काठमाडौँ– राष्ट्रपतिको निर्वाचन नजिकिदै गरेको बेलामा सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले यसबारेमा आधिकारिक निर्णय गर्ने भएको छ । माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्नु पर्ने स्थिति उत्पन्न भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको बीचको दुरी बढ्दै गएको छ । राष्ट्रपतिको चुनावसँगै सत्ता समीकरणमा हेरफेर हुने चर्चा पनि शुरु भएको छ । कांग्रेसले राष्ट्रपतिमा उम्मदवार उठाउने निर्णय गरिसकेको छ । त्यसका लागि माओवादीले साथ देला भन्नेमा सो पार्टी ढुक्क देखिएको छ ।
सो दलका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले यो पार्टी वा त्यो पार्टी भन्दा पनि सहमतिमा राष्ट्रपति कसलाई बनाउने विषयमा छलफल हुने बताउनु भयो । उहाँका अनुसार फागुन १३ गते अघि निर्णय गर्नु पर्ने छ । अब त्यो अवधि करिब ९ दिनमात्र बाँकी छ । राष्ट्रपतिका बारेमा पार्टीभित्र गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसलाई राष्ट्रपति दिने विषयमा छलफल भइरहेको भए पनि त्यो नै आधिकारिक निर्णय भने होइन, माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ, बैठकबाट ती सबै कुराको टुङ्गो लगाउँछ, यी सँगै राष्ट्रपतिका बारेमा पनि आधिकारिक धारणा माओवादीले ल्याउँछ ।’
वर्तमान सत्ता गठबन्धन भित्र(खास गरी एमाले) बाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको बताइएको छ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्न सक्ने आंकलन गरिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेको छ । त्यसैले त्योभन्दा पहिला नै माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गर्न लागेको बताइन्छ ।
प्रकाशित मिति २०७९ फाल्गुन ३, बुधबार १७:१९ गते