नवौं सुन्दरबजार महोत्सवमा स्थानीय कलाकारद्वारा आफूहरूलाई उपेक्षा गरिएको व्यापक गुनासो

नवौं सुन्दरबजार महोत्सवमा स्थानीय कलाकारद्वारा आफूहरूलाई उपेक्षा गरिएको व्यापक गुनासो

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २० गते शनिवार ०५:१५

उक्त महोत्सव ठेक्कामा सञ्चालन गरिएका कारणले पनि जिल्लामा दुःख गरिएका कलाकार उपेक्षित भएको भन्दै आपत्ति व्यक्त गरिएको छ । यसैगरी, केही कलाकारको स्विकृति अर्थात पूर्वसूचना बेगर फोटो राखिएको प्रति समेत असन्तुष्टि व्यक्त गरिएको छ ।

लोकदोहोरी प्रतिष्ठानको जिल्ला शाखाद्वारा विज्ञप्ति जारी गरी आयोजकको ठेकेदारी रबैयाको विरोध

सुन्दरबजार(लमजुङ)– लमजुङमा यतिबेला नवौं सुन्दरबजार बजार महोत्सव चलिरहेको छ । त्यो महोत्सवमा स्थानीय कलाकारद्वारा उपेक्षा गरिएको व्यापक गुनासो आएको छ । महोत्सव ठेक्कामा सञ्चालन गरिएको हुँदा स्थानीय कलासंस्कृति ओझेलमा परेको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखाले फागुन २० गते आपत्ती व्यक्त गरेको छ ।
उक्त महोत्सवको आज तेस्रो दिन हो । सो महोत्सवमा आएर केही राष्ट्रिय कलाकारले आएर प्रस्तुति दिएर फर्किएको, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जिम्मेवार पदमा रहेकाहरूले समेत जिल्ला शाखामा सम्पर्क नगरी फर्केकोप्रति पनि शाखा रुष्ट भएको अभिव्यक्ति प्रेस विज्ञप्तिमा आएको छ । साथै, उक्त महोत्सव ठेक्कामा सञ्चालन गरिएका कारणले पनि जिल्लामा दुःख गरिएका कलाकार उपेक्षित भएको भन्दै आपत्ति व्यक्त गरिएको छ । यसैगरी, केही कलाकारको स्विकृति अर्थात पूर्वसूचना बेगर फोटो राखिएको प्रति समेत असन्तुष्टि व्यक्त गरिएको छ । यसबारेमा बुझ्नका लागि महोत्सव आयोजक मूल समारोह समितिका सचिव एवम् सचिवालय तथा सांस्कृति उपसमितिका संयोजक खेम गुरुङसँग सम्पर्क गर्दा उहाँले फोन काट्नु भएको हुँदा आयोजक समितिको प्रतिक्रिया राख्न पाइएन । स्मरणीय छ, संयोजक खेम गुरुङ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङ शाखाको पूर्वजिल्ला अध्यक्ष समेत हुनुहुन्छ । 
प्रस्तुत छ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा लमजङका अक्षक्ष अनुज अधिकारीद्वारा जारी विज्ञप्तिको पूर्ण विवरण– ‘ठेक्कामा चलेका मेला– महोत्सव न परे । न स्थानीय कलासंस्कृतिको प्रवद्र्धन गर्छ, न जिल्लाबासी नयाँ तथा अग्रजहरूले स्थान नै पाउँछन् । न त कुनै नयाँ प्रतिभाले ‘प्लेटफर्म’ नै । कस्तो बिडम्बना ! आफ्नै घरआँगनमा मेला लागेको छ, परिवारकै सदस्य बेखबर छन् । अझ भनौं, आफ्नालाई वेवास्ता गरिएका छन् । बाहिरियाले आँगन भराएका छन् । भोलि मर्दा–पर्दा काँध हाल्न त परिवारकै मान्छे चाहिने होला नि, होइन र ?’
‘व्यानरमा देखिएका अनुहार प्रतिष्ठानको सफल नेतृत्व गरिसक्नुभएका र अहिले पनि पदीय हिसाबले जिम्मेवार पदमा रहनुभएका कलाकारहरू हुनुहुन्छ । उहाँहरूले जिल्लामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा समेत सक्रिय छ । महोत्सवका आयोजकले प्रतिष्ठानसँग सहकार्य गरेको छ कि छैन ? भनेर बुझ्न समेत चाहनु भएन । चुनावका बेला फोन नम्बर खोजीखोजी फोन गर्ने, भोट माग्ने, अरुलाई माग्न लगाउनेहरूले जिल्लामा पाइला टेक्दा एक कल वा म्यासेस समेत नगरी प्रस्तुति राखेर फर्कने गर्नुभएको छ । यसले पनि के पुष्टि गर्छ भने लोक तथा दोहारी गीत प्रतिष्ठानकै पदीय दायित्वमा रहेकालाई पनि जिल्लामा रहेको संस्था र नेतृत्व गरिरहेका साथीहरूप्रति कुनै मतलव नभएको बुझ्न कठिन हुँदैन । एक साताअघि मात्रै धादिङमा आयोजित ८ औं महाधिवेशनका बेला यस विषयमा बहस चलेकै हो । आफू माथि उक्लिनका लागि भर्याङ बनाउन मात्रै जिल्ला– जिल्लामा प्रतिष्ठान गठन गरिएको हो भने यसको औचित्य कति र के का लागि ? जिल्लामा कति दुःख गरिरहेका छौँ भन्ने विषय हामीलाई थाह छ ।’
‘हुन त आजकल ठेक्कामा दिने र रकम कुम्ल्याउने उद्देश्यले मेला महोत्सव लाग्ने गरेको छ । न स्थानीय उत्पादनले ठाउँ पाउँछ, न स्थानीय प्रतिभाले आफ्नो कुनै रचना र सिर्जना पोख्ने ठाउँ पाउँछन् । व्यानरमा फोटो राखिएका कतिपय कलाकार महोत्सवको बारेमा समेत अनभिज्ञ हुनुहुन्छ, यहाँहरू अनुमति बिना ती फोटा कसरी व्यानरमा टाँसिए ? सम्बन्धित कलाकारहरूलाई जानकारीसम्म नगराई अनुमति बिना फोटा राखेर प्रचार प्रसार गरिएको छ । केही साथीहरूले महोत्सवमा मेरो फोटो राख्नुभएको रहेछ, पालो कहिले होला भनेर फोन रमेसेज गर्नुभएको छ । यसबाट पनि थप कुराहरू प्रष्ट हुन आएको छ । आयोजक र हर्ताकर्तालाई मेला– महोत्सवले ठूलै फाइदा होला या नहोला । तर, संस्थागत रुपमा समन्वय गर्न भने महोत्सव आयोजक चुकेकै छ, चुकिरहेकै छ । अन्त्यमा, यो स्टाटसले पनि महोत्सवको प्रचार प्रसारमा सहयोग नै पुग्ने छ । महोत्सव सफलताको शुभकामना !’

अनुज अधिकारी,
अध्यक्ष
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जिल्ला कार्य समिति, लमजुङ ।

प्रकाशित मिति २०७९ फाल्गुन २०, शनिबार १७:१५ गते
हजुरको प्रतिक्रिया