बेसीशहर– लमजुङमा सामाजिक सेवा ईकाई स्थापनाभई आजबाट सेवा शुरु भएको छ । जिल्ला अस्पताल लमजुङमा सामाजिक सेवा ईकाईको स्थापना माघ २९ गते भएको हो ।
लमजुङ जिल्ला अस्पताल र अपाङ्ग संरक्षण समाज लमजुङ बीच ११ बुँदे सम्झौता भई उक्त कार्यक्रम अपाङ्ग संरक्षण समाज लमजुङले सञ्चालन गर्न भएको हो । उक्त सेवा लमजुङ जिल्ला अस्पतालमा आजैका मितिबाट शुरु भएको छ । एक कार्यक्रमका बीच लमजुङ जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्य र अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलका बीचमा सम्झौता पत्रमा हस्ताक्षर गर्ने काम जिल्ला अस्पतालमा सम्पन्न भएको अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भयो ।
उहाँका अनुसार सम्झौता पत्र दुवै पक्षबाट एक एक प्रति लिने दिने काम भएको छ । उहाँले भन्नुभयो, ‘उक्त कार्यक्रम लमजुङ जिल्ला अस्पतालका मेसु रमेशप्रसद आचार्यको विशेष पहलमा आएको हो ।’ सो कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, हिंसा पिडित महिला, सिमान्तकृत, अति बिपन्न तथा लोप उन्मुख जातजाति, महामारी लगायत, बाढी पैरो, भुकम्प, आगलागिमा परेका व्यक्ति, द्वन्द्व पिडितका साथै महिला स्वास्थ्य स्वायम्सेविका लगायतलाई निःशुल्क उपचार लगायत स्वास्थ सेवा उपलब्ध गराउन सहयोग गर्ने छ ।
सो उपचार खर्च सबै नेपाल सरकारले बेहोर गर्ने छ भने कार्यक्रम सञ्चालन गर्ने संस्थाका लागि कर्मचारी व्यवस्थापन सहितको मसलन्द खर्च आदि गरी चार लाख ८६ हजारको बजेट स्वीकृत भएको छ । सो बजेटको पाँच प्रतिशत थप रकम पनि संस्थाले पाउने समाजका अध्यक्ष पौडेलले बताउनु भएको छ ।
उक्त कार्यक्रम अन्तर्गत ४ जना सामाजिक परिचालक संस्थाले नियुक्त गरी उनीहरूलाई परिचालन गरी घोषित कार्यक्रमको लक्ष्य एवम् उद्देश्य पूर्ति गर्ने काम गर्नेछ । त्यसको प्रगति प्रतिवेदन त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा तयार गरी समिक्षा गर्दै अघि बढ्ने नीति रहेको अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिनु भएको छ ।
यसैबीच, मेसु रमेशप्रसद आचार्यको सामाजिक सेवा ईकाईको सेवामा विशेष रुचि रहेको पाइन्छ । उहाँको पालामा स्याङ्जा जिल्लामा पनि यो कार्यक्रम शुरु भइ प्रभावकारी ढङ्गले सञ्चालनमा आएको र उपलब्धी पनि राम्रो भएको पाइएको छ । सो सेवाबाट धेरै सरलता आएको स्याङ्जा अपाङ्ग समाजका निवर्तमान अध्यक्ष युवराज पराजुलीले अन्तरङ्ग न्यूजडटकमलाई फोनबाट जानकारी गराउनु भएको छ ।
प्रकाशित मिति २०७९ माघ २९, आईतवार १५:०२ गते