काठमाडौं– नइ दम्पत्तीले आफू र आफूले नेतृत्व गरिएका संस्थालाई कुनै पनि संघसंस्थाबाट पुरस्कार तथा सम्मान ग्रहण नगर्ने निर्णय गरेको बताउनु भएको छ । केही वर्ष अघि गरेको सो निर्णयलाई फागुन २२ गते पुनः दोहोर्याउनु भएको छ ।
नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईले संयुक्त रुपमा जारी गर्नु भएको विज्ञप्तिमा त्यस्तो उल्लेख छ । सो विज्ञप्तिमा भनिएको छ,, ‘देश देशान्तरमा नेपाली भाषासाहित्यको श्रीवृद्धि हेतु गठित कुनै पनि संघसंस्थाबाट हामीले पुरस्कार तथा सम्मान ग्रहण नगर्ने निर्णय गरेका छौँ ।’
यस्तो गर्नुको कारण बारेसमेत प्रष्ट्याउँदै ‘विविध दोषबाट जोगिन नइ प्रकाशन, त्रिमूर्ति निकेतन तथा वानीरा फाउन्डेसनलाई आरोप प्रत्यारोपबाट जोगाउने अभिप्रायले समेत हामी यो निर्णयमा पुगेका हौँ ।’ भन्नुभएको छ ।
प्रस्तुत छ, उक्त विज्ञप्तिाको पूर्ण विवरण, ‘देश देशान्तरमा नेपाली भाषासाहित्यको श्रीवृद्धि हेतु गठित कुनै पनि संघसंस्थाबाट हामीले पुरस्कार तथा सम्मान ग्रहण नगर्ने निर्णय गरेका छौँ ।
केही संघसंस्थाबाट स्रष्टाहरू सम्मान या पुरस्कार या अभिनन्दन लेनदेनमा समाहित भएको समेत पनि देखिएकाले विविध दोषबाट जोगिन नइ प्रकाशन, त्रिमूर्ति निकेतन तथा वानीरा फाउन्डेसनलाई आरोप प्रत्यारोपबाट जोगाउने अभिप्रायले समेत हामी यो निर्णयमा पुगेका हौँ ।
हामी नइले मन, वचन र कर्मले खाई नखाई स्थापना गरेका संस्थाउपर कसैले हिलो छ्याप्न नपाऊन्, राजनीतिक रङ दल्न नपाउन् र खोँचे थापेर लाञ्छना लगाउन नसकुन् भन्ने हाम्रो चाहना हो । यी अनेक दोषबाट अलग्गिएर संस्थाको मर्यादा जोगाउनु हामीले हाम्रो प्रमुख कर्तव्य ठानेको बेहोरा पनि सृजनशील बौद्धिक प्राज्ञिक समाजसमक्ष पेस गरेका छौँ ।’
प्रकाशित मिति २०७९ फाल्गुन २३, मंगलवार ११:२० गते