काठमाडौं– नेपालमा आउने पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यमा फागुन ४ गते घटाएर पठाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढेको दुई हप्ता बित्न नपाउँदै भारतले नयाँ मूल्य सूची पठाएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोलीयम पदार्थको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर पठाएको नयाँ सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ ९७ पैसा घटेको छ । यसैगरी, डिजेलको मूल्यमा ६ रुपैयाँ ४१ पैसा तथा हवाई इन्धनको मूल्य एक रुपैयाँ ८८ पैसा घटेर आएको छ ।
भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपालमा मूल्य घटाउनेबारे निर्णय नभएको आयल निगमले जनाएको छ ।
यसअघि अर्थात गत माघ २३ गते भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो । हवाई इन्धन र एलपी ग्यासको मूल्य बढाइएको थिएन ।
प्रकाशित मिति २०७९ फाल्गुन ४, बिहीबार २०:३८ गते