शताब्दी पुरुषलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ साथमा अन्य दुई पुरस्कार घोषणा

शताब्दी पुरुषलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ साथमा अन्य दुई पुरस्कार घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण १६ गते मङ्गलबार ०६:२८

डा. वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा यी तीन वटै पुरस्कार समर्पण गरिने कार्यक्रम छ ।

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

काठमाडौं– शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गरिने भएको छ । नइ प्रकाशनद्वारा त्यस्तो पुरस्कार दिने घोषणा गरिएको हो ।
नेपाली भाषा साहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा समर्पित नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याएको योगदानको हार्दिक कदर गर्दै नइ प्रकाशनबाट वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय भएको नइ प्रकाशन सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले त्यस्तो निर्णय गरेको हो ।
यसैबीच, वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’
यो वर्षको ‘वानीरा प्रज्ञापुरस्कार’ सुप्रसिद्ध साहित्यकार वैरागी काइँला र सुप्रसिद्ध साहित्यकार गोपाल पराजुलीलाई प्रदान गरिने भएको छ ।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवद्र्धनमा अति विशिष्ट योगदानका निम्ति सुप्रसिद्ध साहित्यकार वैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको फागुन १६ गते निर्णय गरिएको छ ।
उक्त ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपैयाँ रहेको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीका सम्मानमा उक्त पुरस्कार स्थापना गरिएको हो ।
यसैगरी, सुप्रसिद्ध साहित्यकार गोपाल पराजुलीलाई पचास हजार रुपैयाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर उत्तर आधुनिक तथा उत्तरआधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तकका साथै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदानका निम्ति उहाँलाई सो पुरस्कार प्रदान गरिन लागेको नइ प्रकाशन सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।
प्रसाईले भन्नुभयो, ‘डा. वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा यी तीन वटै पुरस्कार समर्पण गरिने कार्यक्रम छ ।’

प्रकाशित मिति २०७९ फाल्गुन १६, मंगलवार १८:२८ गते
हजुरको प्रतिक्रिया