कम्युनिष्टहरू राष्ट्रप्रति बफादार रैनछन् : दुर्गा प्रसाईं

कम्युनिष्टहरू राष्ट्रप्रति बफादार रैनछन् : दुर्गा प्रसाईं

एजेन्सी

@antaranganews

२०७९ फाल्गुण ८ गते सोमबार ०८:४०

प्रसाईंले थप भन्नुभयो, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने अभियान गर्दा मलाई कारबाही गर्छु भनेर तलबाट प्रदेशले सिफारिस गरेर पठाएपछि मैले पनि तपाईंहरूको केन्द्रीय सदस्य तपाईंहरू नै राख्नुहोस् भन्दिए । पार्टी छाड्ने निर्णय गरेँ ।

एमालेले कारबाही थाल्ने भएपछि पार्टीबाट राजीनामाको घोषणा

झापा– नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्यागको घोषणा गर्नु भएको छ । उहाँले एमाले छोडेको अनौपचारिक जानकारी सञ्चारमाध्यममार्फत गराउँदै कम्युनिष्टहरू राष्ट्रप्रति बफादार रैनछन् भन्ने दावी फागुन ७ गते गर्नु भएको हो ।
पूर्वराजासहित राजपरिवारलाई मञ्चमा राखेर महाअभियानको घोषणा गरेसँगै उहाँले पार्टी छाड्नु भएको हो । पार्टी छाडेको मौखिक जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई गराइसकेको बताउँदै उहाँले लिखित जानकारी गराउने तयारीमा रहेको समेत उल्लेख गर्नु भएको छ । प्रसाईंले पार्टीबाट अलग हुने निर्णयबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई माघ २९ गते साँझ नै जानकारी गराइसकेको समेत दावी गर्नु भएको छ । एमालेले प्रसाईंलाई २०७८ मंसिर २६ मा केन्द्रीय समितिमा मनोनीत गरेको थियो । उहाँलाई एमालेले केन्द्रीय सदस्यका अतिरिक्त उद्योग, वाणिज्य तथा आपूर्ति विभागको सहइन्चार्जको जिम्मेवारी दिएको थियो । यो विभागको इन्चार्ज मोती दुगड हुनुहुन्छ ।
उहाँले उक्त महाअभियान थालेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही गर्न सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफै एमालेबाट अलग हुने निर्णय गर्नु भएको हो । त्यसअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निकट मानिनु हुने प्रसाई दुई वर्षदेखि ओलीका विश्वासिला पात्र मानिन थाल्नु भएको थियो ।
राजनीतिका चतुर खेलाडीमध्ये अग्रह पंक्तिकै व्यक्तित्व मानिनु हुने उहाँ व्यवसायीसमेत हुनुहुन्छ । पार्टीले स्पष्टीकरण नमाग्दै पार्टीबाट बाहिरिनुको भएको हो । उहाँलाई एमालेले कारबाही गर्नु अघि नै पार्टी छाड्न हतार गर्नुको कारण बारेमा राखिएको जिज्ञासामा उहाँले भन्नुभयो, ‘देश बन्छ भन्ने आशा एवम् विश्वासले कम्युनिष्ट बनेको थिएँ । एमालेको केन्द्रीय सदस्य भएको दुई वर्षयता धेरै हेर्दै गएँ । रुखमा मान्छे झुन्डिएर मर्न थाले । लघुवित्त र सहकारीले गाउँ नाङ्गो बनायो । प्रेम आचार्यजस्ता मान्छेहरू आएर संघीय संसद भवन अगाडि आत्मदाह गरे । देशको ढुकुटी रित्याएर विदेशमा लगेर राखिएको छ । केही व्यापारीसँग नेताहरू मिलेका छन् । बैंक, वित्तीय संस्था, लघुवित्त र सहकारी ५५ जना व्यापारी र १० जना नेताको पकडमा छन् । जनता तावाबाट उम्केर भुङ्ग्रोमा परेजस्तो भएका छन् ।
समस्या सुनाउँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अँ, अँ मात्रै भन्नुहुन्थ्यो । जनताका समस्याभन्दा पनि ‘को राष्ट्रपति बन्ने ? को प्रधानमन्त्री बन्ने ?’ भन्नेमा मात्रै नेताहरू र नेपाली राजनीति घुमिरह्यो । विगत ३४ वर्षदेखि यही खेल हुँदै आएको छ । राष्ट्र, राष्ट्रियता संस्कृति र नागरिकहरूलाई जोगाउन एमाले छाड्ने निर्णय गरेको हुँ ।’
उहाँले थप भन्नुभयो, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने अभियान गर्दा मलाई कारबाही गर्छु भनेर तलबाट प्रदेशले सिफारिस गरेर पठाएपछि मैले पनि तपाईंहरूको केन्द्रीय सदस्य तपाईंहरू नै राख्नुहोस् भन्दिए । पार्टी छाड्ने निर्णय गरेँ । राष्ट्रप्रति कम्युनिष्ट बफादार रैनछन् । मैले त नागरिक बचाउने र राष्ट्र बचाउने अभियान गरेको हुँ । मैले देश बेच्ने अभियान गरेको होइन, मैले नराम्रो काम गरेको होइन ।’
स्थानीय पत्रकारहरूसँग प्रसाईंले काठमाडौं गएर राजीनामा बुझाउने बताउनु भएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन ८, सोमबार २०:४० गते
हजुरको प्रतिक्रिया