‘१२ बुँदे समझदारी पक्षधर एक ठाउँ उभिनुपर्छ’ : प्रधानमन्त्री प्रचण्ड

‘१२ बुँदे समझदारी पक्षधर एक ठाउँ उभिनुपर्छ’ : प्रधानमन्त्री प्रचण्ड

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ८ गते सोमबार ०६:४५

राप्रपा अध्यक्ष राजेन्द्र लिंदेलले पृथ्वीनारायण शाहको स्मृतिमा पुस २७ गते विदा घोषणा गर्न सकेकोमा मख्ख नपरे हुने भइसकेको छ कि, त्यो भन्दा खतरनाक विदा फागुन १ गते थप भइसकेको छ । यी सबै काण्डका बीच राप्रपाको सत्ता मोह अब भङ्ग हुन्छ हुँदैन प्रतिक्षाको विषय बनेको आम बुझाई छ ।

धर्म संकटमा राप्रपा

पोखरा– प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएर हस्ताक्षर गरेका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनु पर्नेमा जोड दिनु भएको छ । लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फागुन ८ गते त्यस्तो बताउनु भएको हो । प्रधानमन्त्रीको सो कथनले राजावादी दल दावी गर्ने राप्रपामा धर्म संकट उत्पन्न हुन गएको छ ।
प्रदेश बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । राजनीतिमा दूषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए, फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत मुलुकका समस्या समाधान गर्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’
आफूहरूले राष्ट्रपतिमा कुनै व्यक्तिको कुरा नगरेको भन्दै तीन ठूला दल एक ठाउँमा रहनुपर्ने धारणा राखेको उहाँले दोहोर्याउनु भयो । उहाँले राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प भएको पनि उल्लेख गर्नु भयो । ‘ठुला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन । राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ । हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ । तर, ठुला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रस्ट मान्यता छ’, प्रधानमन्त्री प्रचण्डको प्रष्टोक्ति थियो ।
प्रचण्डले दुई महिना जनताका बीचमा गएर उनीहरुको कुरा सुन्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं । त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिऔं, शहीद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं । उनीहरूको सुझावका आधारमा पार्टी पुनः र्निर्माण र रूपान्तर गरौं ।’ उहाँले कार्यकर्तालाई आह्वान गर्दै भन्नुभयो ।
राप्रपा धर्म संकटमा :
‘१२ बुँदे समझदारी’ दिल्लीमा तत्कालीन विद्रोही माओवादी र राजनीतिक मूलप्रवाहमा रहेका दलहरू नेपाली काँग्रेस, एमाले लगायतका दलहरूले गरेका हुन् । जसलाई कतिपयले ‘दोस्रो दिल्ली सम्झौता’ पनि भन्ने गरेका छन्– को जगमा टेकेर मुलुकमा गणतन्त्रात्मक र धर्मनिरपेक्ष बनाइएको हो । सरकारका नायक प्रचण्डले यस्तो भनिरहदा राप्रपा भने सरकारमा बस्ने कि नबस्ने धर्म संकटमा पर्न गएको छ । त्यसो त हिजोका दिनमा सो दलको नेतृत्व गर्नु हुने कमल थापाले पनि गणतान्त्रिक संविधानको शपथ खाएर उपप्रधानमन्त्री हुनुभएको हो । सो दलको आजका अध्यक्ष राजेन्द्र लिंदेलले पनि कमल थापा मार्ग नै पछ्याउँदै गरेको देखिन्छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिंदेलले पृथ्वीनारायण शाहको स्मृतिमा पुस २७ गते विदा घोषणा गर्न सकेकोमा मख्ख नपरे हुने भइसकेको छ कि, त्यो भन्दा खतरनाक विदा फागुन १ गते थप भइसकेको छ । यी सबै काण्डका बीच राप्रपाको सत्ता मोह अब भङ्ग हुन्छ हुँदैन प्रतिक्षाको विषय बनेको आम बुझाई छ ।

प्रकाशित मिति २०७९ फाल्गुन ८, सोमबार १८:४५ गते
हजुरको प्रतिक्रिया