काठमाडौँ– अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराले जेलमुक्त गर्न गरेको आदेशअनुसार उनी फागुन १५ गते छुटेका हुन् ।
उनी उपर लगाइएको बलात्कारको अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई फागुन १४ गते सफाइ दिएको हो । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर उनले आत्मसमर्पण गरेका थिए । उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।
अभिनेता शाहलाई यसअघि नवलपुर जिल्ला अदालतले बाल यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । बलात्कारको अभियोग दर्ता भए पनि नवलपुर जिल्ला अदालतले बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरेको थियो । तर तनहुँ जिल्ला अदालतले शाहलाई दुव्र्यवहार अभियोगमा निर्दोष ठहर गरेको थियो । एकै व्यक्तिले अभिनेता शाहविरुद्ध दुई वटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् । सुटिङका क्रममा नवलपुरमा मदिरा खुवाएर बलात्कार गरेको भन्दै २०७८ फागुन १५ गते प्रहरीमा जाहेरी दिएका थिए । नवलपुरमा जाहेरी दिएकै दिन शाहले तनहुँ प्रहरीमा आत्म समर्पण गरेका थिए ।
शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रिहा भए जगत्तै शुभचिन्तकहरूले उनलाई खादा र माला लगाएर पलको स्वागत गरेका थिए ।
अभिनेता शाहले सफाई पाएर तनहुँको कारागारमा हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । समर्थकको भीड बढ्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
तनहुँ कारागारबाट रिहा भएका अभिनेता पल शाहले कष्टको समयमा आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । बहिनी रोशनीको साथमा कारागारबाट बाहिरिँदै गर्दा अभिनेता शाहले उपस्थित सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पलले भने– ‘सबैलाई धन्यवाद ! अहिलेलाई यति मात्र भन्न चाहन्छु ।’
छोटो कपाल र कालो ज्याकेटमा कारागार छाडेका पल दमौलीबाट पोखरा लागेका छन् । उनी आज काठमाडौँ पुग्नेछन् ।
प्रकाशित मिति २०७९ फाल्गुन १६, मंगलवार ०९:०८ गते