अर्को बचत सहकारी पनि २५ दिनदेखि बन्द, १० हजार बचतकर्ताको डेढ अर्ब डुब्ने स्थिति

अर्को बचत सहकारी पनि २५ दिनदेखि बन्द, १० हजार बचतकर्ताको डेढ अर्ब डुब्ने स्थिति

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २६ गते शुक्रबार ०६:१७

अध्यक्ष र सचिवले सहकारीबाट निजी व्यवसायमा पनि खर्च गरेका कारण बचत जोखिममा रहेको ती कर्मचारीको दाबी छ ।

उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने प्रहरी नियन्त्रणमा, अध्यक्ष फरार

विराटनगर– नेपालको अर्को एक सहकारी पनि २५ दिनदेखि बन्द भएको छ । यहाँ स्थित तुलसी बहुमुखी सहकारी संस्था २५ दिनदेखि बन्द हुँदा सर्बसाधारणको डेढ अर्ब रुपैयाँ डुब्ने स्थितिमा पुगेको छ ।
सो सहकारीको कार्यालय सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि यही फागुन १ गतेदेखि बन्द भएको हो । सो संस्थाका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने यतिबेला प्रहरी नियन्त्रणमा छन् । उनीहरू माथि प्रहरीले अभद्र व्यवहार आरोपमा अनुसन्धान गरिरहेको छ । सचिव न्यौपाने क्यानडा जाने तयारी गरेपछि सर्वसाधारणले बचत फिर्ता माग्दै कार्यालय घेराउ गरेका थिए । त्यही बेला प्रहरीले उपाध्यक्ष गौतम र सचिव न्यौपानेलाई पक्राउ गरेका हुन् ।
अध्यक्ष र सचिवले सहकारीबाट निजी व्यवसायमा पनि खर्च गरेका कारण बचत जोखिममा रहेको ती कर्मचारीको दाबी छ ।
सहकारीमा एक व्यक्तिले ७५ लाख रुपैयाँसम्म बचत गरेको पाइएको प्रहरीले जनाएको छ । सम्पत्ति बिक्री तथा जागिरबाट अवकाश पाएपछि एकमुष्ट पाएको रकम राखेका हुन् । ‘हाम्रो घरबाट मात्रै ७५ लाख रुपैयाँ बचत छ’, नाम खुलाउन नचाहेका ती बचतकर्ताले भने, ‘हिजो विभिन्न आश्वासन दिए, अहिले सञ्चालक सम्पर्कविहीन छन् ।’
उक्त सहकारीबाट एक करोड भन्दा बढी रकम बचत फिर्ता नपाएको भन्दै केही उजुरी परेको छ । उजुरी थपिने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी टीकाबहादुर कार्कीले बताउनु भयो । उहाँका अनुसार दुई जना पक्राउ परेपनि संस्थाका अध्यक्ष केदारनाथ शर्मा फरार छन् । अध्यक्ष शर्मा भारत पुगेका बताइन्छ ।
२०७१ सालमा खुलेको सहकारीले झापाको दमक र उदयपुरको गाइघाटमा शाखा कार्यालय खोलेको प्रहरी भनाई छ । विराटनगर, दमक र उदयपुरमा गरी १० हजार बढी सर्वसाधारणले एक अर्ब ४९ करोड रुपैयाँ हाराहारी बचत गरेको अनुसन्धानमा खुलेको प्रहरी स्रोतले बताएको छ ।
सहकारीका एक पूर्वकर्मचारीले सर्वसाधारणबाट बचत फिर्ता नपाउनुको कारण सहकारीको कानुन विपरीत सदस्य बाहिर गरेको लगानी गर्नु हो । उनका अनुसार सहकारीले कृषि व्यवसाय, राइस मिल, घडेरी खरिदलगायतका क्षेत्रमा सर्वसाधारणको बचत प्रयोग गरेको छ ।
उक्त सहकारी संस्थाले न्यूनतम १५ प्रतिशत ब्याज दिने भन्दै बचत संकलन गरेको थियो । तर अहिले बचत जोखिममा परेको बचतकर्ता युवराज गौतमले बताउनु हुन्छ । उहाँका अनुसार सञ्चालक भागेपछि दुःख गरेर कमाएको पैसा डुब्ने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २६, शुक्रबार ०६:१७ गते
हजुरको प्रतिक्रिया