
दुराडाँडा– लमजुङको सुन्दरवजार नगरपालिका– ४ दुराडाँडामा आयोपजित निःशुल्क मुटु परीक्षण एक दिने शिविरमा ४४० जना लाभान्वित भएका छन् । सो शिविर खनिया बन्धु समाज लमजुङ– काठमाडौँ सम्पर्क समतिको आयोजना शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा उक्त निःशुल्क शिविर स्थानीय संस्कृति सदन माध्यमिक विद्यालयमा गरिएको हो ।
‘स्वास्थ्य परीक्षण गरौं, स्वस्थ जीवन बाचौं’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त शिविरमा ४४० जनाले सेवा लिएको शिविर व्यवस्थापन समितिका मदनराज खनियाले बताउनुभयो । उहाँका अनुसार शिविरमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक एवम् मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी, डा. अमृत बोगटी, डा. रिजु मानन्धर सहितको विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण सेवा दिनु भएको हो ।
उक्त अवसरमा मुटु विशेषज्ञहरूद्वारा परामर्श सहित इसिजी, इको, ब्लड प्रेसर र सुगर परीक्षणका कार्य समेत गरी निःशुल्क औषधि समेत वितरण गरिएको मदनराज खनियाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा सञ्चालनका लागि सुन्दरवजार– ४ को वडा कार्यालय, संस्कृति सदन माविका साथै दुराडाँडा स्वास्थ्य चौकीको समेत सहयोग रहेको थियो ।
उक्त शिविरमा संस्कृति सदनका छात्रछात्राले स्वयम्सेवकको सेवा दिएका थिए ।
गाउँमै विशेषज्ञ सेवा सहित निःशुल्क परीक्षण सेवा पाएपछि स्थानीयले खुशी व्यक्त गरेका थिए । यसअघि फागुन ८ गते उक्त टिमले लमजङको घलेगाँउमा पनि निःशुल्क मुटु परीक्षण शिविरको आयोजना गरेको थियो ।
सो शिविरमा १२५ जनाले सेवा लिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक एवम् मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन १२, शुक्रबार ०५:५४ गते