बेसीशहर– विद्यार्थीहरूका सहयोग हातहरू बालगृहमा पुगेका छन् । बेसीशहर नगरपालिका– ८ मा रहेको ल्याण्डस्टार माध्यमिक विद्यालयका विद्यार्थीहरू सोही वडामा रहेको बालगृहमा पुगेर चैत १० गते सहयोग गरेका हुन् ।
उनीहरू आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालन गरिएको बालगृहमा पुगेर एक कार्यक्रमका बीच खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेका हुन् । त्यसका लागि ल्याण्ड स्टार अंग्रेजी माध्यमिक विद्यालय कक्षा– ४ र ६ मा अध्ययनरत विद्यार्थीहरू सहभागी टिमले चालम, दाल, तेल, मसला, विस्कुट, कापिकलम, कलर गरी ८ हजार ८५ रुपैया वरावरको सामग्री सहयोग गरेको बालगृह सञ्चालक समितिका सचिव हुमा गुरुङले बताउनु भयो । उहाँका अनुसार विद्यार्थीहरूले बालगृहका बालबालिका र व्यवस्थापक दुर्गा चुडाल रिमाललाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
विद्यालयमा विद्यार्थीलाई विविध गतिविधिमा संलग्न गराउन गठित पल्लवी बाल क्लवको नेतृत्वमा उक्त सेवाको काम गरिएको हो । उक्त क्लबमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू आवद्ध रहेका छन् ।
ल्याण्ड स्टार माविको कक्षा– ४ मा ४४ जना तथा कक्षा– ६ मा ४६ जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । दुवै कक्षाका विद्यार्थीहरूले विभिन्न कार्यक्रम गरी संकलन गरेको रकम लिएर बालगृहलाई सहयोग गर्न पुगेका हुन् । बालगृहलाई विभिन्न व्यक्तिहरूले सहयोग गरेको थाहा पाएको र बालगृह व्यवस्थानमा थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले आफूहरू पनि सो केन्द्रमा सहयोग गर्न गएको विद्यार्थीहरूको भनाइ छ ।
सहयोग सामग्री हस्तान्तरण गर्ने टिममा विद्यालयका शिक्षकहरू राजकुमार धिताल, सरेन्द्र नेपाली, सुनिता आले, सुजन परियार र विद्यार्थीहरूको सहभागिता थियो ।
मुठीदानको भरमा सञ्चालन हुदै आएको बालगृहमा हाल ९ जना बालबालिका आश्रित छन् ।
स्मरणीय छ, ल्याण्ड स्टार माविका विद्यार्थीले यसअघि स्थानीय क्षेत्रमा रहेको मानव सेवा आश्रममा समेत पुगेर सहयोग गरेका थिए । यहि चैतको पहिलो सातामा उनीहरूले मानव सेवा आश्रममा २० हजार रुपैयाँ बरावरको नगद सहित खाद्यान्न सहयोग गरेका थिए ।
प्रकाशित मिति २०७९ चैत्र १२, आईतवार ०६:५८ गते