लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आज चैत ११ गते बेसीशहरमा कार्यालय उदघाटन सहित नगर भेलाका साथमा कमिटि गठनको तयारी पुरा भएको छ । कार्यालय उदघाटन विहान ९ बजे पार्टी कार्यालय रहेको स्थान (बेसीशहर नगरपालिका– ८ को भिमसेन स्थान नजिक न्यूइरा बोर्डिङको पछाडि)मा हुने तयारी रहेको सो पार्टीले जनाएको छ ।
राइनास नगरपालिकामा अन्तरक्रिया सहित कमिटि गठन :
रास्वपाले राइनास नगरपालिकामा अन्तरक्रिया सहित कमिटि गठन गरेको छ । सो नगरपालिकाको तीनपिप्ले स्थित जनविकास सहकारी संस्था लि.को सभाहलमा आयोजना गरिएको उक्त भेला हिजो चैत १० गते सम्पन्न भएको हो ।
राइनास भेलाको सो पार्टीका जिल्ला संयोजक धर्म केसीले उदघाटन गर्नु भएको हो । उहाँलाई जिल्ला उपसंयोजक अशोक सापकोटाले घण्टी बजाएर साथ दिनु भएको थियो । अनौपचारिक रुपमा गरिएको उक्त कार्यक्रमका सहभागीहरूले पार्टी संगठन, समसामयिक राजनीति, पार्टीको भावि कार्यदिशा तथा रणनीतिका बारेमा विविध प्रश्न गरेका थिए । सहभागीहरूका जिज्ञासाको जवाफ दिदै जिल्ला संयोजक धर्म केसीले पार्टी कमिटिका पदाधिकारीहरू तथा नेता, कार्यकर्ताहरूको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिनु भएको थियो । उहाँले नवगठित कमिटिका पदाधिकारीहरू तथा सदस्यहरूलाई शपथ खुवाउँदै आवश्यक निर्देशन दिनु भएको थियो ।
निर्वाचित कमिटिको पहिलो बैठकले वडाहरूको जिम्मेवारी लिई वडा कमिटि गठनका लागि जिल्लासँग समन्वय गरी अघि बढ्ने निर्णय समेत गरेको जानकारीमा आएको छ ।
नवगठित कमिटिको सभापतिमा पदमराज पन्थी चयन हुनुभएको छ । त्यस्तै, उपसभापतिमा एकनारायण श्रेष्ठ, सचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष– कला पन्थी चयन हुनुभएको छ । यसैगरी, कमिटिको सदस्यहरूमा जानुका अधिकारी, सुरेश चिलुवाल, नन्दबहादुर गुरुङ, मेघराज पाठक, पुवा चिलुवाल र कपिल अधिकारी चयन हुनुभएको छ ।
प्रकाशित मिति २०७९ चैत्र ११, शनिबार ०६:३३ गते