काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत आज चैत ५ गते लिने हुनु भएको छ । गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त हुनु भएका प्रचण्डले गत पुस २६ गते पनि विश्वासको मत लिनु भएको थियो । आज तीन महिना नबित्दै फेरि विश्वासको मत लिदै हुनुहुन्छ ।
पुस १० गते उहाँ प्रधानमन्त्री हुनुहुँदा सरकारलाई समर्थन गरेका नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएसँगै प्रधानमन्त्रीले पुनः प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनु भएको हो ।
कांग्रेसलगायत दल प्रतिनिधि सभाको हिजो चैत ५ गतेको बैठकबाट सत्तापक्ष लहरमा बसेका थिए भने एमाले र राप्रपा प्रतिपक्षी लहरमा बसेसँगै सत्ताको स्वरुपमा परिवर्तन आउने भएको हो ।
सो प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री प्रचण्डलाई ११ दलको समर्थन रहने देखिएको छ । त्यसो भएमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउनु हुने छ । कांग्रेस, रास्वपा, एकीकृत समाजवादीले पार्टी बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको जानकारीमा आएको छ । त्यस बाहेक जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायतका दलहरूले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने तयारी छ ।
प्रधानमन्त्रीका लागि १३८ जना सांसदको साथ भए बहुमत पुग्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८, माओवादीका ३२, रास्वपाका १९, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, राष्ट्रिय जनमोर्चाको १, नेपाल समाजवादी पार्टीको १, आम जनता पार्टीको १ सांसद छन् । केही स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना बढेको बताइन्छ ।
गत फागुन १२ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने पूर्वसन्ध्यामा कांग्रेस, माओवादीसहित ८ दलीय गठबन्धन बनेको थियो । त्यो गठबन्धनमा थप केही दल थपिएका छन् । बालुवाटारमा १० दलीय गठबन्धन बैठक बसेर संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्ने र प्रधानमन्त्रीलाई विश्वासको मत दिन विषयमा एक ठाउँमा उभिने समझदारी चैत ४ गते गरिसकेका थिए ।
नेकपा एमाले प्रमुख प्रतिपक्षमा बस्न थालेको छ । सो दलका साथमा ७९ जना सांसद छन् । त्यस्तै, १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षमा बस्ने भएको छ ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा रहेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको हिजो सम्पन्न बैठकपछि संसद भवन परिसरमा पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिंदै उहाँले त्यस्तो बताउनु भएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो । भोलि १०० नै हुन्छ भन्ने आश छ ।’
संघीय संसदमा यस्तो छ अंक गणित :
गत पुस १० गते प्रधानमन्त्री बन्नु भएका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाउनु भएको थियो । त्यतिबेला नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले पनि विश्वासको मत दिएका थिए । तर, ती दुवै दल प्रतिपक्षमा बसे ।
नेपाली कांग्रेस : मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका ८९ सांसद निर्वाचित भएका थिए । तर, कांग्रेसबाट प्रधानमन्त्रीलाई ८६ मत मात्र आउने देखिन्छ । तनुहँ– १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । कांग्रेस नेता एवम् सांसद चन्द्र भण्डारी भारतमा उपचाररत हुनुहुन्छ । निर्वाचितमध्ये मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बित भएको हुँदा सो स्थान पनि रिक्त छ ।
माओवादी केन्द्र : प्रतिनिधि सभामा माओवादीका ३२ सांसद छन् । जसमध्ये सांसद वर्षमान पुनः उपचारका लागि चीनमा हुनुहुन्छ । त्यसैले माओवादीसँग ३१ मत छ ।
एकीकृत समाजवादी : एकीकृत समाजवादीका १० सांसद छन् ।
रास्वपा : सरकारलाई समर्थन दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सो दलसँग यतिबेला १९ मत छ ।
जसपा : मंसिर ४ को निर्वाचनबाट प्रतिनिधि सभामा जसपाका १२ जना सांसद निर्वाचित भएका थिए । जसमा बारा– २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएकोले सो पद रिक्त छ । त्यसैले जसपाबाट प्रधानमन्त्रीको पक्षमा १० मत पाउनु हुनेछ ।
लोसपा : प्रतिनिधि सभामा लोसपाका चार सांंसद छन् । सत्ता गठबन्धनमा रहेको दल लोसपाले हिजोको बैठकमा मत दिने निर्णय गरेको छ ।
जनमत : सत्ता गठबन्धनमा आबद्ध दलमध्ये एक हो जनमत । उसका प्रतिनिधि सभामा जनमतका ६ सांसद छन् ।
नागरिक उन्मुक्ति पार्टी : सत्ता गठबन्धनमा रहेको दल नागरिक उन्मुक्तिसँग प्रतिनिधि सभामा चार सांसद छन् ।
जनमोर्चा : सत्ता गठबन्धनमा रहेको दल जनमोर्चासँग प्रतिनिधि सभामा एक सांसद छन् । जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन समर्थन जनाइसकेको छ ।
स्वतन्त्रबाट : प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंहले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै छन् । आम जनता पार्टीको नेतृत्व गरिरहेका साहले गठबन्धनको बैठकमा मत दिने बताउनु भएको छ ।
यस प्रकार प्रधानमन्त्रीले १७३ सांसदको साथ पाउने स्थिति रहेको छ ।
विपक्षमा एमाले, राप्रपा र नेमकिपा बस्ने भएका छन् । एमालेबाट ७७ सांसदले मत खसाल्ने छन् ।
प्रधानमन्त्रीको विपक्षमा संसद्को दोस्रो ठूलो दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मत पर्ने देखिन्छ । प्रतिनिधि सभामा एमालेका ७९ सांसद छन् । जसमा झापा–२ बाट निर्वाचित देवराज घिमिरे सभामुख हुनु भएको हुँदा मतदानमा भाग लिनु हुने छैन । सो दलबाट महोत्तरी क्षेत्र नम्बर– १ मा निर्वाचित लक्ष्मी महत्तो कोइरी हत्या आरोपमा फरार हुनुहुन्छ ।
राप्रपाका प्रतिनिधि सभामा राप्रपाका १४ सांसद छन् । यसैगरी, नेमकिपाको प्रतिनिधि सभामा १ सांसद छन् । नेमकिपाले विश्वासको मत दिने पक्ष देखिैन ।
यस प्रकार प्रधानमन्त्रीको विपक्षमा ९३ सांसद हुने स्थिति छ ।
प्रकाशित मिति २०७९ चैत्र ६, सोमबार ०६:०३ गते