
काठमाडौं– नेपाली कांग्रेस नेता डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकलाको अवस्था गम्भीर रहेको छ । उपचारमा संलग्न चिकित्सकले डा. भण्डारीको थप उपचारका लागि भारत लैजान फागुन ४ गते सिफारिस गरेका छन् ।
खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते हुनु भएका डा. भण्डारीको शरीर २५ प्रतिशत शरीरको भाग जलेको भए पनि फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका हुन् ।
बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा गए राति डा. भण्डारी र ८६ वर्षीया आमा जलेर घाइते हुनु भएको हो । उहाँहरूलाई उपचारका लागि राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । दुवैको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अस्पतालकी मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार डा. भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उहाँले भन्नुभयो, ‘माननीयको २५ देखि ३० प्रतिशत गहिरो जलन छ । बन्द कोठामा भएकोले धुवाँ फोक्सोमा गएको छ । यो रिस्क फ्याक्टर हो ।’
मेडिकल डाइरेक्टर ताम्राकारले थप भन्नुभयो, ‘यति डिप वर्न नेपालमा अलि सहज छैन ।’ उहाँका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल हुन गएको छ ।
आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको तुलाधरको भनाई छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका डा. भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेस र नेकपा एमालेलगायत पार्टीका नेताहरू अस्पतालमा पुगेका छन् ।
यसैबीच, भण्डारीलाई भेट्न आउने नेता तथा कार्यकर्ताहरू क्रम जारी छ । राति नै महामन्त्री विश्वप्रकाश शर्माले भेटेर फर्किनु भएको थियो । बिहान गगन थापा, प्रदीप पौडेल, एमाले नेता प्रदीप ज्ञवालीलगायत अस्पताल पुगेर भेटेका छन् ।
‘उहाँको अनुहार सुन्निएको छ । राम्रोसँग बोल्नु हुन्छ,’ सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि काँग्रेस नेता प्रदीप पौडेलले भन्नुभयो ।
सांसद समेत रहनु भएका डा. भण्डारीको सचिवालयले विज्ञ चिकित्सकहरूले चेकजाँच गरेपछि थप उपचारका लागि अन्यत्र लैजाने वा कीर्तिपुरकै अस्पतालमा उपचार गर्नेबारे तय हुने जानकारी दिएको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन ४, बिहीबार ०९:५२ गते