
दुराडाँडा– लमजुङको ऐतिहासिक थलो दुराडाँडामा आयोजना गरिएको कश्यप गोत्रीय अधिकारीहरूको जिल्ला भेला तथा वनभोज कार्यक्रमको भव्य तयारी गरिएको छ । दुराडाँडा यहाँका अधिकारी(ब्राह्मण)को नेतृत्वमा २००६ सालमा नै हलो जोतेर एकसाथ सामाजिक, आर्थिक, शैक्षिक एवम् राजनीतिक क्रान्तिको विगुल फुकिएको ऐतिहासिक थलो हो ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको जिल्ला समितिको आयोजनामा हरेक वर्ष हुने उक्त जिल्ला भेलाको यो छैटौं संस्करण हो । यस्ता भेला विभिन्न स्थानमा वर्षैपिच्छे स्थानान्तरण गरी गर्ने गरिएको छ । सो भेला यही फागुन १३ गते शनिबारका दिन विहान ११ः१५ बजे पाणिनी संस्कृति मावि, गुरुकुल आश्रमको प्रांगणमा शुरु गरिने तयारी गरिएको छ । तयारीको काम लगभग सकिएको निवर्तमान जिल्ला सदस्य श्रीप्रसाद अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार भेलामा दुराडाँडा बाहिरबाट १५० भन्दा बढी सहभागीहरु आउने आंकलन गरिएको छ । 
सो भेलामा ‘ब्राह्मणहरूको संस्कार संस्कृति’का बारेमा विशेष प्रवचन दिनका लागि दिननाथ पण्डीतलाई आमन्त्रित गरिएको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार पण्डितलाई ल्याउनका लागि दुराडाँडाकै सामाजिक व्यक्तित्व रामबाबु अधिकारीले जिम्मा लिनु भएको छ । पण्डित सानोठीमी क्याम्पसका प्राध्यापक हुनुका साथै सनातन संस्कृति एवम् ज्योतिष विज्ञानका ज्ञाता हुनुहुन्छ । उहाँले ती विषयमा ५० भन्दा बढी कृतिहरूको लेखन, सम्पादन एवम् प्रकाशन गर्नु भएको छ । सो कार्यक्रममा उक्त प्रवचन सुन्नका लागि अधिकारी बाहेकका बन्धुबान्धवलाई पनि आउन बाधा नपर्ने गरी खुल्ला गरिएको आयोजकको भनाई छ ।
पण्डितका साथमा उक्त भेलामा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका वरिष्ठ केन्द्रीय सदस्य सिताराम अधिकारी(धादिङ) तथा चन्द्रमणि अधिकारी(झापा), मीना अधिकारी(गोरखा) हुनुहुन्छ । यसैगरी, उक्त भेलामा लमजुङबाट प्रतिनिधित्व गरी केन्द्रीय सल्लाहकार रहनु भएका दामोदर अधिकारी, विश्व अधिकारी तथा केन्द्रीय सदस्य नवराज पहाडी सहभागी हुनुहुने प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीले जानकारी दिनु भएको छ ।
उक्त भेलाको तयारीका लागि स्थानीय (दुराडाँडा) क्षेत्रमा जिल्ला सदस्य पुष्प अधिकारी, निवर्तमान जिल्ला सदस्य श्रीप्रसाद अधिकारी, वंश प्रतिष्ठानका संस्थापक जिल्ला अध्यक्ष हरिभक्त अधिकारी, ईश्वरीप्रसाद अधिकारी, विप्लव अधिकारी, महेश अधिकारी आदि जुट्नु भएको केन्द्रीय सदस्य पहाडीले जानकारी दिनुभएको छ ।
सो भेलामा विगत वर्षझैं यो वर्ष पनि ८४ वर्ष पुग्नु भएका बा–आमाहरूको सम्मान, पिएचडी गर्ने बन्धुबान्धबहरूलाई सम्मान, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी सहित स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान, पत्रकार महासंघका जिल्ला अध्यक्षका साथै लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्षहरू क्रमशः परमेश्वर अधिकारी र अनुज अधिकारीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, एसईईमा सर्वोत्कृष्ठ अंक ल्याउन सफल एक बाबु र एक नानीलाई पुरस्कृति तथा अक्षयकोषमा कम्तिमा १० हजार रुपैयाँ प्रदान गर्नु हुने दाता महानुभावलाई सम्मान गरिने छ ।
यी बाहेक यो वर्षबाट नयाँ कार्यको थालनी गरिने भएको छ । त्यो हो वंशभित्रका सबैभन्दा निम्न आय भएका परिवारको पहिचान गरी त्यस्तो परिवारको कम्तिमा एक जना बाबु या नानीलाई छात्रवृत्ती प्रदान गर्ने घोषणा गरी उनीहरूलाई कम्तिमा कक्षा– १२ सम्म पढाउने प्रतिवद्धता जिल्ला समितिबाट गरिने भएको छ । यसका लागि वंश भित्रकै बन्धुबान्धबबाट स्रोतको खाजी गर्ने निर्णय समेत गरिएको प्रतिष्ठानका जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भयो । भेलामा दुराडाँडा बाहिरबाट आउनु हुने सहभागीहरुका लागि विहान ७ः४५ बजे सिउँडीबारबाट यौटा बस र ९ः४५ बजे सुन्दरबजार मिलनचोकबाट अर्को बस छुट्ने गरी व्यवस्था गरिएको पहाडीले जानकारी दिनु भएको छ ।
स्मरणीय छ, विगतका वर्षमा यस्ता जिल्लास्तरीय भेला तथा वनभोजका कार्यक्रम पहिलो वर्ष रुपाकोटमा, दोस्रो वर्ष उदीपुरमा, तेस्रो वर्ष खहरेमा, चौथो वर्ष भोटेओडारमा र गत वर्ष भारतेमा सम्पन्न भइसकेका छन् ।
प्रकाशित मिति २०७९ फाल्गुन १०, बुधबार १९:१२ गते