राहुल गान्धीले आफ्नो ट्वीटर बायोमा लेखेका छन् : ‘अयोग्य सांसद’

राहुल गान्धीले आफ्नो ट्वीटर बायोमा लेखेका छन् : ‘अयोग्य सांसद’

विभिन्न एजेन्सी

@antaranganews

२०७९ चैत १२ गते आईतबार १०:१२

कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए ।

राहुलको सांसद पद खारेज भएपछि कांग्रेसले देशभर आन्दोलन गरिरहेको छ ।

नयाँदिल्ली– भारतीय राष्ट्रिय कांग्रेसमा पूर्वअध्यक्ष राहुल गान्धीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘अयोग्य सांसद’ लेखेका छन् । आफ्नो सांसद पद खारेज भएपछि राहुलले सामाजिक सञ्जालको बायोमा ‘अयोग्य सांसद’ लेखेका हुन् ।
सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा राहुललाई दुई वर्ष जेल सजायको फैसला चैत ९ गते सुनाएको थियो । उक्त फैसलाको भोलिपल्ट राहुलको सांसद पद खारेज भएको हो । दोषी ठहर भएसँगै कानुन अनुसार उनी सांसद हुन अयोग्य ठहर भएका हुन् ।
भारतीय लोकसभा सचिवालयले सूचना जारी गर्दै राहुलको लोकसभा सदस्यता खारेज गरिएको जानकारी दिएको थियो । त्यसबारेमा प्रतिक्रिया दिदै राहुलले आफूले संसद्मा अडानी समूह र मोदीको सम्बन्धबारे थप बोल्न सक्ने डरले आफ्नो सांसद पद खारेज गरिएको दावी गरेका छन् ।
उनले पत्रकार सम्मेलन गर्दै आफू संसदमा रहे पनि नरहे पनि आफ्नो लडाइँ जारी राख्ने र भारतको लोकतन्त्रको रक्षाका लागि बोल्न नछाड्ने हिजो पत्रकारहरूलाई बताएका थिए ।
के हो घट्ना ?
सन् २०१९ मा एक राजनीतिक सभामा गान्धीले ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । जसकारण उनलाई मानहानीको मुद्दामा दोषी ठहर गरिएको हो । कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए ।
नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवं गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले सो अभिव्यक्तिले आफूलगायतको मानहानी भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए । उक्त मुद्दामा गान्धीलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय तोकिएको छ ।
भारतको आवाजका लागि जुनसुकै मूल्य चुकाउन तयार छु : राहुल गान्धी
सांसद पद गएपछि राहुल गान्धीले प्रतिक्रिया दिदै भनेका छन्, ‘भारतको आवाजका लागि जुनसुकै मूल्य चुकाउन तयार छु ।’ उनले भारतको आवाजको लागि लड्दा आफू जुनसुकै अवस्थाको सामना गर्न र जुनसुकै मूल्य चुकाउनका लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।
अदालतको आदेशपछि सांसद पद गुमाएका भारतीय कांग्रेसका नेता राहुल गान्धीले आफू भारतको आवाजको लागि लडिरहेको बताएका छन् । गान्धीले सांसद पद गुमाएपछि सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘भारतको आवाज अब विश्वभर सुनिनेछ’
यसैबीच, भारतका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै सञ्चार माध्यमले भारतको आवज अब विगतको भन्दा अझ चासो दिएर अन्तर्राष्ट्रिय समुदायले सुन्ने बताएका छन् । संसद्को तल्लो सदनको कार्यालयले विपक्षी दलका नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको घोषणा गरेको सन्दर्भमा उनीहरूले भारतप्रति विश्वको चासो बढ्ने बताएका हुन् ।
राजनीतिक दलका नेता तथा सञ्चारमाध्यमले गान्धीलाई जानाजान मानहानि मुद्दामा दोषी ठहर गरिएको दावी गरेका छन् । कांग्रेस नेता शशी थरुरले गान्धीको आवाज सत्तारुढ दलले दबाउन खोजे पनि उनको आवाज अब संसारका कुना–कुनामा पुग्ने उल्लेख गरे ।
गान्धीविरुद्धको मुद्दा कानुनीभन्दा पनि राजनीतिक विषय भएको बताउँदै नेता रमेशले न्यायालयको निर्णयबाट लोकतन्त्रको घाँटी थिच्ने अभीष्टलाई सहयोग पुगेको उल्लेख गरे ।
अदालतको फैसला सुन्न नेता गान्धी सुरत अदालत पुगेका थिए । ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । मेरो भगवान् सत्य हो, अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो,’ अदालतको आदेशपछि सामाजिक सञ्जालमा महात्मा गान्धीलाई उद्धृत गर्दै राहुल गान्धीले हिन्दीमा लेखेका थिए । राहुल गान्धीको अभिव्यक्ति छ, ‘म कसैसँग डराउँदिन, रोकिन्नँ पनि ।’
नेता गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद निर्वाचित भएका थिए । यसैबीच नेता गान्धीको सांसद पद खारेज भएकामा त्यसको विरोध गर्दै महाराष्ट्रमा विरोध प्रदर्शन भएको छ । महाराष्ट्र राज्यसभामा मुखमा कालोपट्टी बाँधेर नेताहरूले मौन विरोध प्रदर्शन गरेका हुन् ।
राज्यसभा भवनको सिँढीमा शिवसेनाका नेताहरू उदय ठाक्रे, आदित्य ठाक्रे र कांग्रेसका नेता जयन्त पाटिललगायत बसेका थिए ।
राहुलको सांसद पद खारेज भएपछि कांग्रेसले देशभर आन्दोलन गरिरहेको छ ।
विभिन्न एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति २०७९ चैत्र १२, आईतवार २२:१२ गते
हजुरको प्रतिक्रिया