भूलभूले(लमजुङ)– प्रभात शान्तिपूर्ण माध्यामिक विद्यालयले हीरक जयन्तीको तयारीमा जुटेको छ । मस्र्याङदी गाउँपालिका– ८ वडागाउँमा रहेको प्रभात शान्तिपूर्ण माविले विद्यालय स्थापनाको ६७ वर्ष पुरा भएको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरेको हो ।
उक्त विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त वैठकले आउँदो चैत्र १२ गतेदेखि १४ गतेसम्म विविध कार्यक्रमका साथ हीरक जयन्ती मनाउने निर्णय गरेको सो विद्यालयका प्रधानध्यापक कृष्णप्रसाद घिमिरेले बताउनु भयो । उहाँका अनुसार हीरक जयन्तीलाई सफल बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर घलेको संयोजकत्वमा १०५ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । उहाँले भन्नुभयो, ‘‘सो दिवसलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १५ वटा उपसमिति समेत गठन गरी तयारीलाई अघि बडाइएको छ । ती हुन्, प्रचारप्रसार उपसमिति, आर्थिक संकलन उपसमिति, स्मारिका प्रकाशन उपसमिति, इतिहास खोज तथा अनुसन्धान उपसमिति, प्रतिवेदन उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति लगायत रहेका छन् ।
हिरक जयन्तीलाई सफल बनाउन तयारीका लागि फागुन १३ गते विद्यायलय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयका पूर्व विद्याथी तथा उपजहरू र स्थानीय बुद्धिजीवी सहितको संयुक्त भेला सम्पन्न भएको छ । सो भेलामा विद्यालयका पूर्वप्रधानाध्यपक एवं सल्लाहकार जीतबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीप्रसाद गुरुङ, विद्यालयका पूर्व विद्याथी एवं वेसीशहर नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल विश्वकर्मा र सरोज विश्वकर्माले पछिल्लो समय सरकारी विद्यालयको गुणस्तार खस्किदै गएका कारणले बर्षेपिच्छे विद्यार्थी संख्या घट्दै सरकारी गएकोले सरकारी विद्यालयको अवस्था चिन्ताजनक रहेको हुदा त्यो स्थिति चिर्नका लागि अल्प र दीर्घकालीन कार्यक्रम बनाउनु पर्नेमा एक स्वरले जोड दिनुभएको थियो । उहाँहरूले विद्यालय सुधारका लागि काम गर्न पनि पैसाको अवाश्यक पर्ने भन्दै हीरक जयन्तीलाई सफल बनाई धेरै भन्दा धेरै रकम संलन गरि सरकारी विद्यालयको शैक्षिक गुणस्तर उकास्न योजनाबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।
हीरक जायन्तीको उद्देश्यमा प्रकाश पार्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण घलेले सित उबाएर घैला भर्ने अभियानको रुपमा हीरक महोत्सवमार्फत आर्थिक संलकन गरी विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने रहेको छ भन्नुभयो । उहाँँका अनुसार सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकहरूको आकर्षण बढाउने, कम्तीमा प्रावि तहसम्म अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने, कक्षा– ४ देखि माथी कम्प्युटर विषयलाई अनिवार्य गर्ने र व्यवसायिक कृषि शिक्षा सञ्चालन गर्ने उद्धेश्य पूर्तिका कार्यक्रमहरू राखिएको बताउनुभयो । उहाँका अनुसार दिवसलाई सफल बनाउन विभिन्न स्थानमा रहेका पूर्व विद्यार्थी, उपज तथा शुभेच्छुक शुभचिन्तकहरूसंग विभिन्न चरणमा छलफल थालिएको छ ।
सो विद्यालय वि.सं २०१२ साल चैत्र १२ गते तत्कालीन राष्ट्रिय पञ्चायतका स्थायी समिति सदस्य स्व. सुवेदार पूर्णबहादुर गुरुङको विशेष पहलमा स्थापना गरिएको विद्यालयका प्रधानाध्यपक कृष्णप्रसाद घिमिरेले बताउनु भयो । उहाँका अनुसार त्यसैले स्वर्गीय गुरुङको सम्मानका लागि हीरक जयान्तीको अवसरमा गुरुङको सालिक अनावरण गर्ने तयारी छ । उहाँले भन्नुभयो, ‘‘हीरक जयन्तीको अवसरमा चैत्र १२ गते प्रभातफेरी, कार्यक्रम उदघाटन, प्रतिबेदन प्रस्तुत, शुभकामना मन्तव्य, चन्ददातालाई सम्मान, विविध सांस्कृतिक कार्यक्रम, विभिन्न भेषभुषा झाँकी प्रदर्शनी लगायतका कार्यक्रम गर्ने तयारी रहेको छ ।
दिवसको आकर्षणका रुपमा चैत १३ गते विद्यालयस्तरीय नृत्य प्रतियोगिता, स्थानीय आमा समूहका नृत्य प्रस्तुती, स्थानीय तथ राष्ट्रिय कलाकारहरूको समेतको प्रस्तुतीका कार्यक्रम तय भएको उहाँको भनाई छ । त्यस्तै, १४ गते जग्गदाता तथा अक्षयकोषदाता सम्मान, नृत्य प्रस्तुती, दिवसको समापनका साथ साझाँ दिपावली गरिने कार्यक्रम तय भएको प्रअ घिमिरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७९ फाल्गुन १७, बुधबार ०५:३४ गते