
नवलपुर– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताउनु भएको छ । उहाँले जनमत संग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माघ २८ गते बताउनु भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट– १० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताउनु भएको हो । उहाँले जोड दिदै भन्नुभयो, ‘जनमत संग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ ।’ कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भ्रातृ निकायमा पहल गर्ने आश्वासन दिनु भएको छ ।
आश्रमस्थलको बृहत् गुरुयोजनाअनुसार समावेशी गुरुकूल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशालालगायत विविध भौतिक संरचनाको निर्माणका लागि गरिएको महायज्ञ फागुन १ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कँडेलले बताउनु भएकोछ । उहाँका अनुसार हालसम्म महायज्ञमा एक करोड २० लाख संकलन भएको छ । महायज्ञस्थलमा १६ करोड रुपैयाँ बराबरको पाँच तले धर्मशाला निर्माणका लागि शिलान्यास गरिसकिएको छ ।
श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमको आयोजनामा जारी महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहनु भएको छ ।
प्रकाशित मिति २०७९ माघ २९, आईतवार ०८:२५ गते