
काठमडौं– काजी वडाविर शिवराम सिंह बस्न्यातको पूर्णकदको शालिक अनावरण गरिएको छ । शिवराम सिंह बस्न्यात नेपालको पहिलो प्रधान सेनापती मानिनु हुन्छ । उहाँको पूर्णकदको शालिक उहाँले वीरगती प्राप्त गरेको युद्ध भूमि शंखरापुर नगरपालिका– ३ स्थित जहर सिंह पौवामा नेपाली सेनाका प्रधानसेनापती महारथी प्रभुराम शर्माले फागुन १९ गते अनावरण गर्नु भएको हो ।
शालिक अनावरण पछि प्रधानसेनापति प्रभुराम शर्माले उक्त कार्यक्रमलाई संवोधन गर्दै जसरी हिजो देश एकीकरण गरेर हिजोका पुर्खाहरूले वलिदानी दिए आज पनि देशको रक्षाका लागि उत्तिकै स्नेह बोकेर नेपाल र नेपालको संविधान रक्षाका निम्ति नेपालीसेना दत्तचित्त भएर लागि परेको बताउनु भयो । सोही कार्यक्रममा उहाँले स्थानीय विद्यालयहरूका जेहेन्दार तथा मेहेनती छात्रा छात्रहरूलाई पुरस्कार वितरण लगायत शालिक निर्माणमा सहयोग दाता संघसंस्थाहरूलाई प्रमाणपत्र वितरण गर्दै सम्मान गर्नु भएको थियो ।
नेपाल एकीकरण अभियानमा थुप्रै युद्ध जित्न सफल हुनु भएका शिवराम सिंह बस्न्यातलाई श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहाबाट प्रधान सेनापती बनाइनु भएको हो । उहाँले नेपाल एकीकरण अभियानका क्रममा १८०३ फागुन ५गते सोमवारका दिन साँगा चोक द्वारे टोलको युद्धमा वीरगती प्राप्त गरेका इतिहासकारहरूको लेखमा भेटिन्छ ।
उक्त कार्यक्रममा इतिहास विद प्रा दिनेशराज पन्त, पूर्वराजदुत डा. निरञ्जनमान सिंह बस्न्यात, पूर्व आई जी पी रोहित थापा, पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यात, पूर्वसेनानी थमनबहादुर बस्न्यात, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, पूर्वमेयर शुवर्ण श्रेष्ठ, वडा नं– ३ का वडाध्यक्ष सुर्यबहादुर तामाङ लगायतले नेपालले एकीकरणको महिमा र शिवराम सिंह बस्न्यातको विरताका विषयमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा नेपालभरबाट बस्न्यात बन्धु समाजका प्रतिनिधिहरू लगायत स्थानीय बुद्धिजीवी समाजसेवीहरू समेतको ठूलो संख्यामा उपस्थिति थियो ।
बस्न्यात समाज नेपालका अध्यक्ष धनमान सिंह बस्न्यातको अध्यक्षता भएको ले कार्यक्रममा उहाँले नेपाल भर छरिएर रहेका बस्न्यात बन्धुहरूको सकृयता र नेपाल एकीकरणमा विरगती प्राप्त गर्नु हुने वडाविर शिवराम सिंहको शालिक निर्माणका लागि साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुहुँदै समापन गर्नु भएको थियो ।
प्रकाशित मिति २०७९ फाल्गुन २३, मंगलवार १२:५८ गते