ठाडोभाकाका अध्यक्ष एवम् वरिष्ठ पत्रकार पहाडी सहित ठाडोभाका गायक/गासउकाहरू सम्मानित

ठाडोभाकाका अध्यक्ष एवम् वरिष्ठ पत्रकार पहाडी सहित ठाडोभाका गायक/गासउकाहरू सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत १० गते शुक्रबार ०८:२८

ठाडोभाका लोककला प्रतिष्ठान नेपालले प्रतियोगिता सञ्चालन गर्न थाले पछि अन्य संस्थाले पनि प्रतियोगिता सञ्चालन गर्न थालेका छन् । गत वर्ष राइनास होमस्टेले प्रतियोगिता सञ्चालन गरेको थियो भने यो वर्ष दुरा सेवा समाज धुसेनी इकाईले यो प्रतियोगिता कार्यक्रम गरेको हो ।

साथमा ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, ठाडोभाका गायक/गायिका त्रय सीता दुरा, यमबहादुर दुरा र राधा भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

कानेस्वाँरा(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडी सम्मानित हुनु भएको छ । सुन्दरबजार नगरपालिका– १० को कानेश्वाँरा स्थित दुरा सेवा समाज धुसेनी इकाईले आफ्नो कर्मथलोमा आयोजना गरेको ठाडोभाका।बाघचाल प्रथम प्रतियोगिताको दुई दिवसीय कार्यक्रमको समापनका अवसरमा पत्रकार पहाडीलाई सम्मानपत्र, दोसल्ला र टीकाका साथ चैत ८ गते सम्मान गरिएको हो ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, सो वडाका अध्यक्ष दीपक ढकाल, आयोजक संस्थाका अध्यक्ष गणेशमान दुराले संयुक्त रुपमा कलाकर्मी पहाडीलाई दोसल्ला, टीका र सम्मानपत्रका साथ सम्मान गर्नु भएको हो । पहाडीले लोपोन्मुख अवस्थामा पुगेको ठाडोभाकालाई सञ्चारमाध्यममा प्रचारका साथ आफू अध्यक्ष रहेको प्रतिष्ठानमार्फत विविध कार्यक्रमको आयोजना गरी ठाडोभाका नयाँ पुस्तामा समेत हस्तान्तरण हुने वातावरण सिर्जना गर्नु भएको छ । प्रतिष्ठानका गतिविधिका कारण अब ठाडोभाका मर्दैन भन्ने सुनिश्चित गराउन सफल रहेकोमा उहाँलाई सम्मान गरिएको आयोजक संस्थाको कार्यक्रम संयोजक योगेन्द्र गुरुङले बताउनुभयो ।
पहाडीले ठाडोभाका लोककला प्रतिष्ठान नेपालको २०७२ सालमा स्थापना गरी संस्थापक अध्यक्ष हुँदै हालसम्म निरन्तर नेतृत्वदायी भूमिका(अध्यक्ष)मा रहेर अहम् भूमिका निभाउँदै आउनु भएको छ । उहाँले प्रतिष्ठानमार्फत ठाडोभाकाको प्रशिक्षण, प्रतियोगिता, विभिन्न स्थानमा प्रस्तुति लगायतका कार्यक्रम सञ्चालन गर्ने, भोलिका दिनमा गायक बन्न चाहने बालबालिकाहरुको पहिचान गरी उनीहरूलाई छात्रवृत्तीको प्रवन्ध, पुराना गायक/गायिकाको खोजी गर्दै ७० वर्षमाथिका अग्रज स्रष्टाहरुलाई सम्मान गर्ने, प्रतिष्ठानको स्थायित्वका लागि अक्षयकोषको स्थापना र त्यस कोषमा साढे १० लाख संकलन, मुनाफा रहित संस्थामा आर्थिक स्रोतको पहिचान गरी प्रवन्ध गर्ने, प्रतिष्ठानको आफ्नै युटुभ निर्माण, प्रतिष्ठानको गतिविधि झल्कने स्मारिकाको (दुई अंक) प्रकाशन गर्ने जस्ता उदाहरणीय कार्य गरिआउनु भएको छ । गरुङले भन्नुभयो, ‘प्रतिष्ठानको गतिविधिका कारण ठाडोभाकाको गाउँगाउँमा जागरण आउन थालेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा मात्र सीमित जस्तो रहेको ठाडोभाका पछिल्ला वर्षमा जिल्लाको पूर्वीक्षेत्रमा समेत विस्तार गरिएको छ ।’ जिल्लाको पूर्व क्षेत्रका राइनास नगरपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकामा समेत प्रतियोगिता, प्रशिक्षण, ठाडोभाकाको विशेष प्रस्तुति एवम् छायांकनका सातवटा ठूला कार्यक्रम भइसकेको प्रतिष्ठानले जनाएको छ ।
लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका अतिरिक्र साहित्यका क्षेत्रमा पनि सो प्रतिष्ठानले काम गरिआएको छ । उक्त प्रतिष्ठानको एक कार्यकाल तीन वर्षीय रहने विधानमा व्यवस्था छ । प्रतिष्ठानको अध्यक्षमा पहाडी तेस्रो कार्यकालका लागि समेत निर्विरोध रुपमा निर्वाचित हुँदै आउनु भएको छ ।
फरक धारको पत्रकारिता :
आफ्नो जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नु पर्छ भन्ने अवसधारणा अनुसार पत्रकारिताको थालनी गर्नु भएका पहाडीले जिल्लामै पनि आम पत्रकारिताको तुलनामा फरक धार अंगाल्नु भएको छ । त्यतिमात्र हैन उहाँले नेपालमा देखिएको आमपत्रकारिता भन्दा भिन्न धारको पत्रकारिता प्रतिनिधित्व अर्थात वास्तवमा आवाज विहीनहरूको आवाज बन्ने, सुशासनका साथमा प्रजातन्त्रको संस्थागत विकास र राष्ट्रियताको पक्षपोषण गरिआउनु भएको छ । लोकसंस्कृति, संस्कार साहित्यको प्रवर्धन उहाँको पत्रकारिताको अर्को पाटो हो । त्यस बाहेक उहाँ राजधानी दैनिक (काठमाडौ) र आदर्श समाज (पोखरा)मा समेत आवद्ध हुनुहुन्छ । उहाँले सञ्चालन गर्नु भएको अन्तरङ्ग यो वर्ष ३१ औं वर्षमा चलिरहेको छ । पहाडी पत्रकारितामा २०३७ सालदेखि आवद्ध हुनुभएको हो । त्यसपछि उहाँ निरन्तर पत्रकारितामा संलग्न रहँदै आउनु भएको छ । अलगधारकै पत्रकारिता गर्ने क्रममा पहाडीले स्वतन्त्र पत्रकार संघमार्फत दलीय संकीर्ण घेरामा जकडिदै गएको पत्रकारितालाई त्यसबाट मुक्त गर्नका लागि अभियान नै सञ्चालन गरी पूर्वराष्ट्रिय महासचिव समेत हुनुभएको व्यक्तित्व हो । उहाँले आफ्नो संयोजकत्वमा आयोजना गर्ने गर्नु भएको खुल्ला मुक्तक प्रतियोगिताको पाँचौं शृंखला सम्पन्न भइसकेको छ ।
धम्पु, सीता र राधा पनि सम्मानित :
सो अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष पहाडीका अतिरिक्त ठाडोभाकाका गायक/गायिकाहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेहरूमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष एवम् ठाडोभाका गायिका सीता दुरा, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य एवम् ठाडोभाकाका अर्की गायिका राधा भण्डारीलाई पनि सम्मान गरिएको थियो । धम्पु र सीताले सो प्रतियोगितामा निर्णायकको भूमिका निभाउनु भएको हुँदा सम्मान गरिएको र राधा सोही क्षेत्रको गायिका हुनुका साथै यस वर्ष ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजना गरेको ठाडोभाका प्रतियोगितामा पहिलो स्थान हासिल गर्न सफल हुनुभएको थियो । राधाकी आमा चिजमाया भण्डारीले उक्त प्रतियोगितामा पहिलो स्थान हासिल गर्नु भएको हो ।

यसैगरी, देउबहादुर दुराकी बुहारी चिनमाया दुरा र नाति ध्वाँसे भन्ने यमबहादुर दुरालाई पनि सम्मान गरिएको थियो । देउबहादुर दुराका सन्ततिमा ठाडोभाका गायनका क्षेत्रमा ध्वाँसे अब्बल रहदै आउनु भएको छ ।
यसैगरी, सोही क्षेत्रमा जन्मथलो रहेका लोक तथा दोहोरी गायक द्वय रमेश परियार र विवेक धिताललाई पनि उक्त अवसरमा सम्मान गरिएको आयोजक समितिका कार्यक्रम संयोजक योगेन्द्र गुरुङले जानकारी दिनु भएको छ ।
तीन बयोबृद्ध गायक सम्मानित :
सोही अवसरमा ठाडोभाकाका तीन बयोबृद्ध गायकलाई सम्मान गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले ठाडोभाकाका पुराना गायक÷गायिकाहरूको खोजी गर्दै सम्मान गर्ने नीति अनुसार दूधपोखरी गाउँपालिकाका तीन जनालाई सम्मान गरिएको हो । सम्मानित हुनुहुनेमा दूधपोखरी गाउँपालिका– ४ को नमार्खु निवासी ७४ वर्षीया सानुमाया गुरुङ, सोही स्थानका ७३ वर्षीय गुरु नरबहादुर गुरुङ र सोही वडाको घरेढुंगा निवासी ७३ वर्षकै नरबहादुर गुरुङलाई सम्मान गरिएको प्रतिष्ठानका उपाध्यक्ष सीता दुराले बताउनु भयो । उहाँका अनुसार यसरी सम्मानित हुनुहुने वयोबृद्ध गायक/गायिकाको संख्या २८ पुगेको छ ।
स्मरणीय छ, सो प्रतियोगितामा नरबहादुर गुरुङले भाग लिनु भएर तेस्रो स्थान हासिल गर्नु भएको थियो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालले प्रतियोगिता सञ्चालन गर्न थाले पछि अन्य संस्थाले पनि प्रतियोगिता सञ्चालन गर्न थालेका छन् । गत वर्ष राइनास होमस्टेले प्रतियोगिता सञ्चालन गरेको थियो भने यो वर्ष दुरा सेवा समाज धुसेनी इकाईले यो प्रतियोगिता कार्यक्रम गरेको हो ।
उक्त प्रतियोगिता कार्यक्रमको आयोजक दुरा सेवा समाज धुसेनी इकाईका अध्यक्ष गणेशमान दुराको अध्यक्षता सो कार्यक्रम टेकबहादुर दुराले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ चैत्र १०, शुक्रबार २०:२८ गते
हजुरको प्रतिक्रिया