बागलुङ– ७५ वर्षीय वृद्धलाई १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग ठहर गर्र्दै जिल्ला अदालतले १२ वर्ष कैद फैसला गरेको छ । त्यस्तो फैसला फागुन २३ गते भएको हो ।
जिल्ला अदालत बागलुङका जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेको ठहर गर्दै आरोपित ७५ वर्षीय वृद्धलाई १२ वर्ष फैसलाको आदेश दिएको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गङ्गाधर सापकोटाले बताउनु भयो । उहाँका अनुसार आदेशमा पीडितलाई ३० हजार क्षतिपूर्ति प्रदान गर्न समेत भनिएको छ ।
पीडित पक्षले २०७९ जेठ ३१ गते बागलुङको निसीखोलाका वृद्धका विरुद्धमा २०७८ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपित बृद्धका विरुद्ध गत असार २३ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
आरोपित बृद्धलाई अदालतको आदेशले सोही दिन पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा पठाइएको थियो ।
प्रकाशित मिति २०७९ फाल्गुन २५, बिहीबार ०७:४४ गते