विज्ञानका सामग्रीको एक दिने प्रदर्शन, सहभागी १५ विद्यालय

विज्ञानका सामग्रीको एक दिने प्रदर्शन, सहभागी १५ विद्यालय

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ४ गते बिहिबार १०:०४


एक विद्यालयबाट प्रावि तह कक्षा– ४ देखि ६, आधारमूत तह कक्षा– ७ र ८ तथा मावि तह कक्षा– ९ र १० का विद्यार्थीबाट छुट्टा छुट्टै आफ्नो इच्छा अनुसारका सामग्री उत्पादन गरी प्रदर्शनमा ल्याउन र ती लेबलबाट २/२ जनाका दरले विद्यार्थीलाई भाग लिन लगाइएको आयोजकको भनाई छ ।

एक विद्यायलका तीन तहका २/२ जना विद्यार्थी सहभागी

बेसीशहर– लमजुङको सदरमुकाम बेसीशहरमा १५ विद्यालयबाट उत्पादित विज्ञान सामग्री एक दिने प्रदर्शन गरिएको छ । किक्स इक्युप संस्थाको आयोजनामा बेसीशहर नगरपालिका– ८ स्थित ल्याण्डस्टर आमाविको हातामा उक्त प्रदर्शनी फागुन ४ गते गरिएको हो ।
सो प्रदर्शनीको बेसीशहर नगरपालिकाको शिक्षा शाखाका प्रमुख किसानराज चिलुवालले उदघाटन गर्नु भयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनात्मक प्रतीभाको विकास गरी सिकाईमा क्षमतामा बृद्धि गर्न मद्दत गर्ने हुँदा सकारात्मक सन्देश दिने बताउनु भयो । यसले कुन विद्यायल के कति सिर्जनात्मक छ ? भन्ने पनि सिद्ध हुने हुँदा यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रमका प्रमुख आतिथ्य मन्तव्य व्यक्त गर्दै सोही शाखाका रामकृष्ण त्रिपाठीले पठनपाठनसँग नितान्त सरोकार राख्ने यस्ता विषयका प्रदर्शन कार्यक्रम सयमसमयमा भइरहनु पर्न यसले विद्यार्थी र शिक्षक दुवैलाई विषयप्रति रुचि जागृत गर्दछ र उत्प्रेरणा प्रदान गर्दछ भन्नु भयो । उहाँले प्रर्दशनी स्थलमा राखिएको सामग्रीले सीप हस्तान्तरणका साथै आपसमा सदभाव बृद्धि गरेर भोलिका दिनमा थप उपलब्धीमूलक बनाउने उल्लेख गर्नुभयो ।
किक्स इक्युपका अध्यक्ष देवबहादुर कार्कीले आफ्नो संस्थाले शिक्षक, प्रधानाध्यापक तथा प्रिन्सिपल, विद्यार्थी र अभिभावकको भूमिकामा निखारता ल्याउन विद्यालयसँगको साझेदारीमा विभिन्न तालिम, केही विद्यार्थीका लागि छात्रवृत्ती, सिकाईमा सहजताका लागि विज्ञान, गणित तथा पुस्ताकालयका सामग्री हस्तान्तरण, दुई विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले आफ्नो संस्थाले पाँच वर्षे अवधिका लागि यो कार्यक्रमको सम्झौता गरेकोमा आउँदो शैक्षिक सत्र अन्तिम वर्ष हो भन्नुभयो । उहाँले आउँदो वर्ष साहित्य र गणितको महोत्सव गर्ने योजना रहेको जानकारी दिनु भयो ।
अध्यक्ष कार्कीले थप जानकारी दिदै भन्नुभयो, ‘यो कार्यक्रम साझेदारीको हो, त्यसैले प्रदर्शनीमा भाग लिनका लागि विद्यालयहरूलाई स्थानीय स्रोत साधनको उपयोग गर्न भनेको स्मरण गर्दै प्रति विद्यायल प्रदर्शन सामग्री खरिद गर्न दुई हजार पाँच सय उपलब्ध गराइएको छ ।’ यदि त्यसले कुनै कुनै विद्यालयलाई अपुग भएको जस्तो देखिएको छ, त्यस्तो रहेछ भने पनि हामी थप सहयोग गर्नेछौं उहाँले भन्नुभयो ।
किक्स इक्युपका स्वयम् सेवक एवम् उत्पेरक यूएसएकी नागरिक विगतको १० वर्षदेखि यहाँ बसेर विद्यालयमा सहजीकरण गरिरहेको बताउनु भयो । उहाँले यो कार्यक्रममा सहभागीले एक अर्कोको देखेर पनि सिक्न सक्छन् । उनीहरूको आत्मविश्वास बढ्छ, यो सिक्ने मौका पनि हो, सहभागीले यसको भरपुर उपयोग गर्न सकुन् भन्ने हाम्रो चाहना छ भन्नुभयो ।
प्रदर्शनीमा भाग लिन आएका केही विद्यालयले भने संस्थाले कार्यक्रमका लागि सहयोग स्वरुप प्रदान गरेको २५ सय रकम पनि खर्च नगरेको जस्तो सामग्री प्रदर्शनीमा ल्याएको देखिएको प्रत्यक्षदर्शीहरूले बताए ।
एक विद्यालयबाट प्रावि तह कक्षा– ४ देखि ६, आधारमूत तह कक्षा– ७ र ८ तथा मावि तह कक्षा– ९ र १० का विद्यार्थीबाट छुट्टा छुट्टै आफ्नो इच्छा अनुसारका सामग्री उत्पादन गरी प्रदर्शनमा ल्याउन र ती लेबलबाट २/२ जनाका दरले विद्यार्थीलाई भाग लिन लगाइएको आयोजक किक्स इक्युपका शिक्षक उत्प्रेरक निराजन थापाले बताउनु भयो । उहाँका अनुसार केही विद्यालयबाट बढी संख्यामा पनि विद्यार्थी सहभागी हुन आएका छन् । यो प्रदर्शनीमा हाम्रो संस्थासँग साझेदारी गरेका १५ विद्यालयहरूले भाग लिएको उहाँको भनाई छ ।
ती विद्यालयहरूमा बेसीशहर नगरपालिकाका १३ र सुन्दरबजार नगरपालिकाका दुई रहेका थिए । ती विद्यालयहरू हुन्– बालकल्याण मावि, लमजुङ मावि, यशोब्रह्म मावि, जनजागृति मावि, जनजागृति आवि, जनविकास मावि बेसीशहर र चण्डीडाँडा, जनकल्याण मावि, कालिका मलिन मावि, गंगामिलन मावि, ल्याण्डस्टार आमावि, न्यूइरा आमावि, बालविद्याश्रम मावि तथा सुन्दरबजार नगरपालिकाका सयपत्री आमावि र बालज्योति आमावि थिए ।
सो प्रदर्शनीमा सहभागी हुन आउनु भएका न्यूइरा आमाविका प्रिन्सिपल ओम कायस्थले आयोजक संस्था किक्स इक्पुपले मूलतः तीन काम गरेको छ, पहिलो शिक्षकका लागि तालिम, भौलिक सामग्रीको उपलब्धता र विद्यार्थीको गुणस्तरीय शिक्षण सिकाईमा योगदानका साथै समय समयमा गर्ने यस्ता प्रदर्शनीेले विद्यार्थी र शिक्षकहरूमा थप उत्प्रेरणा दिने गरेको बताउनु भयो ।
लमजुङ माविकी विज्ञान शिक्षक श्रद्धा खनालले यो कार्यक्रमले निकै उत्साहित बनाएको छ, म यस्तो कार्यक्रमको पक्षमा छु भन्दै उहाँले आफ्नो विद्यार्थी कालमा साइन्स क्लबको अध्यक्ष रहेर तनहूँमा जिल्लास्तरीय विज्ञान प्रदर्शनी गराएको स्मरण गर्नु भयो । उहाँले विज्ञान भनेको हेर, सिक र गर भन्ने सिद्धान्तमा आधारित छ, यो कार्यक्रमले यो सिद्धान्तको व्यवहारिक प्रयोगमा मद्दत गरेको छ भन्नुभयो ।
त्यस्तै, यशोब्रह्म माविका प्रधानाध्यापक सूर्यप्रसाद बरालले सीपको विकास भएको र सीप सिक्नका लागि ध्यान केन्द्रीत गराएको छ, आपसी चिनजान र ज्ञान आदानप्रदानमा सहजता ल्याएको अनुभव गरेको बताउनु भयो ।
प्रर्दशनी स्थलो रहेको ल्याण्डस्टार आमाविका प्रिन्सिपल ईश्वर पौडेलले कार्यक्रमको महत्वमा प्रकाश पार्नु हुँदै सिर्जनात्मक र चनात्मकसँगै प्रयोगात्मक बढी देखिन्छ भन्नुभयो । फरक विद्यालयले फरक विषयवस्तुको पस्केका कारणले धेरैलाई त्यसले जिज्ञासा उत्पन्न गराएको छ उहाँले भन्नुभयो । यस्ता कार्यक्रम जिल्लास्तर रुपमा पनि समय समयमा हुन आवश्यक छ उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति २०७९ फाल्गुन ४, बिहीबार २२:०४ गते
हजुरको प्रतिक्रिया