बेसीशहर– लमजुङमा उपभोक्ता हितमा काम गर्ने एउटै मात्र अधिकार प्राप्त संस्था हुनु पर्नेमा जोड दिइएको छ । मार्च १५, विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रमका सहभागीहरूले चैत १ गते त्यस्तो सुझाव दिएका हुन् ।
‘स्वच्छ उर्जा मार्फत उपभोक्ता सशक्तिकरण’ अन्तराष्ट्रिय तथा ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त दिवसको अवसरमा उपभोक्ताका हितमा विविध क्षेत्रका विभिन्न प्रश्नहरू उठाइएका थिए । तर ती प्रश्नको सम्बोधन गर्ने काम भने कोबाट कसरी हुने हो ? भन्ने जवाफ भने सहभागीले खासै पाएनन् ।
बेसीशहर नगरपालिकाले आफ्नै सभाहलमा उक्त दिवसको आयोजना गरेको हो । उक्त कार्यक्रममा नगरपालिकाका सबै वडाका अध्यक्षहरू, उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज शिलवाल सहितका पदाधिकारीहरू, पत्रकारहरूका साथै अधिकारकर्मीहरू तथा नागरिक मञ्चका पदाधिकारीसमेतको व्यापक सहभागिता थियो ।
बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले दिवस मनाउनका लागि तयारीको समयवधि छोटो भयो, माथिबाट पत्र ढिला आयो । तर पनि प्रत्येक वडाध्यक्षलाई एक जना उपभोक्तासाथमा ल्याउन भनिएको थियो भन्नुभयो । उहाँले प्राप्त सुझावहरूलाई नगरपालिकाले एक प्रतिवेदन तयार गर्ने र त्यसको कार्यान्वयका लागि कार्यपालिका बैठकमा छलफल गर्ने बताउनु भयो । उहाँले कार्यपालिका बैठकबाट हुने निर्देशन अनुसार योजनाबद्ध रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उपभोक्ता अधिकार मञ्चका जिल्ला अध्यक्ष किसान संगीतले एक कार्यपत्र प्रस्तुत गर्दै आमनागरिकले अझै पनि आफू उपभोक्ता हुँ भन्ने अनुभूति गर्न नपाएको अवस्था छ भन्नुभयो । उहाँले बजार अनुगमनको काम पसलहरूमा मिति सकिएका सामग्रीले फोहर गर्ने भएको हुँदा ती उठाएर ल्याउने र पसल सफा गर्नका लागि अनुगमन टोली जाने गरेको जस्तो हुने गरेको आफ्नो अनुभव सुनाउनु भएको थियो । उपभोक्ता भनेका चुल्हो चौकोमा काम गर्ने महिलाहरू मात्र हुन् कि ? भन्ने भान हुन्छ पुरुषले पनि आफूलाई उपभोक्ता हुँ भन्ने व्यवहारमा देखाउन ढिला गर्न नहुने उहाँको सुझाव थियो ।
जिल्ला स्थित पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले उपभोक्ता हित र अधिकारका बारेमा इतिहासदेखि वर्तमान सम्मको वस्तुस्थितिको जानकारी दिने काम गर्नु भयो । उहाँले नेपालको कानुनमा उपभोक्ताका लागि प्राप्त अधिकार र कार्यान्वयव पक्षका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
ती कार्यपत्रमा आरसिडिसी लमजुङका कार्यकारी निर्देशक विश्वविनोद घिमिरे टिप्पणी गर्दै कार्यविधि बनाएर योजनावद्ध रुपमा अघि बढ्दा मात्र उपभोक्ताको हित गर्न र अधिकारको संरक्षण हुन सक्ने औंल्याउनु भएको थियो । उहाँले फेन्सी पसलका सामग्रीमा मूल्य नहुनेदेखि मासुपसलको गुणस्तरका बारेमा समेत टिप्पणी गर्नु भएको थियो । उहाँले खाना पकाउने ग्यास पड्केमा त्यसको क्षतिपूर्ति ग्यास कम्पनीले बेहोर गर्नु पर्दैन ? भन्ने प्रश्न उठाउँदै विद्युतको अनियमित भोल्टेजका कारण सेवाग्राहीहरूका धेरै विद्युतीय सामग्री बिग्रिएका छन् तर क्षतिपूर्ति लिनेदिने व्यवस्था हुन सकेको छैन किन ? भन्ने समेत औंल्याउनु भएको थियो । उपभोक्ताको हितका लागि बीउँ बैंकका साथै उपभोक्ता शिक्षा दिने संस्थाको कानुनी प्रवन्ध हुनु पर्नेमा जोड दिनु भयो । यसैगरी, बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले उपभोक्ता हितमा के गर्न सक्छौं ? भन्ने सोचौं र त्यस अनुसार अघि बढौं भन्ने टिप्पणीका क्रममा सुझाव दिनु भएको थियो । उहाँले तरकारीको विषादी जाँचका कुराले सरकार हल्लिने गरेको छ तर पनि जिल्लामा भित्रिने तरकारीका जाँच गर्ने प्रवन्ध गर्न जरुरी छ भन्नुभयो ।
जिल्ला समन्वय अधिकारी तुलसीप्रसाद घिमिरेले कार्यक्रममा मूलतः दुईवटा विषय उठे भन्दै नीतिगत परिवर्तन गर्नु पर्ने विषय पनि उठ्यो । यही नगरपालिकाले गर्नु पर्ने तथा गर्न सकिने कामका बारेमा समेत प्रश्न उठेको जानकारी दिदै उहाँले भन्नुभयो, ‘नीतिगत परिवर्तनका विषयमा माथि सुझाव पठाउने र यही गर्न सकिने कार्यका बारेमा योजना बनाई अघि बढ्दा उपलब्धी हुनेछ भन्नुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बाध्यता र नियत के हो ? भन्ने बुझ्न जरुरी हुन्छ । त्यो स्थिति हेरेर काम गरौं भन्ने सुझाव दिनु भयो । उहाँले औषधि र त्यसको विलमा तलमाथि भएमा कारवाही गरिने औंल्याउनु भयो । सिस्टम सुधारतर्फ ध्यान दिनु पर्नेमा उहाँको जोड थियो ।
बेसीशहर नगरपालिकाको प्रवक्ता हिरालाल विकले धन्यवाद मन्तव्य राख्दै हामी अधिकार खोज्ने भन्दा पनि कर्तव्यप्रति सचेत बनौं भन्ने आग्रह गर्नु भयो । उहाँले महत्वपूर्ण सुझाव आएका छन्, यी सुझावको नगरपालिकाले कुनै न कुनै रुपमा सम्बोधनको प्रयत्न गर्ने उल्लेख गर्नु भयो । हाम्रो ध्यान वैध मिति र मूल्य बढेको तर्फमात्र केन्द्रित छ यहाँ ७५ रुपैयाँको वस्तुको मूल्य १४० पुगेको मात्र छैन, तौल पनि घट्ने गरेको छ । १०० ग्रामको चाउँचाउ ९० ग्राममा आउन थाल्यो त्यो ठगी हैन ? भन्ने प्रश्न गर्नु भयो ।
वडानं– १ का अध्यक्ष दुर्गाबहादुर बुढथोकीले उदीपुरको द्यौरालीडाँडाको सडक खण्डमा गत वर्षदेखि गएको पहिरोले भरे नै म सकुसुल घर पुग्ने हो होइन ? भन्ने स्थिति उत्पन्न गरेकोतर्फ उपभोक्ताको दिवस मनाईएको यो कार्यक्रमका आयोजक र सहभागीको ध्यान जानु पर्र्दैन ? त्यसबारे न त कार्यपत्रमा आयो, न त टिप्पणीमै ? सडकका लागि यहाँहरूबाट आजसम्म के के प्रयत्न भयो ? अब उदीपुरबासीले प्रशासन घेर्न, सडकको अफिस तोडफोडमा उत्रनु पर्ने हो ? भन्ने प्रश्न उठाउनु भयो । यसैगरी, वडानं २ का अध्यक्ष मदन रानाले कार्यपत्रमा समेटिनु पर्ने विषय छुट भएको स्मरण गराउँदै त्यसमा हालसम्म नगरपालिका सहितका कार्यालयले यो क्षेत्रमा गरेको प्रगति, त्यसको वर्तमान अवस्था र उपभोक्ताको हित तथा अधिकार संरक्षणका लागि भावि रणनीति के कस्तो हुनुपर्ने हो भन्ने उल्लेख हुनुपर्ने सुझाव दिनु भयो । उहाँले आउँदा दिनमा प्रस्तुत गरिने कार्यपत्रमा त्यस्तो त्रुटी नहोस् भन्नु भयो ।
वडानं– ७ का अध्यक्ष ऋषि बस्नेतले सडकसँगै जोडेर पेट्रोलियम पदार्थ विक्री गर्न पाइन्छ ? भन्ने प्रश्न गर्दै त्यसको विक्रीमा हुने मिलेमतो धन्दाको अन्त्य हुनुपर्नेमा जोडदार माग गर्नु भएको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज शिलवालले पोके व्यापारीलाई निरुत्साहित गर्नका लागि नगरपालिका सचेत हुनुपर्ने औंल्याउँदै राज्यले दर्तावाला पसलमा मात्र कर उठाउने र अनुगमन गर्ने हो ? भन्ने प्रश्न गर्नु भयो । उहाँले हिजोका दिनमा ८ प्रतिशतमा गरेको ऋण लगानीको ऐले १८ प्रतिशत असुल्ने गरी व्यापारीको ढाड सेक्न थालिएको हुँदा आत्महत्याका घट्ना समेत हुन थालेको उल्लेख गर्नु भयो ।
उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रामकुमार श्रेष्ठले मूल्य निर्धारणमा वैज्ञानिक नीति अवलम्बन गर्नुपर्ने बताउँदै उपभोक्ताको अधिकारको कुरा गर्दा व्यापारीहरूको मर्कामा समेत ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले समान्यमा बढी ध्यान दिने तर महत्वपूर्ण विषयलाई अन्देखा गर्ने गरेको स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ पत्रकार नवराज पहाडीले दिवस मनाउनुको अर्थ र उपलब्धी के हो ? भन्ने प्रश्न गर्नु भएको थियो । उहाँले बिल पाउने सेवाग्राहीको अधिकार भनिन्छ तर लेखनदास र वकिलले सेवाग्राहीलाई बिल दिने परिपारीको विकास कहिलेदेखि गरिने हो ? भन्ने प्रश्न गर्दै मेलमिलापमा सरकारले शुल्क ५ हजार तोकेको छ तर यहाँ २० हजारसम्म असुलेको गुनासा आएका छन् । पीडितले आफ्नो नाम सार्वजनिक गर्न डराएको हुँदा त्यो घट्ना समाचार बन्न नगरेको जानकारी दिनुभयो । उहाँले अबका दिनमा बजार अनुगमन टोलीले मिति सकिएको सामग्री बरामद नभएको, दर्ता नगरेका पसल नभेटिएको, मासुजन्य लगायतका सबै पसलको मापदण्ड पुगेको फेला प¥यो भन्ने समाचार लेख्न पाइयोस् भन्ने सुभेच्छा व्यक्त गर्नु भयो । पहाडीले भन्नुभयो, ‘उपभोक्ताका पक्षमा दिलैदेखि काम गर्न मन हो भने नियमनकारी अधिकार सम्पन्न एउटै कार्यालय भए पुग्छ, १० थरी कार्यालयको आवश्यक छैन ।’ चारतिर अधिकार छरेर उपभोक्ताको हित जस्तो विषयमा कसैले पनि अर्कोलाई पन्छाएर उम्किने प्रयत्न गर्न नहुनेमा उहाँको जोड थियो । पत्रकार पहाडीले मूल्य बृद्धिको समयावधि कति समयमा कति प्रतिशत बढाउन पाइने हो ? त्यो समेत किटान हुनुपर्नेमा जोड दिनु भएको थियो ।
पत्रकार कमला केसीले खेतपाखा बाँझा भएर उपभोक्ताको हक हरण भएको छ तर यो विषय उपभोक्ता अधिकार भित्र पर्छ कि पर्दैन ? भन्ने उल्लेख गर्नु भयो ।
पत्रकार रामजी रानाले यत्रो कार्यक्रम प्रहरी, प्रशासनको प्रतिनिधि खोइ ? भन्ने प्रश्न उठाउनु भएको थियो । अर्का पत्रकार सरोज विकले अब अनुगमन गर्दा उपभोक्तासँग विल छ कि छैन ? भनेर हेर्नु पर्ने स्थिति उत्पन्न भएको बताउनुभयो । बेसीशहर नगरपालिका– ९ का निवर्तमान वडाध्यक्ष सरद बरालले गिट्टी बालुवाका नाउँमा प्रकृतिको दोहन कार्य रोकिने र उपभोक्तालाई राहत दिने काम नगरिपालिकाबाट कहिले सुरु हुन्छ ? भन्ने प्रश्न उठाउनु भएको थियो ।
कृषि ज्ञान केन्द्रकी प्राविधिक दिना साहले विषादी र खाद्यसामग्री यौटै पसलबाट विक्री गर्ने परिपाटीको अन्त्य गर्नु पर्छ भन्ने सुझाव दिनु भयो । सो अवसरमा सडक मानव रहित बनाउने अभियान चलिरहेको छ तर चोकमा कान फुट्ने गरी गीत बजाएर माग्ने गरिएको, मनपरी ढंगबाट मूल्य बृद्धि गर्ने गरिएको, कतिपय सामग्रीमा मूल्य नहुने र भएपनि पढ्नै नसक्ने सानो गरी कुनामा राख्ने गरिएमा ठूला अक्षरमा प्रष्ट देखिने हुनुपर्ने, होटलहरूको स्तर निर्धारण हुनुपर्ने, लगायतका सुझाव प्राप्त भएको सो नगरपालिकाका उपभोक्ता अधिकृत सुशीला श्रेष्ठले बताउनु भयो ।
उक्त कार्यक्रममा १४ जना सहभागीबाट सुझाव प्राप्त भएको जानकारी दिदै कार्यक्रमका सञ्चालन आयोजक नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र घिमिरेले ती सुझावलाई दस्तावेजीकरण गरिने जानकारी दिनु भएको थियो ।
प्रकाशित मिति २०७९ चैत्र २, बिहीबार ०७:०७ गते