
बेसीशहर– लमजुङमा आयोजित शिक्षक र विद्यार्थीको नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम बेसीशहरमा फागुन १८ गते सञ्चालन गरिएको पालिकास्तरीय विद्यार्थी नृृत्य प्रतियोगितामा दोर्दी गाउँपालिका पहिलो भएको भने शिक्षकतर्फको सोही प्रतियोगितामा मर्स्याङ्दी गाउँपालिका पहिलो भएको हो ।
जिल्ला शिक्षा तथा समन्वय इकाई लमजुङ र सामाजिक विकास कार्यालय लमजुङको संयुक्त आयोजनामा सो प्रतियोगीतामा सञ्चालन गरिएको हो । विद्यार्थीतर्फको प्रतियोगितामा सुन्दरबजार नगरपालिका दोस्रो भयो भने क्व्होलासोँथार गाउँपालिका तेस्रो भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गरिएको प्रतियोगितामा बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाले सान्त्वना स्थान हासिल गरेको निर्णायक समितिका संयोजक एवम् लोक तथा दोहोरी गीत प्रतियोगितामा जिल्ला अध्यक्ष अनुज अधिकारीले जनाकारी दिनु भयो । उहाँका अनुसार पहिलो हुने टिमले १३५.५ अंक दोस्रो हुने टिमले १३४ अंक र तेस्रो हुने टिमले १२७ अंक ल्याएका थिए । यसैगरी, सान्त्वना स्थान हासिल गर्ने दुई टिमले क्रमशः १२६.५ र १२४.५ अंक ल्याएका थिए । 
विद्यार्थी नृत्य प्रतियोगितामा जिल्लाका आठमध्ये ५ वटा पालिकाले मात्रै भाग लिएका थिए । सो प्रतियोगितामा भाग नदिनेमा मध्यनेपाल र राइनास नगरपालिका तथा दूधपोखरी गाउँपालिका भाग लिन नआएको बुझिएको छ । ती चारवटै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार रुपैयाँ पुरस्कारमा २५ प्रतिशत कर कट्टा गरी प्रदान गरिएको आयोजकको भनाई छ ।
त्यस्तै, शिक्षक नृन्य प्रतियोगितामा मर्स्याङ्दी गाउँपालिका पहिलो र बेसीशहर नगरपालिका दोस्रो भएको निर्णायक समितिका संयोजक एवम् लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकराीले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमले क्रमशः १३७.५ अंक र १३५.५ अंक ल्याएका थिए ।
सो प्रतियोगितामा ८ पालिकाले भाग लिनु पर्नेमा मात्र दुई टिमले भाग लिएको आयोजकको भनाई छ । आयोजकका अनुसार अन्य पालिकाहरू सुन्दरबजार, मध्यनेपाल र राइनास नगरपालिका तथा दूधपोखरी, दोर्दी र क्ब्होलासोंथर गाउँपालिकाले भाग लिन आएनन् । सो प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ५ हजार, तथा दोस्रो हुने टिमलाई नगद ४ हजार रुपैयाँ पुरस्कार राशिमा २५ प्रतिशत कर कट्टा गरी विजयीहरूलाई प्रदान गरिएको जिल्ला शिक्षा तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार जिल्ला स्तरीय प्रतियोगीतामा प्रथम भएका पालिकालाई फागुन २६ र २७ गते पोखरामा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय प्रतियोगीतामा सहभागी गराइने छ ।
विजेताहरूलाई जिल्ला शिक्षा तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङ र सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो ।
दुई दिने उक्त कार्यक्रममा पहिलो दिन शिक्षक हाजिरिजवाफ प्रतियोगिता र विद्यार्थीहरूको वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले उदघाटन गर्नु भएको प्रतियोगिताको उदघाटन सत्र जिल्ला शिक्षा तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सो अवसरका प्रमुअ जिल्ला अधिकारी वसन्तराज पुरी, बेसीशहर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवाल, शिक्षक महासंघका जिल्ला अध्यक्ष तिर्थराज न्यौपानेलगायतको सहभागिता थियो ।
प्रकाशित मिति २०७९ फाल्गुन १९, शुक्रबार २१:२१ गते