लमजुङमा फौज्दारी मुद्दामा पहिलो पटक मिलापत्र

लमजुङमा फौज्दारी मुद्दामा पहिलो पटक मिलापत्र

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत १२ गते आईतबार ०९:१०

‘मिलापत्रले दुवै पक्षलाई फाइदा भएको छ । पीडितहरूले ठहर भएको विगो रकम र आफ्ना गहना फिर्ता पाउनु भएको छ । पिडक पनि उनलाई हुन सक्ने कैद सजाय र जरिवानाबाट बचेका छन् ।’ जिल्ला अदालतका नि. श्रेस्तेदार विश्वराज कुईकेलले भन्नुभयो ।

विपक्षका वकिल विजयप्रकाश अधिकारीको पहलमा सो मुद्दा मिलापत्र भएको हो ।

बेसीशहर– लमजुङ जिल्ला अदालतको इतिहासमा पहिलो पटक फौज्दारी अर्थात ठगी मुद्दामा पहिलो पटक मिलापत्र गरिएको छ । जिल्ला न्यायाधीवक्ताको कार्यालयमाफर्त महान्यायधीवक्ता कार्यालयको सो सम्बन्धि आसयको राय प्राप्त भएपछि जिल्ला अदालतमा मिलापत्र चैत ८ गते गरिएको हो ।
चारजना जाहेर कर्ताबाट दिइएको उजुरीका आधारमा नेपाल सरकार वादी भएको उक्त मुद्दामा भारतीय नागरिक २५ वर्षीय विवेककुमार प्रतिवादी थिए । गत पुस ३ गते सो मुद्दा दायर भई प्रतिवादी विवेककुमार लमजुङ जिल्ला कारागारमा थुनामा थिए । उनी पक्षका वकिल विजयप्रकाश अधिकारीको पहलमा सो मुद्दा मिलापत्र भएको हो । उक्त मुद्दा मिलापत्र हुँदा प्रतिवादीले कैद बस्नु नपर्ने र जरिवानाको रकम तिर्न नपर्ने गरी मुक्त भएका छन् । उनी मिलापत्र भएकै दिन चैत ८ गते कारागारबाट मुक्त भई आफ्नो घरमा फर्की गएको उनी पक्षका वकिल अधिकारीले बताउनु भयो ।
भारतको विहार राज्यको वेगुसराई जिल्ला, नाथकोठी थाना– १० मा स्थायी बसोबास भएका विनोदकुमारले लमजुङका केही महिलालाई सुनका गहना टल्काई दिन्छु भन्ने बहाना गरी गहनाको तौल कम गराई फिर्ता दिएपछि उनका विरुद्धमा पीडितहरूले उजुरी गरेका थिए । उजुरी दिनेमा विमाया तामाङ, अनिता तामाङ, स्मृति लामा र गुर्दौली थापाहरू रहेको जिल्ला अदालतबाट बताइएको छ । उनीहरूसँग सुनका तौल कम गराएका गहनासमेत अदालतमा पेश गरिएको थियो । ती गहना उनीहरूलाई नै फिर्ता दिई तौल कम गरेको ठहरभएको रकमको कुल विगो रकम समेत पिडकका वकिलमार्फत पीडितको खातामा एक लाख २० हजार ४७९ रुपैयाँ पीडकबाट भराइएको नि. श्रेस्तेदार विश्वराज कुईकेलले बताउनु भयो । उहाँका अनुसार सबैभन्दा बढी विगो विमाया तामाङको ४६ हजार ७१४ रुपैयाँ थियो भने सबैभन्दा कम विगोमा स्मृति लामाको १६ हजार ९६ रहेको थियो । अन्य दुईजना अनिता तामाङको २५ हजार ७८० रुपैयाँ र गुर्दौली थापाको ३१ हजार ८८९ रुपैयाँ ठहर भएको कुईकेलले जानकारी दिनु भयो ।
सो मिलापत्रका बारेमा नि. श्रेस्तेदार कुईकेलले भन्नुभयो, ‘यो सरकारवादी मुद्दा भएता पनि व्यक्तिको सम्पत्तीलाई ध्यानमा राखेर मिलापत्र गरिएको हो, यसमा सजायतर्फ अघि बढेको भए, पीडकलाई कैद र विगो बराबरको जरिवाना हुन्थ्यो ।’ त्यो जरिजाना रकम नआउँदासम्म पीडितले आफ्नो सामग्री फिर्ता लग्न पाउन समय लाग्थ्यो कुईकेलले भन्नुभयो । उहाँका अनुसार यस्ता मुद्दामा पीडितले विगो फिर्ता पाएको उदाहरण अत्यन्त न्यून ८– १० प्रतिशत मात्र छन् ।
उहाँले भन्नुभयो, ‘मिलापत्रले दुवै पक्षलाई फाइदा भएको छ । पीडितहरूले ठहर भएको विगो रकम र आफ्ना गहना फिर्ता पाउनु भएको छ । पिडक पनि उनलाई हुन सक्ने कैद सजाय र जरिवानाबाट बचेका छन् ।’ यस्ता मुद्दामा मिलापत्र विरलै हुन्छन्, लमजुङ जिल्ला अदालतको इतिहासमा यो प्रकृतिको मुद्दा मिलापत्र भएको यो नै पहिलो हो कुईकेलले भन्नुभयो । उहाँका अनुसार यो मुद्दामा व्यक्तिको हितलाई अदालतबाट हेरिएको अवस्था हो । उक्त मिलापत्रलाई जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले सदर गरेसँगै कार्यान्वयनमा आएको हो ।
मुद्दाको प्रकृति अनुसार मिलापत्र हुने सम्भावना देखेर पहल गरेकोमा सफल भइयो, खुशी लागेको छ पीडक पक्षका अधिवक्ता विजयप्रकाश अधिकारीले बताउनु भयो । उहाँका अनुसार कानुनमा भएको व्यवस्था अनुसारका सबै प्रक्रियाहरू पुरा गरेर मिलापत्र गराइएको हो । उहाँले भन्नुभयो, ‘दुवै पक्ष खुशी छन् ।’
यस्तो प्रकृतिको मुद्दा मिलापत्र भएको यो पहिलो भएको वरिष्ठ अधिवक्ता यज्ञप्रसाद पौडेलले बताउनु भयो ।

प्रकाशित मिति २०७९ चैत्र १२, आईतवार २१:१० गते
हजुरको प्रतिक्रिया