काठमाडौँ– राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठनेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । पौडेल ३३ हजार ८०२ मतभारका साथ फागुन २५ गते निर्वाचित हुनुभएको हो । निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।
पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाउनु भएको छ । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाउनु भएको भने पाँच मत बदर भएको छ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि न्यूनतम २६ हजार ३ सय १५ मत आवश्यक पर्छ ।
नेम्वाङलाई भने एमाले बाहेकका दलको साथ पाएको देखिएन । नेम्वाङ क्रिश्चियनको नेता भएका कारणले पनि अन्य दलले उहाँलाई मत दिन अप्ठेरो परेको थियो । अन्यथा राप्रपा, रास्वपा आदिले नेवाङलाई सहयोग गर्न सक्ने अवस्था थियो ।
पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा भाग लिएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी हुुनु भएन ।
राष्ट्रपतिमा निर्वाचित हुनु भएका रामचन्द्र पौडेलले निर्वाचित प्रमाणपत्र पाइसक्नु भएको छ । मत परिणाम घोषणासँगै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उनलाई प्रमाणपत्र प्रदान गर्नु भएको हो ।
काँग्रेसमा राष्ट्रपतिका आकाङ्क्षीहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्मालाई पन्छाएर पौडेल उम्मेदवार बन्न सफल हुनु भएको हो । पार्टीले आधिकारिक रूपमा पौडेललाई अघि सारेसँगै नेताहरू एक ढिक्का भएर चुनावी अभियानमा होमिएका थिए । यो निर्वाचनले काँग्रेसभित्र मौलाउँदै गएको गुटबन्दीसमेत निस्तेज हुने संकेत गरेको छ ।
त्यसो त पछिल्लो समय देउवासँग सहकार्य गरेकै कारण पौडेललाई राष्ट्रपति बन्ने बाटो सहज भएको हो । कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको प्रस्तावक बसेपछि राष्ट्रपतिमा पौडेलको चर्चा चुलिन गएको हो । देउवाले राष्ट्रपतिको उम्मेदवार बनाउने बचन दिएपछि उहाँ प्रस्तावक बसेका कांग्रेस वृत्तमा चर्चा थियो । तर, पुस १० गते दिउँसो १२ बजे चुनावअघिको गठबन्धनबाट माओवादी बाहिरिएपछि पौडेल छाँगाबाट खसेजस्तै समेत देखिनु हुन्थ्यो ।
बालुवाटारमा तत्कालीन गठबन्धन बिर्सजन गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेपछि कांग्रेस घायल बनेको थियो । त्यस दिन अर्थात १० पुसमा पौडेलले भन्नुभएको थियो, ‘प्रचण्डजी गठबन्धन टुट्यो भनेर (बालुवाटारबाट) हिँड्नु भयो, अब हाम्रो हातमा केही रहेन । सबै गुम्यो । मैले साथीहरूलाई मनाउन सकिनँ ।’
तर फागुन १० गतेसम्म आइपुग्दा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमालेसँग सहकार्य तोड्दै कांग्रेससँग सहकार्य गर्न तयार भएसँगै पौडेलको सपनाले पुनः जीवन्ता पाएको हो ।
संक्षेपमा रामचन्द्र पौडेल :
२००१ साल असोज २९ गते बुवा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलको रुपमा तनहुँको व्यास नगरपालिका– ८ स्थिति बाहुन पोखरा गाउँमा रामचन्द्रको जन्म भएको हो । तनहुँको सदरमुकाम दमौली स्थित व्यास नगरपालिका– ८ बेलथुम्कीका स्थायी बासिन्दा पौडेल हाल काठमाडौँ महानगरपालिका– १६ बोहोराटारमा बस्नु हुन्छ ।
मध्यम वर्गीय किसान परिवारमा जन्मिएका पौडेलले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । पौडेल २०१५ सालदेखि विद्यार्थी संघको राजनीतिमा जोडिनु भएको थियो । २०१५ देखि ०२४ को समयमा उहाँ नन्दीरात्री माविको विद्यार्थी सङ्घको अध्यक्ष र रानीपोखरी मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बन्नुभयो ।
त्यसपछि पौडेललाई २०१७ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको महासचिव र २०२३ गण्डकी छात्र सङ्घको संस्थापक अध्यक्ष बन्नु भयो । सोही समयमा सरस्वती क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित पौडेल २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा सङ्घको संस्थापक महासचिव बन्नु भएको हो ।
२०२७ सालमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नु भएका उहाँ सङ्घको संस्थापक सदस्य हुनुहुन्छ । १९ वर्षको विद्यार्थी राजनीतिपछि मात्र जिल्ला तहबाट पार्टी राजनीतिमा प्रवेश गर्नु भएका पौडेल २०३४ नेपाली कांग्रेस तनहुँको सदस्य हुनुका साथै ०३६ मा जिल्ला उपसभापति भएका हुन् ।
पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहनु भएका २०४० सालमा पौडेल पार्टी केन्द्रीय राजनीतिमा आउनु भएको हो । त्यसताका उहाँ प्रखर चिन्तक समेत मानिनु हुन्थ्यो । खासगरी, नेता सिके प्रसाई पछि बैचारिक बहसकर्ताका रुपमा उहाँको नाम आउँथ्यो ।
२०४३ सालमा कांग्रेस केन्द्रीय सदस्य बन्नुभएका उहाँ (२०६२–६४) दुई वर्ष पार्टीको महामन्त्रीको जिम्मेवारीमा समेत रहनु भयो । त्यसपछि उनी ०७२ सम्म पार्टी उपसभापति हुनु भयो । त्यही समयमा पौडेल कांग्रेस संसदीय दलको नेतासमेत चुनिनु भयो । ०७२ सालमा भएको पार्टीको १३ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित हुनु भएका उहाँ त्यस यता, कांग्रेसमा पौडेल वरिष्ठ नेताको जिम्मेवारीमा रहनु भयो ।
गत वर्षसम्म १४ औँ महाधिवेशनमा प्रतिस्पर्धाबाट ‘रिङआउट’ भए तापनि वरिष्ठ नेतामा पौडेलको निरन्तरता कायमै रह्यो । १४ औँ महाधिवेशनमा आफ्नो गुट छिन्नभिन्न हुने देखेपछि उहाँ अन्तिम समयमा मौन बस्नु भएको विषयले काङ्ग्रेसभित्र तरङ्ग समेत उत्पन्न गराएको थियो । जसका कारण देउवालाई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सहज समेत भयो ।
पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनः स्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ– १ बाट संसद् सदस्यमा निर्वाचित हुनु भएको हो । त्यसपछि बनेको सरकारमा स्थानीय विकास मन्त्री हुनु भएका उहाँ दोस्रो पटक ०४९ मा स्थानीय विकास तथा कृषि मन्त्री बन्नु भयो । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ– २ बाट सांसद निर्वाचित हुनु भयो । ०५१ सालको प्रतिनिधिसभामा सभामुख बन्नुभयो ।
०५६ सालमा तनहुँ– २ बाट संसद् सदस्यमा तेस्रो पटक निर्वाचित भएका पौडेलले ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारीमा रहनु भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक समेत हुनुभयो । ०६३ सालमा उहाँ शान्ति तथा पुनर्निर्माण मन्त्री हुनुभएको थियो ।
०६४ सालमा सम्पन्न संविधानसभा चुनावमा पौडेल तनहुँ– २ बाट चौथो पटक निर्वाचित हुनु भयो । ०६५ सालमा उहाँ नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । विडम्बनापूर्ण स्थिति त्यतिबेला बन्यो कि जब पौडेलले प्रधानमन्त्री बन्ने उत्कट अभिलाषा व्यक्त गर्नु भयो । उहाँ १७ पटकको प्रयासमा पनि असफल रह्यो । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, तत्कालीन एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेदवारी दिनु भएको थियो । तर, संवैधानिक प्रावधान अनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।
आठौँ प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिर निस्कनु भयो तर पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरिहनु भयो । यो चुनावी शृङ्खलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरिएको थियो । अन्ततः खनालले प्रधानमन्त्रीमा बाजी मार्नु भयो र पौडेलको प्रधानमन्त्री बन्ने उत्कट अभिलाषामा तुषारापात भयो ।
०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ– २ बाट उहाँ पाचौँपटक निर्वाचित हुन भयो भने ०७४ को आम निर्वाचनमा तनहुँ– १ मा हारको मार सहन गर्नु प¥यो । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा भने पौडेलले तनहुँ– १ बाट संसदीय निर्वाचनमा छैटौँ जित हासिल गर्नु भएको हो ।
लामो र अथक राजनीतिक सक्रियता पौडेलको प्रमुख पूँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक सङ्घर्षहरूमा संलग्न पौडेलले पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गरेको देखिन्छ । काङ्ग्रेसभित्र नीतिगत– वैचारिक चिन्तन गर्न सक्ने नेताका रूपमा पौडेलको नाम लिने गरिन्छ ।
पटक– पटक मन्त्री हुँदासमेत कुनै गम्भीर विवादमा खासै नमुछिनु भएका पौडेलले कुनै दिन मन्त्री पदबाट हात धुदै गर्दा गिरिजाप्रसाद कोइरालालाई भने तथानाम भनेको इतिहास साक्षी छ । त्यस्तै, काँँग्रेस विभाजित भएर प्रजातान्त्रिका काँग्रेस बन्दै गर्दा सबै चाँजोपाँजो मिलाए पनि अन्तिममा गिरिजाप्रसाद कोइरालाले म पछिको तिमी त हौ नि !’ भन्ने बचन पाएकै भरमा शेरबहादुर देउवालाई धोका दिने काम पनि उहाँबाट भएकै हो ।
जे होस्, राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल सक्रिय राजनीतिबाट बिदा हु्नु भएको छ । अब संविधानको कसीमा बसेर राष्ट्रपतिको भूमिकामा विवादरहित भएर बिदा हुने चुनौती पौडेलमा थपिएको छ ।
सवितासँग वैवाहिक जीवनमा जोडिनु भएका पौडेलका चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा र अवज्ञा) र एक छोरा (चिन्तन पौडेल) हुनुहुन्छ ।
शितल निवासबाट म बाहिर निस्कँदा सडकमा जाम हुँदैन : पौडेल
यसैबीच, राष्ट्रपतिका नवनिर्वाचित व्यक्तित्व नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि शितल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताउनु भएको छ । उहाँले राष्ट्रपतिको रुपमा आफूले उदाहरणीय काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै त्यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुख बीच भिन्नता तपाईंहरूले देख्नुहुनेछ, शितल निवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन ।’
यसैगरी, आफूले संविधानको रक्षा गर्ने पनि उहाँले बताउनु भएको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका क्रममा साइरन नबजाउन सुरक्षा निकायलाई आग्रह गर्नु भएको छ । बानेश्वरबाट निस्कनासाथ पौडेलले यस्तो आग्रह गर्नु भएको उहाँको सचिवालयले जानकारी दिएर त्यसको पुष्टि गरेको छ । सचिवालयका अनुसार नवनिर्वाचित पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएका छ । अबको केही बेरमा निवास पुग्ने कार्यक्रम छ ।
स्मरणीय छ, यसअघिका राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीका पालामा राष्ट्रपति शितल निवासबाट बाहिर निस्कँदा सडक खाली गर्ने गरिएकोमा आलोचना हुँदै आएको थियो ।
प्रकाशित मिति २०७९ फाल्गुन २५, बिहीबार २०:३६ गते