सौराहा(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिएको छ । सो दलको यहाँ जारी पार्टीको आन्तरिक प्रशिक्षणमा दलका सभापति रवि लामिछानेले त्यस्तो निर्देशन दिनु भएको हो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्न सबै तहका नेतृत्वलाई निर्देशन दिनु भएको हो । उहाँले उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी सङ्गठनले काम गर्नुपर्नेमा जोड दिनु भएको छ ।
सभापति रविले सङ्गठनलाई चलयमान बनाउन स्थानीयस्तरसम्म सङ्गठन विस्तार आवश्यक रहेकोमा जोड दिदै विभिन्न तहका नेतृत्वको ध्यानाकर्षण गर्दै निर्देशन दिनु भएको हो । उहाँले आफ्नो पार्टीलाई आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेकोतर्फ जोड दिनु भएको थियो । उहाँले प्रशिक्षणमा सहभागी नेताहरूलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिनु भएको छ ।
प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरु सहभागी रहेका छन् । प्रशिक्षणमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा मुकुल ढकाल, सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलगायतले सहजीकरण गरिरहनु भएको छ । प्रशिक्षणमा पार्टीको विधान तथा आन्तरिक साङ्गठनिक संरचना तथा पदाधिकारीहरूको अधिकारका विषयमा छलफल भइरहेको बुझिएको छ ।
फागुन २७ गते शुरु भएको प्रशिक्षण कार्यक्रमले दलको आन्तरिक संगठनलाई सबलिकरण गर्न केन्द्रीत रहेको बुझिएको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन ३०, मंगलवार १३:३९ गते