भूलभूले(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाले पालिकाभरका विद्यायलका परीक्षामा एक रुपमा कायम गर्ने निर्णय गरेको छ । त्यसका लागि पालिकास्तरको परीक्षा समिति बैठक नै बसेर उक्त कार्य गर्ने निर्णय माघ २९ गते भएको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले पालिकास्तरीय परीक्षा समिति गठन गरी गाउँपालिका भरी सञ्चालनमा रहेको कक्षा नर्सरीदेखि कक्षा– १० सम्मका परीक्षाहरू परीक्षा समिति मार्फत गाउँपालिकाबाट नै सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाभरका विद्यालयमा सञ्चालन हुने परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र बस्तुनिष्ठ बनाउन त्यस्तो निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताउनु भयो । उहाँका अनुसार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा परीक्षा समिति गठन गरिएको छ ।
गाउँपालिका अध्यक्ष एवम् परीक्षा समितिका अध्यक्ष अर्जुन गुरुङले परीक्षा समितिद्वारा परीक्षा सञ्चालन गर्दा परीक्षा गुणस्तरीय, विश्वसनीय र बस्तुनिष्ठ हुने र यसको एक रुपताले थप मर्यादित बनाउन सकिने र यसबाट सम्पूर्ण विद्यार्थी एवं शिक्षकहरूलाई अध्ययन अध्यापनमा थप संवेदनशील बनाउन सक्ने बताउनु भएको छ ।
परीक्षा समितिमा स्थानीय प्रहरी चौकीका प्रमुख सदस्य रहने गरी शिक्षा शाखाका प्रमुख सदस्य सचिव र ५ जना विषयगत उप समितिका संयोजकहरू सदस्य रहने गरी ९ सदस्यीय पालिकास्तरको परीक्षा समिति रहने व्यवस्था गर्नका लागि हालै सम्पन्न गाउँ सभाबाट स्थानीय शिक्षा ऐनमा संशोधन समेत गरिएको छ । सो अनुसार समितिको माघ २९ गते बसेको बैठकले विभिन्न निर्णयहरू गर्दै कामलाई अगाडि बढाउने भएको छ ।
विषयगत समितिका संयोजकहरूमा तिर्थबहादुर बस्नेत सामाजिक, मुक्तिनाथ न्यौपाने अंग्रेजी, ईश्वरबाबु पाण्डे नेपाली, महेन्द्र न्यौपाने विज्ञान, थमन गुरुङ गणित चयन हुनु भएको गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव सरोज गुरुङले जानकारी दिनु भएको छ ।
सो समितिले प्रश्नपत्र निर्माणदेखि विषयगत सुधारका निम्ति विषयगत समितिहरूले अन्य विज्ञ शिक्षकहरूको सहयोग लिएर काम गर्ने गरी जिम्मेवारी दिइएको सामाजिक विषयका संयोजक तिर्थबहादुर बस्नेतले बताउनु भएको छ । उहाँका अनुसार शैक्षिक शत्र २०७९ को वार्षिक परीक्षा आउँदो चैत्र १७ गतेदेखि २४ गतेसम्म कक्षा– १ देखि ५ सम्मको १२ः३० बजे र कक्षा– ६ देखि ९ सम्मको दिउँसो १ः०० बजे लिने गरी परीक्षा तालिका समेत तयार गरिसकेको छ । उहाँले भन्नुभयो, ‘सबै कक्षाहरूको वार्षिक परीक्षाको नतिजा आउँदो चैत्र ३० गते घोषणा गर्ने कार्यतालिका छ ।
परीक्षा समितिले पालिका भरिको एसईई योग्यता मूल्याँकन परीक्षा समेत यही फागुन १४ गतेदेखि दिनको १ः०० – ४ः०० बजे शुरु गर्ने र चैत २६ गते नतिजा प्रकाशन गर्ने निर्णय गरेको बस्नेतको भनाई छ ।
प्रकाशित मिति २०७९ फाल्गुन १, सोमबार १४:४५ गते