काठमाडौं– उपराष्ट्रपति पदमा आज चैत ३ गते भएको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा मतगणना सुरु भएको हो । त्यसको नतिजा आजै घोषणा हुने कार्यक्रम छ ।
संघ र प्रदेशको मत गणना कार्य छुट्टाछुटै हुँदै गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचनमा मतदान प्रक्रिया बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो । संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ ।
उपराष्ट्रपति पदका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा उत्रनु भएको छ ।
उक्त निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका हुन् ।
प्रेम सुवाल, वर्षमान पुन (बिरामी), चन्द्र भण्डारी (बिरामी), लक्ष्मी कोइरी, शाहनाज रहमान (मृत्यु), रामचन्द्र पौडेल (राष्ट्रपति) र मनोरमा शेरचन तथा राप्रपाका १४ जना सांसदले चुनावी प्रक्रियामा भाग नलिएको जानकारीमा आएको छ ।
संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ ।
यादवलाई सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेका छन् । शाक्यलाई एमालेको मात्रै समर्थन छ ।
बहुमत नपुगे सबैभन्दा बढी मत प्राप्त दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । पुनः मतदानमा कुनै उम्मेदवारले प्राप्त गरेको मत कुल मतको ५० प्रतिशतभन्दा बढी भए निर्वाचित भएको घोषणा गर्नुपर्ने ऐनमा उल्लेख छ ।
यदि कुनै उम्मदवारले पाएको मत ५० प्रतिशत नकटेको खण्डमा पुनः निर्वाचन गराउनुपर्ने हुन्छ ।
प्रकाशित मिति २०७९ चैत्र ३, शुक्रबार १६:१९ गते