टहरा भित्र जिउँदै जलेर ९१ वर्षीया बृद्धाको निधन

टहरा भित्र जिउँदै जलेर ९१ वर्षीया बृद्धाको निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण १६ गते मङ्गलबार ०४:०१

चोखोनितो गरेर बस्ने, अरुले छोएको, पकाएको नखने बानी थियो, बृद्धाको आफूले मात्रै पाकाएको खाने बानी रहेको स्थानीयले बताए । टहरामा आगो लागेपछि छिमेकीले गएर राती अबेर आगो निभाए पनि उहाँलाई सकुशल उद्दार गर्न नसकेको उनीहरूले बताएका छन् ।

रातको समयमा जाडो छल्न बालेको आगोले आगलागी भएको अनुमान

दोर्दी(लमजुङ)– लमजुङमा एक ९१ वर्षीया एकल बृद्धाको टहरा भित्र जिउँदै जलेर निधन भएको छ । रातको समयमा सुतिरहेका बेला अचानक टहरामा आगलागी भएपछि टहरा भित्र सुतिरहेकी उनको टहरोसंगै जलेर मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै फागुन १६ गते प्रहरीले पुष्टि गरेको छ ।
जिल्लाको दोर्दी गाउँपालिका– ८, खिन्चोक बेसीको एक टहरामा बस्दै आएकी ९१ वर्षीया एकल बृद्ध महिला हाँगी कामीको जलेर टहरोमा आगलागी हुँदा त्यसै भित्र जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । प्रहरीका अनुसार हिजो पानी परेपछि बढेको जाडो छल्नका लागि आगो फुकेर खाटमा सुतेको अवस्थामा निदाएको र त्यसै समयमा आगलागी भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । अँगेनामा बालेको आगो दाउरामा सल्कदै– सल्कदै उनी सुतेको खाटमुनी राखेका दाउरामा सल्किए पछि टहरामा आगलागी भएको अनुमान गरिएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार मृतक मकानसिंह कामीकी दोस्रो श्रीमती हुन् । आफ्ना सन्तान केहीको मृत्यु र कोही पनि साथमा नबसेपछि उहाँ एक्लै बस्दै आउनु भएको थियो ।
जेठीपट्टीका नातिनातिना गाउँमा रहे पनि हाँगी एक्लै बस्दै आएको बुझिएको छ ।
प्रहरीका अनुसार गए राती ९ बजेतिर आगलागी भएको अनुमान गरिएको छ । जस्ता र काठले बनाएइको टहरा सबै जलेको घटनास्थल पुग्नु भएका प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट मानिसको शरीरका केही टुक्रामात्र फेला परेको र त्यसलाई पनि पोष्टमार्टमको लागि जिल्ला अस्पलातमा पठाइएको छ ।
चिसो बढेपछि आगो ताप्न आगो फुकेकोमा हावा चल्दा खाटमुनी राखेका दाउरामा आगो सल्केको र खाटमा सुतीरहेकी हाँगी कामी जलेको देखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगलागीपछि उनका छिमेकी र चिती प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आगो निभाउने काम गरे पनि ९१ वर्षीया बृद्धा उनलाई भने बचाउन सकिन ।’
आफ्नो समेत दोस्रो घरजम गर्नु भएकी मृतक बृद्धातर्फ श्रीमानबाट सन्तान नभएका कारण एक्लै बस्दै आएको उनका छिमेकीहरूको भनाई छ । जेठीपट्टीका सन्तान छुट्टीभिन्न भएको र श्रीमानको पनि मृत्यु भएपछि उहाँ एक्लै बस्दै आउनु भएको थियो ।
उहाँको चोखोनितो गरेर बस्ने, अरुले पकाएको, छोएको नखने बानी थियो, आफूले मात्रै पकाएको खाने बानी रहेको स्थानीययले बताए । टहरामा आगो लागेपछि छिमेकीले गएर राती अबेर आगो निभाए पनि उहाँलाई भने सकुशल उद्दार गर्न नसकेको उनीहरूले बताएका छन् ।
आगलागीबाट घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा, धान, चामल, मकैलगायत खाद्यान्न सबै जलेको इलाका प्रहरी भोटेओडारका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले बताउनु भयो । उहाँका अनुसार सो आगलागीबाट एउटा पाठा र एउटा भेडा पनि घाइते भएका छन् । आगलागी भइरहेको समयमा गाउँलेहरू उहाँकोमा पुगेर उहाँद्वारा पालिएका भैंसी, पाठा र भेडाको दाम्लो खोलिदिएको बताएका थिए ।

प्रकाशित मिति २०७९ फाल्गुन १६, मंगलवार १६:०१ गते
हजुरको प्रतिक्रिया