बेसीशहर– लमजुङको सदरमुकाममा किशोरी छात्राहरूलाई लक्षित गरी आत्मरक्षा तालिम दिइएको छ । तीन दिने सो तालिमको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुुवेदीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच माघ २८ गते समापन गरियो ।
समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुुवेदी र सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रमाणपत्र वितरणपछि प्रहरी निरीक्षक सुुवेदीले आफ्नो संक्षिप्त मन्तव्यमा तालिमका क्रममा सिकेका ज्ञान, सीपलाई आफूमा मात्र सीमित नराख्न सहभागीहरूलाई आग्रह गर्नु भयो । उहाँले आत्मरक्षाको सीप आफूमा मात्र सीमित नराखी विद्यालय र छरछिमेकमा समेत फैलाउनु पर्नेमा जोड दिनु भयो । उहाँले बालिका, किशोरी तथा महिलाहरू सुरक्षित हुनु भनेको प्रहरीको कामको बोझ हल्का हुनु पनि हो भने तपाईहरू व्यक्ति स्वयम्का लागि र समाजका लागि पनि यो राम्रो हुनेछ भन्नुभयो । महिलाहरू सुरक्षित हुँदा समाजमा अपराध कम हुन्छ, अपराध कम हुना साथ प्रहरीको कामको बोझ हल्का हुन्छ उहाँले उल्लेख गर्नु भयो । उहाँले प्रहरीको काम कानुनको पालन गर्नु हो, प्रहरीको चाहना वा उद्देश्य कहिल्यै पनि कुनै पनि व्यक्तिलाई पक्रने, थुन्ने भन्ने हुँदैन, हामी प्रहरी कार्यालयका हिरासत कोठाहरू तथा कारागारहरू खाली होउन् भन्ने चाहन्छौं भन्नुभयो ।
सभाका अध्यक्ष समेत रहनु भएका सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले यो तालिमले तपाईहरूमा आत्मविश्वास बढेको आफूले पाएको बताउनु भयो । उहाँले आत्मविश्वास बढ्नु भनेको तपाई सुरक्षित हुन सक्नु हुन्छ भन्ने हो, तपाईहरू पहिलो दिनमा भन्दा हिजो दोस्रो र आज तेस्रो दिनमा खुल्नु भएको देख्दा, पाउँदा यो तालिमको सार्थक उपलब्धी भएको अनुभव गरेको उल्लेख गर्नुभयो । आफ्नो प्रतीभा र क्षमताको विकास गर्नु पर्छ त्यसका लागि यो तालिम तपाईको जीवनमा कोशेढुंगा हुनेछ किनकि, तपाई भोलि कस्तो मान्छे हुने भन्ने निर्धारण गर्ने समय नै यही हो उहाँले भन्नुभयो । उहाँले आजको जमानामा कितावी किरो मात्र हुनु हुँदैन भन्नेतर्फ थप ध्यान दिन आग्रह गर्दछु भन्नुभयो ।
पौडेलले यो तालिमको पाठ्यक्रम आजका दिनसम्म नबनेको जानकारी दिदै यसको सैद्धान्तिक विषयमा आरसिडिसीका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेको प्रयासबाट सैद्धान्तिक विषयवस्तु तयार भएको हो भने प्रेम गुरुङको सहयोगबाट प्रयोगात्मक अभ्यास सम्भव भएको हो । यसैले पनि उहाँहरू विशेष बधाईका पात्र हुनुहुन्छ भन्नुभयो ।
सो अवसरमा प्रशिक्षक विश्वविनोद घिमिरेले आज अलिक बढी भावुक भएको छु र तपाईहरूलाई केही दिन सके भन्ने तपाईहरूका अभिव्यक्तिले पुष्टि हुन आएको छ, खुशी छु भन्नुभयो । भोलि अर्थात अबको आठ दश वर्ष पछि तपाईहरूलाई टेलिभिजनका पर्दाहरूमा समाजका लागि विशेष योगदान गरिरहेको व्यक्तित्वका रुपमा देख्न पाउँ भन्ने कामना गर्नु भयो ।
यसैगरी, वरिष्ठ पत्रकार नवराज पहाडीले हामीले समाजका गर्ने सकारात्मक कामले समाज परिवर्तमा योगदान पुग्न त्यस्तो कार्यमा सबै सरिक हुन सकौं भन्नु भयो । आफूले जिल्लामा सचेतना जागृत गर्न र जिल्लाको हैसियत उठाउन र यसलाई देश विदेशमा चिनाउनका लागि आफ्नै जिल्लामा बसेर पत्रकारिता गर्नु पर्छ भन्ने पवित्र भावनाको साथ पत्रकारितामा लागि रहेको जिल्लाको पहिलो पत्रिका अन्तरङ्ग सञ्चालन गरिआएको र त्यो पत्रिका तिमी(सहभागी)हरू भन्दा जेठो ३१ वर्षमा चलिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो परिवारबाट तीन वटा सञ्चारमाध्यम चलिरहेको जानकारी दिदै अन्तरङ्ग बाहेक लमजुङ रत्न साप्ताहिक र अन्तरङ्ग न्यूजडटकम पनि रहेको उल्लेख गर्नु भयो । उहाँले ती माध्यममा तपाईहरूका सफलताका कथा या पिरमर्का वा अन्यायमा परेका घट्ना प्राथमिकताका साथ छापिने गरेको र भोलिका दिनमा पनि त्यो क्रम जारी रहने हुँदा त्यस्ता घट्नाको जानकारी तपाईहरूले पनि दिन सक्नु हुन्छ, सहयोगको अपेक्षा गर्दछु भन्नुभयो ।
कार्यक्रममा सहभागी समीक्षा परियार र कञ्चन भण्डारीको समूहले तालिमका क्रममा सिकेका कलालाई के कस्तो परिस्थितिमा कसरी प्रयोग गर्ने भन्ने डमो सहित आआफ्नो अनुभव प्रस्तुत गरेका थिए । निर्मला गुरुङले तालिमका बारेको अनुभव सुनाउँदै तालिममा बालअधिकार बारे जानकारी लिदै आफ्ना कमीकमजोरी हटाउन मद्दत मिलेको छ । अब साँझ विहान एक्लै हिड्दा पनि सुरक्षित हुन्छु भन्ने भावना जागृत भएको बताउँदै भोलिका दिनमा पनि यस्ता तालिम बारम्बार हुँदै रहनु भन्ने कामना गरिन् ।
तालिमका अन्य सहभागीहरूले पनि यस्तो तालिमले आउँदा दिनमा पनि निरन्तरता पाउनु पर्ने माग गरेका थिए । उक्त समापन कार्यक्रमको सञ्चालन आरसिडिसीका स्वयम्सेवक सृष्टि मिजारले गर्नु भएको थियो ।
किशोरीहरूका लागि आत्मरक्षा उक्त तालिम समाजिक विकास कार्यालय लमजुङको आयोजना तथा आरसिडिसी लमजुङले प्राविधिक सहयोग गरेका थिए ।
सो तालिममा सात माविहरू दुई जनविकास मावि, गंगामिलन, जनजागृति, जनकल्याण, लमजुङ र बालकल्याण माविका कक्षा– ११ र १२ मा अध्ययनरत ५/५ जना छात्राहरूले भाग लिएका थिए ।
प्रकाशित मिति २०७९ फाल्गुन १, सोमबार १०:५४ गते