आज उपराष्ट्रपति चुनाव : आजै ‘साँझ ७ बजेसम्म परिणाम’ आउने

आज उपराष्ट्रपति चुनाव : आजै ‘साँझ ७ बजेसम्म परिणाम’ आउने

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ३ गते शुक्रबार ०५:२४

अन्तिम प्रतिस्पर्धा नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य र जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव बीच हुने स्थिति बनेको बताइन्छ ।

बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय

काठमाडौं– नयाँ उपराष्ट्रपति चयनका लागि आज चैत ३ गते मतदान हुँदैछ । मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । मतदान कार्य नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुनेछ ।
मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको आयोगको भनाइ छ । उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ । प्रदेशसभाका ५५० र संघीय संसद्का ३३२ मतदाता रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताउनु भयो । उहाँका अनुसार उपराष्ट्रपति पदको निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सांसदले मतदान गर्नेछन् । उहाँले भन्नुभयो, ‘मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको उपराष्ट्रपति निर्वाचनको मतपरिणाम साँझ ६–७ बजेभित्रै सार्वजनिक हुनेछ ।’
मतदाताको अन्तिम नामावलीमा नाम समावेश भइसकेपछि जनता समाजवादी पार्टी (जसपा)की सांसद सहनाज रहमानको निधन भएको थियो ।
नयाँ उपराष्ट्रपतिका लागि चार उमेदवार छन् । तर जसपाकी प्रमिलाले रामसहायलाई समर्थन गर्दै उमेदवारी निष्क्रिय भएको बताउनु भएको छ । निर्वाचनको प्रतिस्पर्धामा नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव हुनुहुन्छ ।
अन्तिम प्रतिस्पर्धा नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य र जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव बीच हुने स्थिति बनेको बताइन्छ ।

प्रकाशित मिति २०७९ चैत्र ३, शुक्रबार ०५:२४ गते
हजुरको प्रतिक्रिया