काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति ४० सदस्यीय बनेको छ । पार्टीको केन्द्रीय समिति बैठकले ४० सदस्यीय केन्द्रीय समिति फागुन १ गते बनाएको हो ।
यसअघि रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय मात्र थियो ।
केन्द्रीय समिति बैठकले सो समितिलाई २४ सदस्यीयबाट बढाएर ४० सदस्यीय बनाएको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार केन्द्रीय समिति २४ बाट विस्तार गरेर ४० सदस्यीय पुर्याइएको छ । यो कार्यलाई निरन्तरता दिन्छौं । उहाँले भन्नुभयो, ‘करिव १०० जनाको नाम सिफारिस भएको थियो । कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई मनोनित गरिएको हो ।’
पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक संयुक्त रुपमा पार्टी कार्यालय, बसुन्धरामा बसेको थियो । सो दलको केन्द्रीय समिति १५१ सदस्यीय हुने विधानमा उल्लेख छ ।
भरतमोहनकी छोरी लिमा पनि केन्द्रीय सदस्य : बुवाको उद्देश्य यहीँबाट पूरा हुन्छ
नेकपा एमालेका स्वर्गीय नेता भरतमोहन अधिकारीकी सुपुत्री लिमा अधिकारी पनि चयन हुनुभएको छ । उहाँ भरतमोहनकी माइली छोरी हुनुहुन्छ । नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र भरतमोहन अधिकारी दाजु भाइ हुनुहुन्थ्यो ।
व्यवसायमा समेत आवद्ध अधिकारी लामो समय नेकपा एमालेको २२ वर्ष संगठित सदस्य रहनुका साथै एमालेको उद्योग विभागमा समेत हुनुहुन्थ्यो । पछिल्ला दिनमा भने उहाँ नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुनुहुन्थ्यो । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा रहनु भएको थियो ।
उहाँले आफ्ना बुबाहरूले आम नागरिकका लागि बोकेको उद्देश्य कम्युनिष्ट पार्टीबाट पूरा हुने नदेखेपछि रास्वपा रोजेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीहरूले आफूलाई मात्र बनाउन हामी जस्तालाई भर्याङका रुपमा मात्रै प्रयोग गरेको जस्तो मलाई अनुभूति भएको हुनाले म नयाँ पार्टीमा लागेकी हुँ ।’
नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य रहनु भएकी अधिकारी नेपाल पूर्वाधार विकास बैंकको निर्देशकसमेत हुनुहुन्छ ।
रमेश प्रसाईँ र ज्वाला संग्रौला पनि केन्द्रीय सदस्य
रास्वपाको केन्द्रीय सदस्यमा सञ्चारकर्मी तथा अभियन्ता रमेश प्रसाईँ र अर्की अभियन्ता ज्वाला संग्रौला समेत चयन हुनु भएको छ ।
बैठकले प्रसाईँ र संग्रौलालाई केन्द्रीय सदस्य चयन गरेको सो पार्टीले जनाएको छ । उहाँहरूको सामाजिक सञ्जालमा समेत चर्चा हुने गर्दछ ।
केन्द्रीय सदस्य मनोनीत हुनेमा निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, टिका संग्रौला(ज्याला), हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईँ, अर्जुन अधिकारी, क्राीन्तशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री हुनुहुन्छ ।
तत्काल सरकारमा नजाने
रास्वपा केन्द्रीय समितिको बैठकले पूर्व सहमति अनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो, ‘नयाँ सहमति भयो भने सरकारमा जाने हुनसक्छौं ।’
गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन ।
चितवन २ मा आगामी १० वैशाखमा उपचुनाव हुने तय भएको छ । बैठकले उपचुनाव घोषणाको स्वागत गरेको छ र, चुनावमा जान तयार रहने निर्णय गरेको छ ।
चितवन २ को उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय भएको छैन, तर सभापति रवि लामिछाने आफैं उम्मेदवार हुनेमा विवाद नभएको सहमहामन्त्री बुर्लाकोटीले उल्लेख गर्नु भएको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन २, मंगलवार ०६:५४ गते