चामे(मनाङ)– मनाङ जिल्लाका पशुहरूमा पूर्णखोप कार्यक्रम लागू हुने भएको छ । त्यसका बारेमा पालिकास्तरीय अभिमुखीकरणको एक दिवसीय कार्यक्रम फागुन १६ गते गरिएको हो ।
नासों गाउँपालिकामा गरिएको सो कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङको आयोजनामा भएको हो । गाउँपालिकाका अध्यक्ष धनवहादुर गुरुङको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा आ व ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशुमा पूर्णखोप कार्यक्रमको बारेमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले संक्षिप्त जानकारी दिनु हुँदै सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो ।
सो अवसरमा पूर्णखोपको कार्यविधि, खोप किन लगाउने, यसमा जनप्रतिनिधिहरूको भूमिका, कृषकहरूको भूमिका, प्राविधिकहरूले खोप लगाउदा अपनाउनु पर्ने सतर्कता, के कस्ता कार्य तथा सूचक पुरा गर्नाले पूर्णखोप पालिका घोषणा गर्न सकिन्छ, खोपले पशु उत्पादनमा पुर्याउने योगदान आदि विविध विषयमा पशु चिकित्सक तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले कार्यपत्रमार्फत जानकारी दिनु भएको थियो । पालिकास्तरीय अभिमुखिकरणको साथ साथै सवै वडाहरूमा वडाध्यक्षको अध्यक्षतामा सो वडाका कृषकहरूको सहभागितामा पशुमा पूर्ण खोप कार्यको अभिमुखिकरण पशुपन्छी तथ्याङ्क अध्यावधिक जस्ता कार्यक्रम सञ्चालन गरिने कार्यक्रम रहेको समेत प्रमुख कुसुमले बताउनु भयो ।
पालिकास्तरीय अभिमुखिकरण कार्यक्रममा ९ वटै वडाका वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू, गाउंपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरू, आर्थिक विकास समितिका संयोजक लगायतका ३५ जनाको सहभागिता थियो ।
छलफलको लागि फ्लोर ओपन हुंदा पूर्णखोपको विषयमा छलफल हुनुको अतिरिक्त सहभागीहरूले जिज्ञारा राख्दै सेवाको अपेक्षा गरेका थिए ।
– पशु संख्याको आधारमा राखिएको अनुदान कार्यक्रममा कार्यविधि परिवर्तन गरिनु पर्ने ।
– मनाङमा छ मासे रोगको समस्या बढी आउने सो समस्या न्यूनीकरण गर्न इन्टेरोटक्सेमिया रोग विरुद्द पूर्ण खोपको कार्यक्रममा समावेस गरिनु पर्ने ।
– पशु उपचारमा प्राविधिकको सहज पंहुच हुनुपर्ने ।
– मनाङ जिल्लाको पशुपालनमा कृषकको सफलताको कथा आउनु पर्यो ।
– कार्यक्रमको चयन गर्दा सवै तहका सरकारको समन्वय गरिनु पर्ने ।
– ए आइ कार्यक्रमको समन्यय विज्ञ केन्द्रवाट हुनु पर्ने ।
– दाना वनाउने मेशिनको ब्यव्थापन अनुदानको ब्यवस्था ।
– अनुदानको रुपमा वितरण हुने उच्चस्तरका भाले पशु प्रत्येक वर्ष एक ठाउंँबाट अर्को ठाउंँमा लाने र ल्याउने गरी हाडनाताबाट हुने प्रजनन नियन्त्रण गर्नु पर्ने ।
समापन व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष धनवहादुर गुरुङले कुनै पनि कार्य सफलतापूर्वक सम्पन्न गर्न योजना राम्रो बन्नु पर्नेमा जोड दिदै वास्तविक कृषकमा अझै पुश तथा कृषिका कार्यक्रम पुग्न नसकेको औल्याउनु भयो । उहाँले टाठावाठाको हातमा मात्र कार्यक्रम पुग्ने गरेको हुंँदा यसप्रति सबै सरोकारवालाको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिनु भयो ।
स्थानीय तहका विषयगत शाखाबाट समयमा पालिकामा प्रगति प्रितवेदन आउनु पर्ने उहाँले बताउनु भयो । कार्यक्रम नतिजा मुखी हुनु पर्ने र वास्तविक कृषककोका कार्यक्रम पुग्न टोल टोल, वस्ति वस्तिमा पुगेर कृषकको पहिचान गर्नु पर्ने जस्ता विषयमा टिप्पणी गर्नुभएको थियो । उहाँले पूर्ण खोप कार्यक्रम कृषकको लागि अति आवश्यक रहेको र यो कार्यक्रम सञ्चालनका लागि पालिकाबाट पूर्ण सहयोग र स्वीकृत दिने आश्वासन दिनु भयो ।
प्रकाशित मिति २०७९ फाल्गुन १७, बुधबार १०:२९ गते