दोर्दी(लमजुङ)– लमजुङका एक झण्डै ७० वर्षको उमेरमा नागरिकता पाउँदा उफ्रिदै नाच्नु भएको छ । जिल्लाको पूर्वी क्षेत्रमा रहेको दोर्दी गाउँपालिका– ५ को उपल्लो पाचोक गाउँमा धनमान घलेलाई प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीको टोलीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिए पछि उहाँ खुशी हुँदै फागुन २३ गते नाच्नु भएको हो ।
एकल बृद्ध पुरुषका रुपमा जीवन धान्दै आउनु भएका उहाँले दिनमा एक छाक खाएर गुजारा गर्दै आएको रहस्य समेत खुलेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनु भयो । उहाँका अनुसार उहाँलाई उहाँको घर रहेको स्थान उपल्लो पाचोक गाउँमै पुगेर नागरिकता प्रमाणपत्र दिइएको हो ।
यसअघि नगरिकता बनायो भने आफ्नो भएको पैतृक सम्पत्ती पनि अर्कोले खाइदिन्छ भन्ने मनगढन्त चिन्तन र गाडी चढ्न नमान्ने समस्याले गर्दा घलेले नागरिकता प्रमाणपत्र नबनाई बसेको खुल्न आएको छ ।
गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी, गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घले सहितको टोली घलेको घरमा पुग्दा समेत उहाँ निकै बेर घर भित्रबाट बाहिर निस्कन मान्नु भएन । उहाँलाई मातृ गुरुङ भाषामा सो गाउँपालिकाका अध्यक्ष अधिकारी, उहाँका भाइ खलककै छिमेकी समेत रहनु भएका गाउँपालिकाका उपाध्यक्ष विच्छा घलेले नगरिकताको महत्व झल्काउँदै सम्झाएपछि उनी नागरिकता लिन राजी भएको सो टोलीमा गएका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदीश मिश्रले बताउनु भयो । उहाँका अनुसार गाउँमा नागरिकताको टोली गएर फोटो खिच्दा उहाँको खाँदा एउटा चिम्लिएको आएको र प्राविधिक समस्या सिर्जिएका कारणले नागरिकता बनेको रहेनछ । प्रशासकीय अधिकृत मिश्रले भन्नुभयो, ‘सदरमुकामसम्म आउनका लागि उनले नागरिकताको महत्व बुझेनन्, घरमै जाँदा त भित्रबाट बहिर निकाल्नै मुस्किल पर्यो तर पछि नागरिकता पाए पछि भने त्यसलाई चुम्दै उफिएर नाचे ।’
चन्द्रबहादुर घलेका छोराको रुपमा उनको जन्म मिति २०१० साल वैशाख १२ गते भएको पुष्टि भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार सोही मिति उल्लेख गरी उहाँलाई नागरिकताको प्रमाणपत्र दिइएको छ । उहाँले भन्नुभयो, ‘धनमान घले भूकम्प पीडितको पूर्ण क्षति सूचिमा परेर पनि नागरिकता प्रमाणपत्र नहुँदा सो सुविधाबाट पनि बञ्चित भएका तर भूकम्पले जीर्ण बनाएको त्यही पैतृक घरमा गुजारा गर्दै आएका व्यक्ति हुन् ।’ उहाँमा केही मानसिक समस्या रहेछ, त्यही कारणले भारतीय सेनामा भर्ना भएका उहाँलाई ६– ७ महिनामै त्यहाँबाट निकाली दिएको, त्यसपछि घरमा आएका उनी गाडी चढ्न, सदरमुकाम जान नमान्ने भएको हुँदा उहाँको शरीर र घर दुवै जीर्ण अवस्थामा पाएको अध्यक्ष अधिकारीले बताउनु भयो । उहाँका अनुसार दिनमा एक छाक मात्र खाएर बसेको भन्ने बुझियो । उहाँले भन्नुभयो, ‘हाम्रो गाउँपालिकामा लोमन्ती नामक गैससले एकल महिला÷पुरुषलाई घर बनाई दिने गरेको छ, उहाँको नागरिकता नहुँदा त्यो पनि समस्या थियो, घर बनाई दिनै पर्ने पनि छ, त्यसैले प्रशासनसँग कुरा गरेर घरमै नागरिकता दिने सल्लाह गरी नगरिकता दिने काम गरिएको हो ।’ अब उहाँको घर लोमन्तीले बनाई दिन्छ अधिकारीले जानकारी दिनुभयो ।
धनमान घलेको देखल सम्पत्तीका नाउँमा दुई वटा भेडा मात्र छन् । उहाँको बाबुका नाउमा रहेको जग्गा राम्रोसँग कमाई गर्दा उहाँलाई वर्षदिन नै खान पुग्छ उहाँका छिमेकी समेत रहनु भएका सो गाउँपालिकाका उपाध्यक्ष विच्छा घलेले बताउनु भयो । उहाँका अनुसार अब त बृद्धभत्ता पनि आउँछ बुढालाई दैनिक चलाउन अलिक सहज हुन्छ ।
प्रकाशित मिति २०७९ फाल्गुन २५, बिहीबार ०७:०६ गते