
गौलीटार(लमजुङ)– लमजुङमा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले यहाँ आयोजित एक समारोहका बीच माघ २९ गते उदघाटन गर्नु भएको हो ।
आफ्नो प्रमुखआतिथ्य मन्तव्यमा प्रमुख अतिथि गुरुङले खेलकुद मानवजीवनमा अपरिहार्य वस्तु भएको औंल्याउनु भयो । खेलकुदका माध्यमले खेलाडीलाई स्वस्थ्य र अनुशासित जीवन यापकनको कला सिकाउनुका साथै गाउँ, पालिका हुँदै जिल्ला, राष्ट्यि र अन्तराष्ट्यिस्तरको व्यक्ति बनाउन र राष्ट्लाई चिनाउन समेत योगदान पुग्ने उहाँको तर्क थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता जिल्लाको गौरवको खेल भएको बताउँदै गुरुङले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता विद्यालयमा अध्ययनरत बालबालिकाको खेलप्रतीभा उजागर गर्ने राम्रो माध्यम बनेको उल्लेख गर्नुभयो । उहाँले बालबालिकालाई खेल क्षेत्रमा आकर्षित र उत्प्रेरित गर्न र खेलका माध्यमबाट पालिका तथा जिल्लाको नाम राख्न सकिने भएकाले यसलाई अझै व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक रहेको सुझाब दिनुभएको थियो ।
राइनास नगरपालिका मेयर खड्गबहादुर गुरुङले यसवर्षको जिल्लास्तरीय प्रतियोगिता राइनास नगरपालिकामा सञ्चालन गर्ने अवसर प्राप्त भएको खुशी व्यक्त गर्दै आयोजक जिल्ला खेलकुद विकास समितिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले खेल सञ्चालनका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार छ भन्दै प्रतिवद्धता गर्नुभएको थियो ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जिल्लास्तरीय प्रतियोगिता मार्फत उत्कृष्ट खेलाडी छनौट हुने र प्रदेसस्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई सुझाव दिनुभयो । उहाँले प्रदेश तथा राष्ट्रिय स्तरको प्रतियोगीतामा जिल्लाको नाम राखेर आउन विद्यार्थीलाई अनुरोध गर्नुभयो । यसैगरी, क्व्होलासोथार गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङले यो प्रतियोगिताका माध्यमले जिल्लाका दुरदराजमा रहेका विद्यार्थीले पनि आफ्नो खेल प्रतीभा प्रस्तुत गर्ने सुनौलो अवसर प्राप्त भएको बताउनुभयो ।
राइनास नगरपालिका– ६ गौलीटार खेलमैदानमा शुरु भएको उक्त प्रतियोगिताको उदघाटन सत्रमा विभ्रिन्न पालिकाका मेयर, अध्यक्ष तथा उपमेयरहरूको सहभागिता थियो । विशेष अतिथिका रुपमा निम्त्याइनु भएका पालिका प्रमुखहरूमा राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, दोर्दी गाउँपलिकाका अध्यक्ष युवराज अधिकारी, क्ब्होलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल, राइनास नगरपालिकाका १– १० नंबर सम्मका वडा अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो ।
उदघाटन सत्रपछि आज विभिन्न १३ विधाका खेलहरू खेलाइएको छ । केही खेलको अन्तिम नतिजा समेत आएको छ । आज भएको तीन हजार मिटर दौड प्रतियोगिताको छात्रतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेमा क्रमशः समिर सुन्दस सुन्दरबजार नगरपालिका, सुशील गुरुङ राइनास नगरपालिका र राजु गुरुङ मस्र्याङ्दी गाउँपालिका रहेका छन् ।
सोही खेलको छात्रातर्फ ज्योती रम्तेल राइनास नगरपालिका पहिलो, लक्ष्मी दवाडी दोस्रो दूधपोखरी गाउँपालिका, अनिता भण्डारी सुन्दरबजार नगरपालिका रहेका छन् ।
हाइजम्पमा छात्रातर्फ नीमा श्रेष्ठ बेसीशहर नगरपालिका पहिलो, स्वस्तिका भण्डारी मस्र्याङदी गाउँपालिका दोस्रो र सोही गाउँपालिका अनुजा गुरुङ तेस्रो भएका छन् । सोही खेलको छात्रतर्फको प्रतियोगितामा गणेश विक सुन्दरबजार नगरपालिका पहिलो, प्रमोद गुरुङ मस्र्याङदी गाउँपालिका दोस्रो र विनोद मिजार बेसीशहर नगरपालिका तेस्रो भएका छन् ।
यसैगरी, सटपटतर्फको प्रतियोगितामा छात्रतर्फ रोनिज गुरुङ मस्र्याङदी गाउँपालिका पहिलो, निराज गुरुङ बेसीशहर नगरपालिका दोस्रो र बेसीशहरकै अरुण विक तेस्रो भएका छन् ।
सोही खेलको छात्रातर्फ धनकाशी गुरुङ सुन्दरबजार पहिलो, सुप्रिया गुरुङ मस्र्याङदी गाउँपालिका दोस्रो, करीना शाही राइनास नगरपालिका तेस्रो भए ।
भलिवल प्रतियोगिताको छात्रातर्फको खेलमा मध्यनेपाल नगरपालिका प्रथम, सुन्दरबजार नगरपालिका दित्तिय र दोर्दी गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समिति लमजुङका सदस्य सुनिल घलेले जानकारी दिनुभएको छ ।
यसैगरी, मार्चपासतर्फ राइनास नगरपालिका पहिलो, मध्यनेपाल नगरपालिका दोस्रो र मस्र्याङदी गाउँपालिका तेस्रो भएका छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) को अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष प्रदिप घिमिरेले स्वागत तथा सञ्चालन जिल्ला खेलकुद विकास समिति लमजुङका सदस्य प्रदिपजंग गुरुङले गर्नुभएको थियो ।
प्रतियोगिता अन्तरगत छात्र, छात्रा दुवै तर्फको एथ्लेटिक्स, भलिवल, कराँते, कबड्डी लगायतको खेल खेलाइने छ । यस प्रतियोगितामा छनौट भएका खेलाडीलाई जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेशस्तरीय खेलमा सहभागी गराइने आयोजक समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन १५ गते भित्र खेलाडी छनौट गरि नाम प्रदेशमा पठाई सक्नुपर्ने कार्यतालिका छ ।
उदघाटन सत्रमा पत्रकारहरू निल : आयोजक आक्रोशित
आज यहाँ शुरु भएको १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन सत्रमा जिल्लामा कार्यरत कुनै पनि पत्रकारहरू सहभागी हुन गएनछन् । त्यसप्रति आयोजक जिल्ला विकास समितिका पदाधिकारीहरूबाट निकै आक्रोश व्यक्त गरिएको छ । खासगरी आयोजक समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) गुरुङले एकजना पनि पत्रकार नआएकोप्रति आक्रोशपूर्ण शैलीमा निकै तीतो पोख्नु भएको थियो ।
तपाईको निम्ता नै त्यस्तै पाराको थियो, हामीलाई त भन्नु भएको पनि थिएन भन्ने यो प्रतिनिधिको जवाफ पछि भने उहाँ शान्त हुनुभएको थियो । उहाँले भन्नुभयो, ‘सो प्रतियोगिता भोलि फागुन १ गते विहान साढे सातबजेबाट शुरु हुने र फागुन २ गते समापन हुने कार्यक्रम रहेको छ ।’
प्रकाशित मिति २०७९ माघ २९, आईतवार १९:३४ गते