
करापुटार (लमजुङ)– लमजुङमा रहेको दोस्रो पशपतिनाथको रूपमा परिचित सन्तानेश्वर अर्थात ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रीका अवसरमा लाग्ने मेलाको तयारी पुरा भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ७ को करापुटार स्थित ईशानेश्वर मन्दिर हातामा महाशिवरात्रीका अवसरमा विशेष मेला लाग्ने गर्दछ । सो मेलाको तयारी पुरा भएको आयोजक समितिले फागुन ५ गते बताएको हो । 
ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले मेलाको आयोजना गरेको छ । दुई दिने सो मेलाको अवसरमा ईशानेश्वर महादेव मन्दिरमा दूध चढाउन शनिबार बिहान ३ बजेदेखिनै भक्तजनका लागि प्रवन्ध मिलाएको मेला आयोजक मूल समिति तथा ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले बताउनु भयो । उहाँका अनुसार मेलामा दूध चढाउने बाहेक ठाडा बत्ती बल्ने, बसेर बत्ती बाल्ने, सामुहिक व्रतबन्ध, भलिबल प्रतियोगिता, रक्तदान कार्यक्रम, कृषि मेला प्रदर्शनी तथा प्रतियोगिता, साँझदेखि रातभर ठाडोभाका गायन र छायांकन, १०८ धारामा स्नान, श्लेषमान्तक वनमा रहेको रुद्र मन्दिर र १०८ शिवलिङ्ग दर्शन लगायतका कार्यक्रमको तयारी पुरा भएको छ । उनले भने ‘मेला व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि ३२ वटा विभिन्न उपसमिति गठन गरी तयारीको जिम्मा दिइएको छ ।’ सबै उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् अध्यक्ष घिमिरेले थप जानकारी दिनुभयो ।
यसैगरी, विगतका चार वर्षदेखि सञ्चालमा आएको भण्डाराको काम यस वर्ष पनि हुने भएको छ । त्यसका लागि हरियानाबाट सन्तहरूको एक टोली आइसकेको भण्डारा उपसमितिका संयोजक गुणराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार भण्डारामा करिब तीन लाख खर्च हुने गरेको छ । त्यसमध्ये आधा खर्च भारतबाट आएका उनीहरूले बेहोर्ने गर्दछन् भने आधा खर्च हाम्रो समितिले बेहोर्ने गरेको छ । उहाँले भन्नु्भयो, ‘भण्डारामा मेला अवधिभरमा इच्छुक भक्तजनले आएर यहाँ पाकेका खाद्यवस्तु निःशुल्क सेवन गर्न पाउँछन् ।’
ईशानेश्वर मन्दिरको विशेषताका बारेमा प्रकाश पार्नु हुँदै स्थानीय ईशानेश्वर क्याम्पसका प्रमुख एवम् साहित्यकार रमेशचन्द्र घिमिरेले भन्नुभयो, ‘सन्तानको रहर हुने दम्पती त्यसमा पनि खासगरी पुत्र लाभका लागि मन्दिर परिसरमा आएर रातभर जाग्राम बसेर ठाडाबत्ती बाल्ने गर्दछन् ।’ त्यस्ता दम्पतीलाई पुत्र वा सन्तान प्राप्त भएको पनि पाइन्छ, त्यसरी सन्तान प्राप्त गरेका दम्पत्तीले सन्तान पाए पछि उनीहरूलाई २,४ वर्षपछि दर्शन गराउन र महादेवसँग थप आशीर्वाद प्राप्तिका लागि पनि लिएर आउने गरेको जनविश्वास रही आएको उनले जानकारी दिनुभयो ।
विगतका वर्षमा ठाडाबत्ती बाल्नका लागि सातसय जनाका लागि प्रवन्ध गरिएकोमा यो वर्ष नौ सयका लागि प्रवन्ध गरिएको सो मेला आयोजक समितिका सदस्य एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार ठाडाबत्ती बाल्नेका लागि रातभरका लागि पाँचसय रूपैयाँ लिने गरिएको छ । उहाँका अनुसार विगतका वर्षझैं यो वर्ष पनि भोलि रातभर ठाडोभाकाको प्रस्तुति र छायांकन गर्ने कार्यक्रम रहेको छ । उनले भने, ‘यो वर्ष ठाडोभाकाको विशेष कार्यक्रम हुने भएको छ । त्यसका लागि प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताहरूमा पहिलो हुने टिमहरुको विशेष प्रस्तुति हुने प्रवन्ध गरिएको छ ।’
उक्त कार्यक्रमका व्यवस्थापनका लागि प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी कार्यक्रम स्थलमा पुगिसक्नु भएको छ । सो कार्यक्रमको मञ्च व्यवस्थापन कार्य ठाडोभाका गायक द्वय गणेशबहादुर गुरूङ र सुबे सन्तबहादुर गुरूङ, ठाडोभाका शुभचिन्तक रणबहादुुर गुरूङ, नरबहादुर गुरूङ, दिलबहादुर गुरूङ, ह. मिनबहादुर गुरूङ, ह. कृष्णबहादुर गुरूङ लगायतका व्यक्तिहरू जुट्नु भएको अध्यक्ष पहाडीले जानकारी दिनुभएको छ ।
त्यस्तै उक्त मन्दिर परिसरमा बसेर बत्ती बाल्नेहरूका लागि तीन सय रूपैयाँ शुल्क लिने गरेको सो समितिले जनाएको छ । समितिका अनुसार ठाडोबत्ती बाल्नेहरुका लागि छतको प्रवन्ध गरिएको छ भने बसेर बत्ती बाल्नेहरू खुल्ला आकाशमुनी आफू खुशी बस्ने ठाउँको प्रबन्ध गरी बस्ने गर्दछन् ।
प्रकाशित मिति २०७९ फाल्गुन ५, शुक्रबार १९:२५ गते