किशोरीहरूलाई तीन दिने आत्मरक्षा तालिमको आज दोस्रो दिन

किशोरीहरूलाई तीन दिने आत्मरक्षा तालिमको आज दोस्रो दिन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २८ गते शनिवार ०८:२१

खासगरी किशोरीहरूलाई महिला हिंसा तथा बलात्कार जस्ता जघन्य अपराधका घटनाबाट बच्न सक्षम बनाउनका लागि प्रतिरक्षा गर्न सहज रुपमा सीप सिकाउन तालिम प्रदान गरिएको हो ।

कक्षा– ११ र १२ मा अध्यानरत छात्राहरू ३५ जना सहभागी

लमजुङ– जिल्ला सदरमुकाम बेसीशहरमा किशोरीहरूलाई तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । किशोरी शिक्षा अन्तर्गत उनीहरूलाई तीन दिने आत्मरक्षा सम्बन्धी तालिम माघ २७ गतेदेखि शुरु भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले तालिमको उदघाटन गर्नु हुँदै समाजमा महिलालाई कमजोर देखाउँदै आएको सन्दर्भ जोड्दै महिला हिंसा न्यूनीकरणमा तालिम फलदायी हुने बताउनु भयो । उहाँले किशोरीहरू आफै सुरक्षित भएर हिँड्नुपर्ने बाध्यात्मक स्थिति उत्पन्न भएको बेलामा यस्ता तालिमहरू सहभागीका लागि जीवन उपयोगी हुने भनाई राख्दै यस्ता तालिम जिल्लाभर सञ्चालन गर्न सुझाव दिनु भएको थियो ।
कक्षा– ११ र १२ मा अध्यानरत छात्राहरूलाई आफ्नो ज्यान प्रतिरक्षामा सक्षम बनाउने उद्देश्यले सामाजिक विकास कार्यालय लमजुङको आयोजना तथा सामुदायिक विकास केन्द्र (आरसिडिसि) को प्राविधिक सहयोगमा तीन दिनको तालिमको सञ्चालन गरिएको हो ।
सो तालिममा आरसिडिसिका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले सैद्धान्तिक रूपमा प्रशिक्षण दिनुभएको छ । तालिमको प्रयोगात्मक सीप बारेमा कराते जिल्ला संयोजक प्रेमबहादुर गुरुङले प्रशिक्षण दिनुभएको सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले बताउनु भयो । उहाँका अनुसार खासगरी किशोरीहरूलाई महिला हिंसा तथा बलात्कार जस्ता जघन्य अपराधका घटनाबाट बच्न सक्षम बनाउनका लागि प्रतिरक्षा गर्न सहज रुपमा सीप सिकाउन तालिम प्रदान गरिएको हो ।
तालिममा नगरपालिका भित्रका सात विद्यालयबाट पाँच÷पाँच जना गरी ३५ जना विद्यार्थीहरूले भाग लिएका छन ।
सामाजिक विकास कार्यालय लमजुङका प्रमुख दिनेश पौडेलको अध्यक्षतामा भएको सो तालिमको उदघाटन सत्रको सञ्चालन सोही कार्यालयका लेखा अधिकृत बलराम अछामीले गर्नुभएको थियो ।
उक्त तालिमको समापन भोलि माघ २९ गते गरिने कार्यक्रम रहेको आयोजकको भनाई छ ।

प्रकाशित मिति २०७९ माघ २८, शनिबार ०८:२१ गते
हजुरको प्रतिक्रिया