अफ्रिकन स्वाईन फिवरका कारण वंगुरका गोठ रित्तिन थाले : लाखौं नोक्सानी, किसानहरू चिन्तित

अफ्रिकन स्वाईन फिवरका कारण वंगुरका गोठ रित्तिन थाले : लाखौं नोक्सानी, किसानहरू चिन्तित

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण १५ गते सोमबार ०८:४७

जिल्लामा पहिलो पटक सो रोगको संक्रमण पुष्टि भएको हो । सोसँगै बेसीशहर बाहिरका क्षेत्रमा वंगुर विक्री वितरण गर्नमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले फागुन १५ गतेबाट रोक लगाएको छ ।

सावधानी अपनाउन र बेसीशहर बाहिर विक्री वितरण गर्न भेटेरिनरी अस्पतालद्वारा रोक

बेसीशहर– लमजुङमा अफ्रिकन स्वाईन फिभरका कारण वंगुरका फारम रित्तिन थालेका छन् । जिल्लामा पहिलो पटक सो रोगको संक्रमण पुष्टि भएको हो । सोसँगै बेसीशहर बाहिरका क्षेत्रमा वंगुर विक्री वितरण गर्नमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले फागुन १५ गतेबाट रोक लगाएको छ ।
बेसीशहर नगरपालिका– ६ र ८ मा ७८ वटा बंगुरहरू मरेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको हो । सो रोगका कारण आज साँझसम्म करिब एक सय वंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा.रुपेश श्रेष्ठले वतायनु भयो । उहाँका अनुसार सबैभन्दा धेरै बेसीशहर– ६ निवासी मानध्वज आलेमगरको मिलाप बंगुर फार्ममा रहेका ३८ वटा माउ र ३० वटा पाठपाठी मरेका छन् । उहाँले भन्नुभयो, ‘यौटा माउ बंगुर करिब डेढ क्विन्टल तौलका थिए, तिनको मूल्य प्रतिगोटा ४५ हजार अनुमान गरिएको छ ।’ त्यस्तै, बंगुरका पाठपाठीको मूल्य प्रतिगोटा छ हजार रुपैयाँ पर्ने श्रेष्ठले जानकारी दिनु भयो । यसप्रकार व्यवसायिक किसानहरूको लाखौं रुपैयाँको नोक्सान हुन पुगेको छ । किसानमा ठूलो चिन्ता छाएको छ ।
बेसीशहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका वंगुरमा घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने महामारीजन्य अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको छ । बेसीशहर नगरपालिका– ६ र ८ मा बंगुरहरू मर्न थालेपछि ती वंगुरको मृत्युको कारण पत्ता लगाउन परीक्षण गरिएको थियो । सो परीक्षणबाट अफ्रिकन स्वाइन फिभरको संक्रमण भएको पत्ता लागेको हो भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा.रुपेश श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार जिल्ला स्थित भेटेरिनरी अस्पतालमा ¥यापिट एन्टी जोबाट परीक्षण गर्दा पनि सो रोगको पुष्टि भएको थियो । उहाँले भन्नुभयो, ‘दुवै वडाका चार वटा बंगुर फार्ममा मात्रै हालसम्म ७८ वटा व्यवसायिक रुपमा पालिएका बंगुर स्वाईन फिभर संक्रमणबाट मरेका छन् ।’
व्यवसायिक किसानहरूले आफ्ना फार्ममा पालेका बंगुरहरू धमाधम मर्न थालेपछि त्यसको परीक्षणका लागि बेसीशहर– ८ का फार्ममा पालिएका बंगुरको नमुना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौँमा पठाइएको थियो । उक्त परीक्षणका क्रममा स्वाइन फिभर पुष्टि भएको डा. श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘त्यस्तो पुष्टि भएसँगै अन्य स्थानमा पनि संक्रमण फैलन सक्ने भएको हुँदा सुरक्षाका विधिहरू अपनाउन अनुरोध गरिएको छ ।’ बेसीशहर बाहिर विक्री वितरण नगर्न विज्ञ केन्द्रबाट सार्वजनिक सूचना नै जारी गरिएको श्रेष्ठले उल्लेख गर्नुभयो ।
सो रोग भाइरसका कारणबाट हुने र ती भाइरस लामो समयसम्म बाँच्न सक्ने भएको हुँदा संक्रमण अन्यत्र समेत फैलिने सम्भावना अत्यधिक रहेको पशु विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठ बताउनु हुन्छ । उहाँका अनुसार विरुद्ध हालसम्म कुनै खोप वा औषधि उपलब्ध नभएको र बंगुरमा स्वाइन फिभरको रोगी बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलन सक्ने स्थिति छ । त्यसैले बेसीशहर नगरपालिका भित्र विक्री वितरणमा रोक लगाइएको उहाँको भनाई छ ।
पशु सेवा विज्ञ केन्द्रले संक्रमण फैलन नदिन फार्ममा जैविक सुरक्षाका विधिहरू अपनाउने तथा वंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई गर्न, निसंक्रमण गर्ने र वंगुरहरु मरेमा राम्रोसँग खाडलमा गाड्न समेत अनुरोध गरेको छ । साथै विक्री वितरणमा पूर्ण प्रतिवन्ध लगाएको सूचना जारी गरेको छ ।
वगुंरमा यो रोगको संक्रमण भएमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने जस्ता लक्षण देखा पर्छ । बान्ता गर्ने, छेर्ने, छट्पटाउने र बथानमा एकै पटक ठूलो संख्यामा मर्ने हुदाँ यस्ता लक्षण देखिएमा सम्वन्धि स्थानीय तहको पशु सेवा शाखा तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तत्काल सम्पर्क गर्न भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ ।
नोक्सानको थप विवरण आउन बाँकी छ । सो विवरण सहित थप जानकारी भोलि प्रकाशन गरिने छ ।

प्रकाशित मिति २०७९ फाल्गुन १५, सोमबार २०:४७ गते
हजुरको प्रतिक्रिया