बेसीशहर– लमजुङ जिल्लामा आयोजना गरिएको शिक्षक हाजिरीजवाफ प्रतियोगिता र विद्यार्थी वक्तृत्वकला प्रतियोगिता फागुन १७ गते सम्पन्न भएको छ । दुवै प्रतियोगितामा पाँच पाँच टिमले भाग लिएका थिए । ती प्रतियोगितामा क्रमशः मस्र्याङदी र दोर्दी गाउँपालिका पहिलो भए ।
शिक्षक हाजिरीजवाफ प्रतियोगितामा मर्स्याङदी गाउँपालिका पहिलो, दूधपोखरी गाउँपालिका दोस्रो र दोर्दी गाउँपालिका तेस्रो भएका थिए । यसैगरी, विद्यार्थी वक्तृत्वकलामा लक्ष्मीनारायाण मावि दोर्दी गाउँपालिकाका अंशु खत्री पहिलो, बालकल्याण मावि बेसीशहरका किस्मत अधिकारी दोस्रो र आदर्शबाल मावि सुन्दरबजारका सन्तोष पाण्डे तेस्रो भएको सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले बताउनु भयो ।
‘हाम्रो शिक्षक, राम्रो शिक्षक, विद्यार्थीको नजरमा शिक्षक’ विषय वक्तृत्वकलाका लागि दिइएको शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख वीरबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार ती दुवै प्रतियोगितामा पाँच÷पाँच टिमले भाग लिएका थिए ।
जिल्लास्तीय अर्थात अन्तर पालिकास्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगिता र विद्यार्थी वक्तृत्वकला प्रतियोगिता तथा शिक्षक र विद्यार्थीको छुट्टा छुट्टै नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । यहाँ स्थित जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गरिएका ती प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले एक कार्यक्रमका बीच आज उदघाटन गर्नुभएको हो ।
दुई दिने सो प्रतियोगितामा पहिलो दिन शिक्षक हाजिरीजवाफ प्रतियोगिता र विद्यार्थी वक्तृत्वकला प्रतियोगिता आज सञ्चालन गरिएको थियो । त्यस्तै नृत्य प्रतियोगिता भोलि १८ गते सञ्चालन गरिने भएको छ । ती प्रतियोगिता शिक्षा विकास तथा समन्वय इकाई र समाजिक विकास कार्यालयको संयुक्त आयोजनामा गरेका हुन् । ती सबै प्रतियोगितामा जिल्लामा जित्नेहरूलाई प्रदेशमा हुने प्रतियोगितामा भाग लिन पठाइने भएको आयोजकको भनाई छ ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बीरबहादुर गुरुङको अध्यक्षतामा ती प्रतियोगिताका उदघाटन कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्तराज गिरी, शिक्षक युनियनका जिल्ला अध्यक्ष तीर्थराज न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सामाजिक विकास कार्यालयमा प्रमुख दिनेश पौडेलले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले भन्नुभयो, ‘प्रतियोगिताका विजेताहरू पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः पाँच, चार र तीन हजार रुपैयाँमा २५ प्रतिशत कर कट्टा गरी पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।’
प्रकाशित मिति २०७९ फाल्गुन १७, बुधबार १९:५४ गते