
भरतपुर– मुर्ख्याइँको पराकाष्टाको रहस्य खुलेको छ । एक युवकको पेटभित्र बोतल भेटिएपछि मुर्ख्याइँको पराकाष्टाको रहस्य खुलेको हो । रौतहटको गुजरा नगरपालिका– ९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटबाट मदिराको सिंगो बोतल शल्यक्रिया गरी फागुन २२ गते बिहान निकालिएसँग त्यस्तो खुलासा भएको हो ।
जीवन मरणको दोसाँधमा पुगेका ती युवकको शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पताल स्रोतले जनाएको छ । दिसाका लागि कोलोस्टोमी ब्याग राखिएको र संक्रमण कम हुँदै गएको उपचारमा संलग्न अस्पतालका सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. नारायण बेलबासेले बताउनु भयो । उहाँका अनुसार बिरामीको रगतमा भएको संक्रमणको मात्रा घटेर गएको छ । उहाँले भन्नुभयो, ‘ती युवक ऐले खतरामुक्त अवस्थामा छन् ।’
मलद्वारको भित्री भाग र दिसा निष्कासन हुने बाटोहरूमा संक्रमण तथा घाउ भएकाले तत्काललाई दिसा बाहिर आउन मिल्ने गरी पाइप तथा ब्याग राखिएको छ । सामान्य प्रक्रियामा उनको सुधार हुँदै गएमा ६ हप्तापछि उक्त ब्याग निकाल्न र ‘नर्मल’ प्रक्रियाबाट दिसा गर्न मिल्ने अवस्था हुन्छ डा. बेलबासेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शल्यक्रिया गर्न करिब साढे दुई घन्टा लागेको थियो ।’
कसरी पस्यो बोतल ?
रौतहटको सो घटनाको प्रहरीले प्रारम्भिक अनुसन्धान विवरण भने सार्वजनिक गरेको छ । घटनाका विषयमा प्रहरीले नुर्सादका एक साथीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । केही आरोपित फरार छन् । विस्तृत विवरण आउन बाँकी छ । केही दिनअघि नुर्सादले चन्द्रपुर नगरपालिका– १०, बाल्चनपुरस्थित साथी मोहम्द समीरको ग्यारेजमा बसेर मदिरा सेवन गरेका थिए । त्यतिबेला नुर्सादले मदिराको बोतलमा पिसाब गरेर साथीलाई खुवाएको खुलेको छ । सोही रिसमा समीरले फागुन २० गते नुर्सादलाई बोलाई नशालु पदार्थ खुवाई उनको मलद्वारभित्रबाट बिर्को खोलेर रक्सीको बोतल छिराइदिएका थिए ।
रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएका बिरामीको नाडीको चाल १२० भन्दा माथि पुगेको थियो । पेट फुलेर ठूलो भएको थियो । बिरामीसँग आएका व्यक्तिको साथमा रहेको एक्सरे रिपोर्ट डाक्टरलाई नै तर्साउने खालको थियो ।
एक्सरेमा उनको पेटमा एउटा सिंगो बोतल देखिन्थ्यो ।
‘पेटमा बोतल छ भन्ने उताको एक्सरेबाट आइसकेको थियो । त्यसैले ‘पेरिटोनाइटिस’ भए–नभएको छुट्टयाउन हामीलाई गाह्रो भएन । आन्द्रामा चोट लागिसकेपछि पेटमा इन्फेक्सन हुन्छ, जसलाई पेरिटोनाइटिस भनिन्छ,’ अस्पतालका ल्याप्रोस्कोपिक तथा जिआई सर्जन विभागका प्रमुख कन्सल्टेन्ट डा. नारायणप्रसाद बेलबासेले भन्नुभयो । नुर्सादलाई पुरानो मेडिकल कलेज ल्याउँदा पेटमा बोतल छिरेको करिब ५८ घन्टा भइसकेको थियो । डा. बेलबासेका अनुसार यस्तो घटनामा बिरामीले सामान्यतया २४ घन्टाभित्र उपचार पायो भने बचाउन सहज हुन्छ । ढिलै आए पनि बोतल नफुटेको र आन्द्रामा धेरै चोट नलागेका कारण नुर्साद खतरामुक्त भएको उहाँले उल्लेख गर्नुभयो ।
‘हामीले आन्द्रा फुटे– नफुटेको थाहा पाउन अर्को एक्सरे गर्यो । त्यसबाट आन्द्रा पनि फुटेको शंका गरियो । अस्थिर अवस्थामा आएको बिरामी भएकाले एक– दुई घन्टा स्लाइन, एन्टिबायोटिक्स चलायौं ।’
बिहान साढे ६ बजेतिरबाट बिरामीको शल्यक्रिया सुरू गरिएको थियो । बोतलको आधा भाग पेटभित्र र आधा भाग ठूलो आन्द्रा भित्रै रहेको देखियो । बोतलको टुप्पो आन्द्रा फुटालेर बाहिर निस्किएको थियो । पेटभित्र दिसा फैलिएर आन्द्राहरू सबै सुन्निइसकेका थिए । बोतलमा बिर्को थिएन । भित्र केही दिसा र रगत पसेको थियो ।
डा. बेलबासेको टिमले पेटभित्रको बोतल निकाल्यो र पेटलाई स्लाइन पानीले सफा गर्यो ।
‘फुटेको भागलाई प्राइमरी रिपेयर गरियो र रिफ्रेस गरेर सिलाइयो । त्योभन्दा माथिको भागबाट कोलोस्टोमी (दिसा निकाल्ने कृत्रिम बाटो) गरेर दिसा निकालेका छौं । दिसा लिक भएर संक्रमण फैलन नदिन त्यसो गर्नुपरेको हो,’ करिब छ हप्तापछि कोलोस्टोमी निकाल्न सकिन्छ होला ।’
डा. बेलबासेले यो घटना असाध्यै दुर्लभ र असामान्य रहेको बताउनु भयो । उहाँका अनुसार आन्द्रा फुटेको ६ घन्टामै अस्पताल आइपुगेका कारण उनी सञ्चो भएर सामान्य अवस्थामै फर्किएका हुन् । उहाँले भन्नुभयो, ‘यस्तो घटना खासै आउँदैन, सामान्य मान्छेले यस्तो कल्पना पनि गर्दैन । जानी जानी कसैले यस्तो गर्दैन, यो त एक्सट्रिम लेभल अफ क्राइम हो ।’ डा. बेलबारसेले थप भन्नुभयो । ‘त्यो एउटा दुर्घटना थियो, यो दुर्घटनाजस्तो देखिँदैन । आफैंले छिरायो कि अरूले छिरायो भन्ने मात्रै हो । त्यो विषयमा त म केही भन्न सक्दिनँ, प्रहरीले अनुसन्धान गरेर पत्ता लगाउला ।’
डा. बेलबासेले भन्नुभयो, ‘अस्पताल आइपुग्दा बिरामीको सेतो रक्तकोष (डब्लुबिसी) निकै कम भइसकेका थियो । अहिले अवस्था सामान्य छ । यो अवस्थामा केही समय बिरामीलाई मानसिक तनाव हुन्छ । डिप्रेसनमा जान सक्छन् । केही समय अपाङ्गताजस्तो हुन्छ, घाउ पाक्न सक्छ, तर अहिले सबै स्थिर छ, सुधारको संकेत राम्रो देखिएको छ ।’
के भएको थियो ?
यही फागुन २१ गते बिहान नुर्सादलाई अचानक पेट दुखेको थियो । बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए । तर, निको भएन । बरु, पीडा थपियो । त्यसको भोलिपल्ट उनलाई उपचारका लागि रौतहटस्थित चन्द्रपुर अस्पतालमा लगियो ।
चन्द्रपुर अस्पतालमा पेटको एक्सरे गरियो । रिपोर्टमा पेटभित्र ८८४८ नामक मदिराको सिंगो बोतल देखियो । पेटभित्र सिसाको बोतल देखिएपछि ‘केस जटिल हुन सक्ने भन्दै चन्द्रपुरले थप उपचारका लागि भरतपुर रिफर ग¥यो ।
उनलाई फागुन २२ गते बिहान करिब २ बजे पुरानो मेडिकल कलेज पु¥याइएको थियो । अस्पतालले बिहान ६ बजे नुर्सादको शल्यक्रिया सुरु गर्यो । एनेस्थेसियोलोजिस्ट डा. राजेश यादव र सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. बेलबासेको टोलीले करिब अढाई घण्टा लगाएर पेटबाट बोतल निकाल्यो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनु भएको छ । उहाँका अनुसार बिरामीले ठ्याक्कै यसो भएको हो भनेर नबोल्दासम्म यही भएको रहेछ भन्न सकिने अवस्था छैन । उहाँले भन्नुभयो, ‘हामीले शंका लागेका व्यक्तिसँग सोधपुछ गरिरहेका छौं ।’
डिएसपी कोइरालाले थप भन्नुभयो, ‘बिरामी राम्रोसँग बोल्न सक्ने भएपछि कुरा गरेर कानुनी प्रक्रिया थप अघि बढ्छ, बोतल आफैंले हालेको हो कि अरूले हालेको हो भन्ने नै यकिन भएको छैन ।’
प्रकाशित मिति २०७९ फाल्गुन २४, बुधबार १२:१७ गते