हिलेटक्सार पर्यटन महोत्सव : आज समापन गरिदै

हिलेटक्सार पर्यटन महोत्सव : आज समापन गरिदै

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ३० गते मङ्गलबार ०८:३२

स्थानीयस्तरमा उत्पादित अर्गानिक परिकारका साथमा स्थानीय कला संस्कृतीको जगेर्ना र प्रवर्दन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना भएको हो । महोत्सवमा स्थानीय उत्पादन, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी लगायतका स्टलहरू राखिएका छन् ।

जिल्लाको पूर्वीक्षेत्र पनि पर्यटन प्रवर्द्धन कार्यमा सचेत हुँदै

हिलेटक्सार(लमजुङ)– दोर्दी गाउँपालिका– ९ हिलेटक्सारमा आयोजना गरिएको दुई दिने हिलेटक्सार पर्यटन महोत्सव २०७९ आज फागुन ३० गते समापन गरिदैछ । आज टोल टोलको सांस्कृतिक प्रदर्शनीका साथमा दोहोरी गीतको छायांकनका साथ समापन गरिने कार्यक्रम रहेको छ ।
लोक दोहोरी रोधिं टेलिभिजनको संयोजनमा छायांकन समेत हुने कार्यक्रम रहेको सो वडाका अध्यक्ष आशीष तामाङले बताउनु भएको छ । उहाँका अनुसार पहिलो दिनमा पनि झाँकी तथा जातीय संस्कृतिको प्रदर्शन गरिएको थियो । त्यसैगरी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा शुभकामना मन्तव्यहरू व्यक्त भएका थिए ।
उक्त महोत्सवको जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो । गुरुङले ग्रामीण क्षेत्रको पर्यटन प्रवर्दनमा महोत्सवले महोत्वपूर्ण भुमिका खेल्ने विश्वास गर्नुभएको छ । महोत्सव महोत्सवका निम्ति मात्र नभई समृद्धीका निम्ति हुनपर्ने उहाँले उल्लेख गर्नु भयो । उहाँले महोत्सवका माध्यमबाट स्थानीय कला, संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताउँदै स्थानीय उत्पादन तथा स्थानीय प्रतीभालाई अवसर दिन सुझाब दिनुभएको थियो ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले पर्यटनका माध्यमबाट आर्थिक समृद्धी हाँसील गर्न सकिने बताउनुभयो । गाउँपालिकाले पर्यटकीय गन्तव्यको आवश्यक प्रचार प्रसार गर्ने र धेरैभन्दा धेरै पर्यटक गाउँपालिकामा भित्र्याउन विशेष योजना बनाएर अगाडि बढेको जानकारी दिनुभयो । पालिका भित्रका थुप्रै पर्यटकीय स्थलहरूको प्रचार प्रसार र संरक्षण तथा प्रवर्द्धनमा जुट्नुपर्ने बेला आएको उहाँले उल्लेख गर्नुभयो । पालिका भित्रका लेक, ताल, भेडीगोठ, मनोरम दृश्यावलोकन, बनैभरी लटरम्म फुलेको लालीगुराँस, खर्क, विभिन्न जातजातिका संस्कार संस्कृतीले पर्यटकहरूलाई सहजै आकर्षण गर्न सकिनेमा उहाँको जोड थियो ।
हिलेटक्सार ग्रामीण पर्यटन होमस्टे प्रवर्द्धन समितिका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष आशिष तामाङ, दोर्दी दुधपोखरी पर्यटन समितिका अध्यक्ष धनप्रसाद गुरुङ, दोर्दी गाउँपालिका निवर्तमान अध्यक्ष ओमबहादुर गुरुङ, उपाध्यक्ष दिलबहादुर घले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
स्थानीयस्तरमा उत्पादित अर्गानिक परिकारका साथमा स्थानीय कला संस्कृतीको जगेर्ना र प्रवर्दन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना भएको हो । महोत्सवमा स्थानीय उत्पादन, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी लगायतका स्टलहरू राखिएका छन् । स्थानीय संस्कृति घाँटु, चुड्का, सोरठी लगायतका मौलिक प्रस्तुतिहरू पनि महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको आयोजकको भनाई छ ।
उक्त महोत्सव सञ्चालनका लागि वडा कार्यालयले १ लाख रुपैयाँ र गाउँपालिकाले ४ लाख रुपैयाँ गरी ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन ३०, मंगलवार ०८:३२ गते
हजुरको प्रतिक्रिया