि लाठी प्रहार गर्नु अति नै ज्यादती हो ।’
राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टर सिंहलाई कुटपिट गरेको हो । प्रहरीको कुटाईबाट डा. सिंहको टाउकोमा चोट लागेको छ । सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रदर्शन समेत गरिरहेका छन् । चिकित्सकहरूले प्रदर्शन गर्ने क्रममा ट्रमा सेन्टर अगाडिको सडकमा भेला भएका चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो । त्यसै त अस्तव्यस्त रहेको सो सडक केहिबेर थप अवरुद्ध भएको थियो ।
गम्भीर रुपमा घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिनु भएको छ । उहाँका अनुसार डा. सिँहले आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदासमेत सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठी प्रहार गरेका थिए ।
उक्त घटना बारेमा थप विवरण आउन बाँकी छ ।
सर्वसाधारणलाई सास्ती ः
यसैबीच, काठमाडौं उपत्यकामा राष्ट्रपतिको सवारीका कारण आज अत्यधिक सवारी जाम हुदा सर्वसाधारणले सास्ती खेप्ने पर्यो । राष्ट्रपतिले दुवै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा आज जताततै सवारी जाम हुन गएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो ३ बजेपछि संसद् भवन पुग्नु भएको थियो ।
मन्त्रीहरूको आवतजावतले पनि थप जाम भएको ट्राफिकले जनाएको छ । ट्राफिकका अनुसार आज सर्वसाधारणको आवतजावत पनि बाक्लो छ । सडक जताततै जामका कारण सर्वसाधारणलाई सास्ती भएको हो ।

प्रकाशित मिति २०७९ माघ २७, शुक्रबार २१:०९ गते
हजुरको प्रतिक्रिया