काठमाडौैं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहणका साथ पद बाहली गनुृ भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीचमा पौडेलले फागुन २९ गते शपथ ग्रहण गर्नु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराउनु भएको हो । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको सहभागिता थियो ।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनु भएको हो ।
यसैगरी, नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको थियो । बिदाईका क्रममा निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो ।
अब पौडेल राष्ट्रपतिका रुपमा पाँच वर्ष शीतलनिवासमै बस्नु हुनेछ ।
राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको पद बहाली
यसैबीच, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आजनै मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा पद बहाली गर्नु भएको छ ।
सांसद र नेपाली कांग्रेसको पदबाट राजीनामा :
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद बहाली गर्नु अघिल्लो दिन हिजो सांसद पदबाट राजीनामा दिनु भएको थियो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पौडेलले राजीनामा पत्र बुझाउनु भएको हो ।
पौडेलले राजीनामा पत्रमा आफू राष्ट्रपति पदमा फागुन २५ गते निर्वाचित भएसँगै प्रतिनिधि सभा सदस्यको पद स्वतः रिक्त हुने सम्बन्धी जानकारी गराउनु भएको हो ।
उहाँले सो पत्रमा लेख्नु भएको छ, ‘यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनमा म निर्वाचित भएको विदितै छ । नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने भएकोले सो व्योहोरा जानकारी गराउँदछु ।’ पौडेल तनहुँ क्षेत्र नम्बर– १ बाट निर्वाचित हुनु भएको हो ।
यसैगरी, उहाँले नेपाली कांग्रेसको पदबाट पनि राजीनामा दिनु भएको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन २९, सोमबार २०:१५ गते