कानेस्वाँरामा बाघचाल प्रतियोगिता : पहिलो उपाधि नवीन बास्तोलालाई

कानेस्वाँरामा बाघचाल प्रतियोगिता : पहिलो उपाधि नवीन बास्तोलालाई

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ९ गते बिहिबार ०८:१६

विजेताहरूलाई कार्यक्रमको समापनका अवसरमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भयो

लोपोन्मुख बाघचालको संरक्षणको प्रयास अति सराहनीय

कानेस्वाँरा(लमजुङ)– लमजुङको कानेस्वाँरामा आयोजना गरिएको पहिलो बाघचाल प्रतियोगिता सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिका– १० को यहाँ स्थित दुरा सेवा समाज धुसेनी इकाईको आयोजनामा सो प्रतियोगिता भएको हो ।
प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ३ का नवीन बास्तोला पहिलो हुनुभएको छ । सो प्रतियोगितामा सोही नगरपालिका– १० का चन्द्रबहादुर भुजेल दोस्रो, सोही नगरपालिका– ३ का अप्सरा तिमिल्सिना तेस्रो तथा मध्यनेपाल नगरपालिका– १० का भुवन कुँवरले सान्त्वना स्थान हासिल गर्नु भएको आयोजकको भनाइ छ ।
जम्मा १५ जनाले भाग लिएको सो प्रतियोगिता यस क्षेत्रमा पहिलो भएको आयोजक संस्थाका संयोजक योगेन्द्र गुरुङले बताउनु भयो । उहाँका अनुसार पहिलो, दोस्रो हुनेलाई एक हजार पाँच सय, दोस्रो हुनेलाई एक हजार, तेस्रोलाई पाँच सय रसान्त्वना स्थान हासिल गर्नेलाई प्रमाणपत्र दिइएको थियो ।
विजेताहरूलाई कार्यक्रमको समापनका अवसरमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भयो । उहाँले लोप हुँदै गएको बाघचालको संरक्षणका लागि प्रतियोगिता सञ्चालन हुनु आफैमा सुखद र गौरवको विषय हो, यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्छ, नगरपालिका यस्ता रचनात्मक कार्यक्रमलाई सधैं सहयोग रहने बताउनुभयो ।
दुरा सेवा समाज धुसेनी इकाईका अध्यक्ष गणेशमान दुराको अध्यक्षतामा सो प्रतियोतिगा तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो । उहाँले आउँदा वर्षमा पनि यस प्रतियोगितालाई निरन्तरता दिने बताउनु भयो । उक्त कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठान नेपालले प्राविधिक सहयोग गरेको थियो ।
स्मरणीय छ । लमजुङमा बाघचालको प्रतियोगिताको थालनी गर्ने पहिलो संस्था ठाडोभाका लोककला प्रतिष्ठान नेपाल हो । सो प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा सञ्चालन गर्र्दै आएको प्रतियोगिताको तेस्रो शृंखला यो वर्ष सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति २०७९ चैत्र ९, बिहीबार ०८:१६ गते
हजुरको प्रतिक्रिया